चलचित्र पत्रकार संघले मनायो रजत वर्ष, को-को भए सम्मानित?

हिमाल प्रेस ८ जेठ २०८१ १२:२९
6
SHARES
चलचित्र पत्रकार संघले मनायो रजत वर्ष, को-को भए सम्मानित?

काठमाडौँ- चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरुलाई सोमबार राजधानीमा सम्मानित तथा पुरस्कृत गरिएको छ। चलचित्र पत्रकारिता दिवस र २५ औं वार्षिकोत्सवको अवसरमा चलचित्र पत्रकार संघ नेपालले उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको प्रमुख आतिथ्यतामा संघले सांस्कृतिक कार्यक्रमसहित स्थापनाको २५ औं वार्षिक उत्सव (रजत वर्ष) पनि मनाएको छ।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले चलचित्र पत्रकारहरुलाई संघका तर्फबाट सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्। समारोहमा यो वर्षको चलचित्र पत्रकारिता रजत सम्मान २०८१ बाट नेपाल समाचारपत्र दैनिक तथा कामना मासिकका पत्रकार विदूर गिरीलाई सम्मानित गरिएको छ। उनलाई ५५ हजार ५५५ रुपैयाँसहित सो सम्मान प्रदान गरिएको हो। अढाई दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारितामा योगदान दिएको भन्दै उनलाई सम्मानित गरिएको आयोजकले जनाएको छ।

यस्तै चलचित्र पत्रकारिमा डेढ दशकभन्दा लामो योगदान दिएका दुई जना वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

जनही ५१ हजार रुपैयाँ सहित न्युज २४ टिभीका चलचित्र पत्रकार सुरज खड्का र स्वतन्त्र चलचित्र पत्रकार अशेष अधिकारीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट प्रदान गरिएको छ।

यसवर्ष राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट दुई पत्रकारलाई सम्मानित गरिएको छ कलाकर्मी डटकमका पत्रकार कृष्ण भट्टराई र न्युज २४ टिभीका चलचित्र पत्रकार राज श्रेष्ठ।

दाङमा रहेर सक्रिय रुपमा चलचित्र पत्रकारिता गर्दै आएका शिव पुन यो वर्षको राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाटपुरस्कृत भए। उपप्रधानमन्त्री महासेठले उनलाई पुरस्कारबापत २५ हजार रुपैयाँ र पुरस्कारपत्र प्रदान गरे।

त्यस्तै २५ हजार रुयैयाँ राशीसहित यो वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार मदन रिजाललाई प्रदान गरिएको छ।उनी एम एन्ड एम अनलाईनमा कार्यरत छन्।

चलचित्र पत्रकार संघ नेपाल ७ जेठ २०५६ मा स्थापना भएको हो। ७ जेठमा स्थापना भएको चलचित्र पत्रकार संघले यो दिनलाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ।

संघको २५ औं वार्षिकाेत्सवको उत्सव समारोहमा सिधाखबरका सम्पादक तथा मकवानपुरका चलचित्र पत्रकार मणिराज गौतम, ब्युटी न्युज नेपालकी चलचित्र पत्रकार जयन सुब्बा मानन्धर, नारी टिभीका रञ्जन खनाल, नेपाल लाईभका डिबी खड्कासहित रंग पत्रकार शिल्पा अधिकारी, रवीन्द्र खड्का, अमृत पुडासैनी र दीपक बिष्ट रजत वर्ष सम्मान गरेको छ।

बाल्यकालमा जानकी मन्दिरको प्राङ्गणमा श्यामश्वेत रंगको पहिलो नेपाली चलचित्र ‘आमा’ हेरेको स्मरण गर्दै उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रुघुवीर महासेठले नेपाली चलचित्र अहिले निकै सम्पन्न भईसकेको जिकिर गरे। उनले चलचित्र पत्रकारहरुलाई शुभकामना दिँदै सिनेकर्मीलाई सहयोग गर्नेछु भन्ने प्रतिवद्धता जनाए।

चलचित्र उद्योगको वस्तिार र प्रवद्र्धननमा चलचित्र पत्रकाहरुको पनि त्यत्तिकै ठुलो योगदान रहेको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बताए।

अग्रज चलचित्र पत्रकारहरुको योगदानले संघले आज रजत वर्ष उत्सब मनाउन सफल भएको भन्दै संघका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारहरुको हक हितमा आउँदा दिनमा अझ धेरै काम गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: ८ जेठ २०८१ १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =