काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्ति विववरण १७ महिनापछि सार्वजनिक गरिएको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत प्रधानमन्त्रीसहित संघीय सरकारमा सहभागी मन्त्रीहरूको विवरण मंगलबार सार्वजनिक गरेको हो।
प्रधानमन्त्री प्रचण्डले २०८० साल भदौ २० गते पेस गरेको विवरणअनुसार उनीसँग २५ लाख रुपैयाँ बैंक ब्यालेन्स छ। सिंहदरबारस्थित एभरेस्ट बैंकको कार्यालयमा रहेको उक्त रकमको स्रोत ‘प्रतिनिधिसभा सदस्यको हैसियतले’ उल्लेख गरिएको छ।
प्रचण्डकी श्रीमती सीता दाहालको नाममा चितवनको भरतपुर महानगरपालिका-१२ मा १ कट्ठा र १४ नम्बर वडामा १४ कट्ठा जमिन रहेको प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरणमा उल्लेख छ। यसैगरी प्रचण्डसँग पैत्रिक स्रोतबाट प्राप्त पाँच तोला सुन रहेको विवरण प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ।
प्रचण्डको कुनै पनि कम्पनीको लगानी छैन भने कसैसित ऋण लिएका छैनन्। यसैगरी उनले कसैलाई ऋण दिएका पनि छैनन्। प्रचण्डसँग कुनै कम्पनीको सेयर छैन। साथै उनले कुनै वित्तीय संस्थाबाट ऋण लिएका छैनन्। उनीसँग सवारीसाधन छैन भने कृषि तथा पशुधन पनि नभएको विवरण पेस गरिएको छ।