नेपाली नाटक ‘गुलाफ’ नर्वेमा मञ्चन हुँदै

हिमाल प्रेस ९ जेठ २०८१ २०:००
134
SHARES
नेपाली नाटक ‘गुलाफ’ नर्वेमा मञ्चन हुँदै

काठमाडौं- नेपाली नाटक ‘गुलाफ’ नर्वेको राजधानी ओस्लोमा मञ्चन हुँदैछ। अंग्रेजीमा ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ नाम दिइएको नाटक ओस्लोको थिएटर मनुमा यही बिहिबारदेखि तीन दिन नियमित मञ्चन हुन लागेको हो।

राम हरि ढकालको परिकल्पना, डिजाइन र निर्देशन रहेको नाटक मञ्चनका लागि नेपाली कलाकारको टोली ओस्लो पुगेर तयारीमा व्यस्त छन्। टोलीका कलाकारहरु दिया मास्के, सरित साह, देव न्यौपाने, केदार श्रेष्ठ र उमेश तामाङ नर्वे पुगेका हुन्। निर्देशक ढकालले नेपाली टोलीलाई ओस्लोमा स्वागत गरेका थिए।

नर्वे सरकारको कला र संस्कृति सम्बन्धि संस्था ‘आर्ट एण्ड कल्चर नर्वे’को सहयोगमा तथा नोर्दिक कल्चर फण्ड र फुक नो नर्वेको साथमा नाटक ‘द रोज’को मञ्चन हुन लागेको हो। नाटकको नर्वे मञ्चनमा नर्वेलीहरु र नर्वेमा रहेका नेपालीहरु दुवैलाई लक्षित गरेर मञ्चन गरिन लागेको हो।

यस नाटक थिएटरको ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको छ जसमा संवाद छैन तर दृश्यहरुले कथा बोल्नेछ। सिद्धार्थ गौतमले आफ्ना प्रश्नहरुको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले आफ्नो विषय बनाएको छ।

त्यस चरम पीडा र बिछोडको कारणले राजकुमार सिद्धार्थकी पत्नी यशोधराभित्र सिर्जित भावनाहरु, विकारहरु र त्यसले पारेको प्रभाव र परिवर्तनहरु नै यो नाट्य प्रस्तुतिको मूल विषय हो। यसमा यशोधराको पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई शारीरिक भावभङ्गीमार्फत उजागर गर्ने कोशिस गरिएको छ।

यस नाटकको दर्शक संयोजन पनि विशेष रहेको छ। ‘द रोज’को मञ्च नाटकघरको बीचमा तयार पारिएको छ। जसमा मञ्चको चारैतिरबाट दर्शकले अवलोकन गर्न सक्नेछन्। नाटक हेर्न एक शोमा बढीमा ६४ जनाले मात्र प्रवेश पाउनेछन्।

यस नाटकको गएको पुसमा ठेट्ना आर्ट्सको प्रस्तुतिमा काठमाडौंको मण्डला नाटकघरमा विश्व प्रिमियर गर्दै १४ वटा नियमित मञ्चन भएको थियो।

प्रकाशित: ९ जेठ २०८१ २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =