लुम्बिनीलाई बुद्धिस्ट ‘बर्थिङ सेन्टर’ का रूपमा विकास गरौं : प्रधानमन्त्री

हिमाल प्रेस १० जेठ २०८१ १६:४७
26
SHARES
लुम्बिनीलाई बुद्धिस्ट ‘बर्थिङ सेन्टर’ का रूपमा विकास गरौं : प्रधानमन्त्री

लुम्बिनी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनीलाई विश्वभरका बुद्धिस्टहरूको ‘बर्थिङ सेन्टर’ का रूपमा विकास गर्ने बताएका छन्। २५६८ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८१ समारोहलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वभरका बुद्धिस्टहरूको ‘बर्थिङ सेन्टर’ बनाएर त्यसबाट लुम्बिनी र सिंगो मुलुकको विकास गर्न सकिने बताएका हुन्।

उनले आफू प्रधानमन्त्री हुँदा २०६८ सालमा गठन भएको बृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिको अध्यक्षको हैसियतमा संयुक्त राष्ट्र संघका महासचिव वानकी मुनसँग भेट गरी पुरातात्विक उत्खनन संरक्षण र प्रवर्द्धनमा जुटेको स्मरण गरे।

प्रचण्डले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि कपिलबस्तु, देवदह तथा रामग्रामको पुरातात्विक उत्खनन संरक्षण, प्रवर्द्धन तथा विकास गरी स्थानीयलाई विकासको नयाँ प्रतिफलका लागि लागि परेको बताए। नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आह्वान गरिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।

उनले संसारका करोडौँ बौद्ध समुदाय एवं आममानिसलेसमेत जीवनमा एकपटक दर्शन तथा अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलका रूपमा लुम्बिनीलाई विकास गर्न लागेको बताए। वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील रहेको उनले बताए।

प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिरियो गुटेरेससँगको लुम्बिनीको सम्बोधनले विश्वमा फैलिएको द्वन्द्वसमेत अन्त्य गर्न सहयोग पुगेको बताए। ‘संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटेरेस र मैलै लुम्बिनीमा आयोजित औपचारीक समारोहलाई सम्बोधन गर्दै विश्वशान्तिका लागि अपिल गरेका थियौं, विश्वशान्तिको आह्वानले विश्वमा देखा परेको द्वन्द्व हल गर्न प्रेरिरित गरेको थियौं,’ प्रधानमन्त्रीले भने।

कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्धले परीक्षण गरेर मात्रै विश्वास गर्न भनेर दिएको शिक्षा वैज्ञानिक रहेको बताए। उनले बुद्धको मार्गदर्शन र विचार नै आजको विश्वमा आवश्यक रहेको बताउँदै बुद्ध जन्मस्थल लुम्बिनीले विश्वमा शान्ति स्थापनामा सहयोग गर्ने बताए। उनले बुद्ध शिक्षामा रहेको ध्यानविधि मानव स्वास्थ्यका लागि निकै उपयोगि भएको समेत बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले बुद्ध जन्मस्थललाई विश्वव्यापी बनाउनका लागि प्रदेश सरकार साथमा रहेको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले विश्वसम्पदा स्थल लुम्बिनी नेपालको मात्रै नभई आध्यात्मिक केन्द्र भएकाले यहाँको विकासले देशको गरिमासँग जोडिने बताए।

यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी शान्ति, सद्भाव एकताको केन्द्र रहेको बताए। उनले बुद्ध दर्शनबाटै विश्वमा शान्ति कायम हुने बताउँदै बुद्धका उपदेशलाई संसारभर फैलाउन अपिल गरे। कार्यक्रममा बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेय, भारतीय राजदूत नविन श्रीवास्तव, थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोन, श्रीलंकाका राजदूत मार्शल सुदर्शना पाथीराना, संयुक्त राष्ट्रसंघका आवसिय संयोजक हान्ना सिंगर हाम्डेले बोल्दै बुद्धको शिक्षा प्रत्येक मानिसका लागि आवश्यक रहेको बताए।

कार्यक्रममा श्रम तथा रोजगारमन्त्री डोलप्रसाद अर्याल, लुम्बिनी प्रदेशका सभामुख तुलबहादुर घर्ती, प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी प्रदेशका मन्त्री, प्रदेश सांसद, जनप्रतिनिधि, रिपोन्छे, बौद्ध धर्म गुरु, भिक्षु भिक्षुणी तथा लामाहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − four =