बेइजिङमा नेपाल पर्यटन प्रवर्द्धनका लागि सेल्स मिसन कार्यक्रम [फोटोसहित]

अजय अलौकिक ८ जेठ २०८१ १२:३८
बेइजिङमा नेपाल पर्यटन प्रवर्द्धनका लागि सेल्स मिसन कार्यक्रम [फोटोसहित]

बेइजिङ- नेपाल पर्यटन बोर्डले कोभिड महामारीपछि नेपाली पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्न विभिन्न देशमा सेल्स मिसन कार्यक्रम गर्दै आएको छ।  नेपालको पर्यटनलाई लयमा फर्काउने अपेक्षासहित सोमबार बेइजिङस्थित चीनका लागि नेपाली दूतावासमा ‘नेपाल सेल्स मिसन २०२४’ कार्यक्रम आयोजना गरिएको छ।

यसपटक नेपाल एसोसिएसन अफ टुर एन्ड  ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावासको समन्वयमा नेपाल सेल्स मिसन एन्ड बीटूबी कार्यक्रमको आयोजना गरेको हो।

नाट्टा गण्डकी प्रदेशले जेठ ३ देखि नै चीनका विभिन्न सहरमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गर्दै आएको छ। एक साता लामो कार्यक्रममा आएको १६ सदस्यीय टोलीले जेठ ७ गते (मे २०) बेइजिङस्थित नेपाली दूतावासमा यस्तो कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा चीनकालागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालको पर्यटनबारे नेपाल र चीन बीच ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको औँल्याउँदै उपस्थित चिनियाँ व्यवसायीहरूलाई चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गर्न आग्रह गरे।

राजदूत श्रेष्ठले सन् २०२३ मा नेपाललाई समूहमा विदेश भ्रमण गर्न सकिने गन्तव्य सूचीमा सूचीकृत गरेकोले यस्ता कार्यक्रमबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक भित्र्याउन सकिने पनि बताए। चीन तथा नेपाल सरकारले सन् २०२५ लाई ‘भिजिट नेपाल २०२५’ मनाउने घोषणा गरे अनुसार यो प्रवर्द्धनात्मक कार्यक्रम फलदायी हुने आशा पनि व्यक्त गरे।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकारी कुन्दनकुमार मिश्रले नेपाली समाज, संस्कृति, प्रकृतिलाई जोडेर नेपाली पर्यटन क्षेत्रको परिचय तथा जानकारीसहित प्रस्तुतिरकण दिँदै उपस्थित चिनियाँ ट्राभल्स व्यवसायीहरूलाई सुसूचित गरे।

नेपाल चिनियाँ पर्यटकहरुकालागि उत्कृष्ट गन्तव्य रहेको र नेपाल आतिथ्यकालागि तयार रहेको पनि भने। यसैगरी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले नेपाल सबै सिजनकालागि उपयुक्त गन्तव्य भएको भन्दै चिनियाँलाई नेपालको पर्यटनमा स्वागत गर्दै मन्तव्य राखे।

उनले विशेषतः नेपालको पर्यटन राजधानी पोखरा सहर र गण्डकी प्रदेशको पर्यटन क्षेत्रको जानकारी दिए। आफ्नो मन्तव्यमा उनले चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि आग्रह पनि गरे।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले चिनियाँमाझ नेपालको पोखराको पर्यटनमा स्वागत गर्दै सेल्स मिसन इन चाइना कार्यक्रम ल्याएको हिमालप्रेसलाई बताए।

बेइजिङअघि चीनको क्वाङतोङ प्रान्तको क्वाङचौ (ग्वानझौ) सहरमा आयोजित क्वाङचौ इन्टरनेसनल ट्राभल फेयर २०२४ मा सहभागिता जनाएको र बेइजिङपछि सछ्वान प्रान्तको छङ्तुमा पनि प्रवर्द्धनात्मक कार्यक्रम गर्न लागेको सुनाए।

पहिलोपटक चीन भ्रमणमा चिनियाँ विकासको चमात्कार तथा चिनियाँको नेपालप्रतिको चासो देखेर निकै खुसीका साथै उत्साहित रहेको उनको भनाइ थियो।

कार्यक्रममा गण्डकी प्रदेशका सम्भावित पर्यटन तथा रमणीय दृश्यावलोकन क्षेत्रको श्रव्यदृश्य पनि प्रदर्शन गरिएको थियो। गण्डकी प्रदेशबाट आएका ट्राभल्स, टूर्स व्यवसायी तथा चीनका पर्यटन व्यवसायीहरूको सहभागिता रहेको कार्यक्रममा दुई देशका व्यवसायी बीच बीटूबी कार्यक्रम पनि भएको थियो।

कार्यक्रम संयोजक खिमबहादुर नेपालीले चिनियाँ भाषामै सम्बोधन गर्दै सो प्रवर्द्धनात्मक कार्यक्रमले चिनियाँ पर्यटकको आगमन बढ्नुका साथै पर्यटन व्यवसायीबीच पर्यटकीय साझेदारी बन्ने विश्वास व्यक्त गरे।

चीन नेपालका लागि प्रमुख पर्यटन बजारका रूपमा रहेको छ। तथ्यांकअनुसार यस वर्षको अप्रिलसम्ममा ९,७५० चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ मा नेपाल भित्रिने चिनियाँको संख्या ६० हजार ८७८ मात्र थियो।

कोरोना महामारीअघि सन् २०१९ मा १ लाख ६९ हजार ५४३ चिनियाँ पर्यटक नेपाल आएका थिए। जुन अहिलेसम्मकै रिकर्ड हो। सन् २०२० मा १९ हजार २ सय ५७ जना, सन् २०२१ मा ६ हजार १ सय ९८ जना र सन् २०२२ मा ९ हजार ५ सय ९९ जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका थिए।

नेपाल सरकारले २०७२ सालमा चिनियाँ नागरिकलाई भिसा नि:शुल्कको निर्णय गरेको थियो।

प्रकाशित: ८ जेठ २०८१ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =