रास्वपाले भन्यो : नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने पत्रकार एकै होइनन्

हिमाल प्रेस ९ जेठ २०८१ १३:१८
44
SHARES
रास्वपाले भन्यो : नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने पत्रकार एकै होइनन् रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रकरणमा भइरहेको टिकाटिप्पणीको खण्डन गरी विज्ञप्ति जारी गरेको छ। रास्वपाका महामन्त्री मुकुल ढकालले जतिसुकै शक्तिशाली व्यक्ति भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मानक स्थापीत भएको बताएका छन्।

महामन्त्री ढकालले धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले मंगलबार व्यवसायी सिरोहियालाई पक्राउ गरिएको जानकारी भएको बताएका छन्।

ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी उदीयमान बहुलवादी लोकतान्त्रिक शक्ति हो। नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति यो दल कटिबद्ध छ। नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक–अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं।’

रास्वपाले विधिको शासनको सौन्दर्य हो कानुन भन्दामाथि कोही हुँदैन भन्ने भएको उल्लेख गरेको छ। ‘विधिको शासनको अर्को सौन्दर्य हो– कानुन भन्दामाथि कोही हुँदैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो। कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो। यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ,’ विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति पार्टीको उच्च सम्मान रहेको बताएको छ। तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैर कानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा अस्वीकार्य रहेको बताएको छ।

‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्। अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन। यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ,’ रास्वपाले भनेको छ, ‘न्यायको विधि पुगोस्। सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्न पर्छ भन्ने सन्देश जनतामा जाओस्। अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जीत होस्।’

पक्राउ परेलगत्तै मंगलबार सिरोहियाले आफूलाई कान्तिपुरमा प्रकाशित समाचारको प्रतिशोध साँध्न गृहमन्त्री रवि लामिछानेले यो घटना घटाएको आरोप लगाएका थिए। लामिछाने पछिल्लो समय सहकारी ठगी प्रकरणमा जोडिएका छन्।

प्रकाशित: ९ जेठ २०८१ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =