काठमाडाैँ- सभामुख देवराज घिमिरेको निष्पक्षतामाथि प्रश्न उठाइएको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता, पूर्वसभामुख र अधिवक्ताले सभामुख निष्पक्ष हुनुपर्ने बताएका छन्। सभामुख घिमिरेले हालै संसद्मा देखाएको भूमिकाले उनमा पार्टीको छाया परेको टिप्पणीसमेत हुन थालेको छ। कतिपयचाहिँ सभामुखको भूमिका स्व.सुवास नेम्वाङको जस्तो हुनुपर्ने बताउँछन्।
२०७१ साउन २७ गते व्यवस्थापिका संसद्मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा बोल्दै गर्दा तत्कालीन सभामुख सुवास नेम्वाङले माइक काटिदिए। थापालाई प्रस्ताव पेसका लागि दिएको समयमा बोलिनसकेपछि नेम्वाङले माइक काटेका थिए।
आफूलाई बोल्न नदिएको भन्दै थापा आक्रामक भएका थिए। ‘यो तपाईं/हामीले नै बनाएको नियम हो। १० मिनेटमा २ मिनेट थपेर १२ मिनेट दिएको छु। मान्य सदस्य। आसनग्रहण गर्न अनुरोध गर्दछु,’ नेम्वाङको भनाइ थियो। थापाले बोल्न नदिएकोमा आपत्ति मान्दै माइक काटेकोमा सभामुख नेम्वाङप्रति आक्रोश पोखे।
सभामुख नेम्वाङले मलिन स्वरमा संसद्को माइक काट्ने जिम्मेवारी आफ्नै भएको जानकारी बारम्बार दिएका थिए। सभामुख बारम्बार थापालाई ध्यानाकर्षण गराइरहेका हुन्छन्। ‘मान्य सदस्य, तपाईंको प्रस्ताव पेस गर्नुहोस्। मैले पेस गर्न समय दिएँ,’ उनी निरन्तर भन्छन्। थापासहित राप्रपाका सांसदले बोल्ने समय नदिएको बताएपछि नेम्वाङले प्रस्तावमा समर्थन गर्ने २ समर्थकलाई ५/५ मिनेट समय उपलब्ध गराएका थिए।
‘मान्य सदस्य यसरी प्रस्ताव पेस नगर्दा तपाईं आफैँ प्रस्तावविरुद्ध जानुभयो भन्ने सन्देश जान्छ यसो नगर्नु होला,’ नेम्वाङले भनेका थिए, ‘यो हामी आफैँले बनाएको नियम हो। मान्नुपर्छ। म तपाईंहरूले भनेका कुरा अस्वकीर गर्छु।’ राप्रपाका सांसद वेल घेराउमा लागेका थिए तर नेम्वाङ आफ्नै भनाइमा अडिग। ‘सभामुखले भनेपछि तपाईंको प्रस्ताव पेस भयो मान्यसदस्य। अब समर्थनका लागि अनुरोध गर्छु,’ नेम्वाङको भनाइ थियो। लामो समय नेम्वाङले अडान राखेपछि थापा रोस्टममा पुग्छन् र सभामुखसमक्ष क्षमायाचना गरेका थिए।
उनले अप्रत्यासित घटना घटेको सुनाउँदै प्रस्ताव पेस गरेर फर्किए। लामो समय सभामुखको भूमिकामा रहेका नेम्वाङ अधिकांश ‘निर्णायक’ भूमिकामा रहन्थे। उनी सुझबुझपूर्ण ढंगबाट सदन चलाउथे। उनी सदनलाई आक्रामक नबनाउन ‘मान्य सदस्य, आशनग्रहण गरौँ, आपसी समझदारीबाट अघि बढ्नुपर्छ,’ यिनै कुरा जानकारी गराइरहन्थे।
मलिन स्वर र क्षमताका कारण नेम्वाङ चारपटक सभामुख बने। संविधानसभाको गन्जागोल अवस्थामा पनि नेम्वाङले ‘कम विवादित’ रहेर सदन हाँके। नेम्वाङ सधैँ नीति र नियमको कुरा गर्थे। छलफल र समझदारीको कुरा गर्थे। उनको यही स्वाभावले पनि सभामुख पदले निरन्तर तानिरह्यो। लामो समय सभामुख भूमिका छाडेर उनी पार्टी राजनीतिमा फर्किए। तर उनलाई लामो समय पार्टी राजनीति गर्न जुरेन। गत वर्ष नै नेम्वाङको मृत्यु भयो।
नेम्वाङपछि उनको सोही कुर्सीमा व्यक्ति फेरिरहेका छन्। ओनसरी घर्ती मगर, कृष्णबहादुर महरा, अग्नि सापकोटा। तर कुनै पनि विवादरहीत बन्न सकेका छैनन्। अहिले पनि सभामुखको भूमिकामा नेम्वाङकै पार्टीका देवराज घिमिरे छन्। उनी विवादित भइरहन्छन्। सभामुख भएकै समयमा महरा गम्भीर आरोपमा विवादमा परे। उनी पक्राउ परे। पद गयो। सापकोटा पनि विवादरहीत बनेनन्। उनलाई तत्कालीन प्रतिपक्षी एमालेले निष्पक्ष व्यवहार नगरेको भन्दै लामै विरोध गर्यो।
पदारोहण गर्दा घिमिरेले आफू संसद्मा ‘रेफ्री’ बन्ने बताएका थिए। आफूले पार्टी राजनीति छाडेर तटस्थ भूमिका निर्वाह गर्ने बताएका थिए। तर पदमा बस्ने बित्तिकै यो भनाइबाट चुके। घिमिरे तटस्थ नबनेको भन्दै प्रतिपक्षी कांग्रेसले संसद्मै आवाज उठाएको छ। उनी निष्पक्ष नभएको र पूर्ववत् पार्टीको नेता जस्तो भएको आरोप लगाएको छ।
प्रमुख प्रतिपक्षी कांग्रेसले अहिले पनि यही आवाज उठाइरहेको छ। नेपाली कांग्रेसले सभामुख पार्टीको नेता बनेको बताएको छ। पछिल्ला दिनमा सत्तापक्ष र प्रतिपक्षबीच टसल छ। प्रतिपक्षी कांग्रेसले संसद् अवरोध गरिरहेको छ। तर सभामुखले अवरोधकै बीच संसद् चलाइरहेका छन्। गएका दुईदिनको संसद् बैठक हेर्दा छर्लङ्ग हुन्छ।
विपक्षी दलले बैठक अवरुद्ध गरिरहेका छन्। तर मर्यादापालक प्रयोग गरेर सभामुख बैठक चलाइरहेका छन्। यसले सभामुखको कार्यशैलीमाथि प्रश्न उठेको छ। सत्तापक्षकै सांसदले पनि सभामुखमाथि विरोध गरिरहेका छन्। घिमिरेको कार्यशैलीले पूर्वसभामुख नेम्वाङको सम्झना गरेको छ। केही दिनअघि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेम्वाङको सम्झना गर्दै घिमिरेले त्यसरी सभा चलाउनुपर्ने बताएका थिए।
घिमिरे र नेम्वाङका समानता
घिमिरे र नेम्वाङको पूर्ववत् पार्टी एउटै हो। उनीहरू दुवै एमालेबाट चुनाव जिते र सभामुख बने। योसँगै घिमिरे र नेम्वाङ दुवै पार्टी अध्यक्ष केपी शर्मा ओली निकटस्थ मानिन्छन्। नेम्वाङ पनि एमाले रहँदासम्म ओलीनिकट रहे। गएको १० औँ महाधिवेशनमा ओलीकै लिस्टमा परेर उपाध्यक्ष जिते। यता घिमिरे पनि ओली निकटस्थ हुन्। उनले ओलीलाई झापामा ‘झापा आन्दोलन’ बाटै साथ दिँदै आएका थिए। यसका अलवा नेम्वाङ र घिमिरेको सांसद यात्रा पहिले राष्ट्रियसभाबाट भएको हो। घिमिरे २०५६ सालमा राष्ट्रियसभा सदस्य थिए।
यता नेम्वाङ पनि २०४८ र २०५२ सालमा राष्ट्रियसभा सदस्य बने। नेम्वाङ बारम्बार प्रतिनिधिसभा सदस्य बने। तर घिमिरे यो मौका पाएनन्। घिमिरेले पार्टी राजनीतिलाई अघि बढाए। उनी झापाकै राजनीतिमा भुले। तर नेम्वाङले यो अवसर पाएनन्। उनी लामो समय संविधानसभा अध्यक्ष बनेकाले पार्टी राजनीति गर्न चाहेनन्।
घिमिरे र नेम्वाङका फरक
घिमिरे र नेम्वाङ दुवै एउटै पार्टीका नेता भए पनि अनेक असमानता छन्। नेम्वाङ कानुनका जानकार थिए। उनी कानुनका विषयमा धेरै नै ज्ञान भएका नेता मानिन्थे। तर घिमिरे त्यति धेरै अनुभवी छैनन्। ‘नेम्वाङमा कानुनको ज्ञाता भएकाले नै सदन निष्पक्ष रहने गथ्र्यौ,’ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठ्ठी भन्छन्,‘तर घिमिरेमा त्यस्तो देखिदैन। उनी सभा जसरी पनि चलाउने पक्षमा देखिन्छन्।’
नेम्वाङ एउटै अडान र सोधखोज नगरी सभा चलाउने गर्थे। तर घिमिरे विपक्षीलाई ‘आसनग्रहण’ गर्न भन्छन् र निरन्तर सभा चलाउँछन्। नेम्वाङ सधैँ ‘दल र दलहरूबीचमा समझदारी’ खोज्न अनुरोध गर्थे। तर उनी दलहरूबीच समझदारी नभई अघि नबढ्ने अनुरोध गर्थे। तर घिमिरे यतातर्फ खास ध्यानै दिँदैनन्। उनी संसद् प्रभावित नपार्ने भन्दै कार्यसूचीअनुसार अघि बढ्छन्।
नेम्वाङ २०५२ सालदेखि निरन्तर संसद्मा छन्। नेम्वाङ संविधानसभाका अध्यक्ष साथै संसद्को सभामुख समेत बने। यसले पनि नेम्वाङमा निखारता आएको निकट नेताहरू बताउँछन्। नेम्वाङ अन्तरिम संविधानसभामा पहिलो पटक सभामुख बनेका थिए। उनी २०६३ वैशाख ३० देखि २०६३ माघ १ सम्म सभामुख रहे।
दोस्रो कार्यकाल २०६३ माघ ३ देखि २०६५ जेठ १४ रहे। यसपछि तेस्रो कार्यकाल २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म सभामुख बने। यसपछि चौथो कार्यकाल २०७० फागुन ६ देखि २०७२ असोज २७ सम्म रहे। नेम्वाङ र घिमिरेबीच भिन्नता देखिएको कांग्रेस सांसद रामहरि खतिवडा सुनाउँछन्। ‘उहाँ पार्टीकै सदस्य भएको भान भयो।’ यता, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि सभामा आफूले सभामुख देख्न छाडेको बताउँछन्।
उनले पछिल्ला सभामा सभामुख निष्पक्ष नभएको बताउँछन्। पूर्वसभामुख नेम्वाङका सन्दर्भमा भने प्रतिपक्षी दल नेपाली कांग्रेस पनि खास नकारात्मक भन्दैनन्। सभामुखको भूमिका कहिलेकाही निष्पक्ष नदेखिने गरेको संविधानविद् टीकाराम भट्टराई बताउँछन्। ‘ठूला दल सरकारमा रहँदा सभामुख निष्पक्ष देखिन्छन्। तर ठूला दल पक्ष र विपक्षमा रहेमा सभामुख विवादमा पर्छन्।’ भट्टराई भन्छन्। अहिले ठूला दल पक्ष÷विपक्षमा विभाजित भएकाले सभामुख विवादमा तानिएका बताउँछन्।
‘सभामुख अहिले नियमावलीभन्दा बाहिर छैनन्। संवैधानिक विषयलाई ध्यान दिनुपर्ने भएकाले बल प्रयोग गरेका हुन्।’ भट्टराई व्यक्तिगत व्यवहार भने एकअर्काबीच नमिल्ने बताउँछन्। ‘हो, नेम्वाङ मलिन हुनुहुन्थ्यो होला। घिमिरे त्यो अनुसार हुनुभएन होला,’ उनी थप्छन्,‘तर, अन्य विषयमा उस्तै देखिन्छ।’ यता संविधानविद् भीमार्जुन आचार्य भने सभामुखले दलहरूबीच समझदारी बनाउनै नचाहेको दाबी गर्छन्। सभामुखले पहल गरेर मात्र सदन चलाउनुपर्नेमा बल प्रयोगमा लागेको तर्क गर्छन्।
सभामुखलाई पार्टीलाई पार्टीको दबाब हुन्छ?
पार्टीबाट चुनाव जितेर सभामुख बन्ने प्रचलन छ। सभामुख बनेसँगै पार्टीको जिम्मेवारीबाट हट्ने परम्परा छ। तर त्यो ‘कामकाजी’ जस्तो देखिन्छ। सभामुखहरू निष्पक्ष बन्न नसकेको देख्दा उनीहरूलाई पूर्ववत् पार्टीको दबाब आउने गरेको भान हुन्छ। यसअघिका सभामुखहरू अग्नि सापकोटा र ओनसारी घर्तीलाई पनि आरोप लाग्ने गरेको थियो।
‘हो, यस्तो दबाब पार्टीबाट आउन सक्छ। तर आफूले कसरी निर्णय लिने सभामुखको व्यक्तित्वमा भर पर्छ,’ वरिष्ठ अधिवक्ता त्रिपाठी भन्छन्,‘नेम्वाङजीको हाइट अर्कै थियो। उहाँ सबै कुरामा जानकार हुनुहुन्थ्यो। तर अहिलेका सभामुखमा त्यस्तो देखिदैन।’ यता, पूर्वसभामुख दमननाथ ढुंगाना दबाब आउने विषय आफैमा भर पर्ने बताउँछन्।
‘दबाब आउँथ्यो। तर मैरै अन्तस्करणको प्रयोजनका लागि संविधानअनुसार कसैको पक्षमा काम गर्नका लागि,’ ढुंगाना भन्छन्,‘म सभामुख हुँ, सोही कर्तव्य पूरा गर्न म आफैँमा दबाब हुन्थ्यो। त्यो बाहेक अन्य दबाब थिएन।’
उनी आफू अन्तस्करणका आधारमा निर्णय लिने गरेकाले दबाब आए पनि चासो नराख्ने बताउँछन्। तर अहिलेका सभामुखहरू पछिल्लो समय चुक्दै गएको कानुनविद्हरू सुनाउँछन्। ‘ढुंगाना त सत्तापक्षको सरकार र विपक्षको सांसद भन्नुहुन्थ्यो। अहिलेका सभामुखहरूमा त्यस्तो देखिदैन,’ अधिवक्ता त्रिपाठी थप्छन्,‘यही कारण संसद् मुडभेडमा देखिन्छ।’