उपेन्द्रलाई ‘टक्कर दिने नेता छैनन्’ जसपामा

हिमाल प्रेस ७ जेठ २०८१ १६:१७
880
SHARES
उपेन्द्रलाई ‘टक्कर दिने नेता छैनन्’ जसपामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव।

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको पार्टी महाधिवेशन नजिकिएको छ। जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन हुँदैछ। महाधिवेशनको प्रतिनिधि चयन गर्ने काम धमाधम भइरहेको छ।

जेठ १० गतेभित्र एक हजार महाधिवेशन प्रतिनिधि चयन गरिसक्नुपर्ने कार्यकारिणी समितिले निर्णय गरिसकेको छ। महाधिवेशनबाट १५१ सदस्यीय कार्यकारिणी समिति चयन हुनेछ। जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ गरी १७ पदाधिकारी हुनेछन्।

मुख्य नेतृत्वमा पुग्न नेताहरू गृहकार्यमा जुटेका छन्। जसपा नेपाल केही समयअघि मात्रै विभाजित भएको छ। आउँदो महाधिवेशनमा मुख्य नेतृत्वमा नपर्ने निश्चित भएपछि अशोक राई नेतृत्वमा नयाँ जसपा बन्यो।

अब हुने महाधिवेशनलाई एकताको महाधिवेशन भनिएको छ। लामो सयम टुटफुटका कारण जसपा नेपाल विभिन्न नाममा निर्वाचन आयोगमा दर्ता भइरह्यो। एउटा पार्टीले पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने कानुनी प्रावधान भए पनि उपेन्द्रको पार्टी भने विभाजन र एकीकरणले महाधिवेशनमा जानु परेन। यसपल्ट भने पार्टीले विभाजित हुँदाहुँदै पनि महाधिवेशन गर्दैछ।

मुख्य पदका आकांक्षी

हालका अध्यक्ष उपेन्द्र यादव नै अध्यक्षमा दोहोरिने निश्चित छ। पार्टी विभाजनपछि उनलाई टकराव दिने नेता जसपा नेपालमा छैनन्। एकताको महाधिवेशन भनिएकाले पनि प्रतिस्पर्धाभन्दा पनि सर्वसम्मतमा अध्यक्ष हुने दाउमा यादव छन्। जसपाका एक नेता भन्छन्, ‘उपेन्द्र यादवलाई टक्कर दिने कोही देखिएका छैनन्।’

यसपछिको पदमा भने नेताहरूले दाबी गर्दै आएका छन्। नेताहरूलाई पदीय विभाजन मिलाउन उपेन्द्रलाई सकस पर्ने देखिन्छ। अध्यक्षपछिको एक सह–अध्यक्ष पदमा रकम चेम्जोङ, लालबाबु राउत, राजकिशोर यादवको दाबी रहने देखिन्छ। चेम्जोङ कुनै बेलाका अशोक राईको संघीय समाजवादीबाट उपेन्द्रसँग जोडिएका हुन्। राउत मधेश प्रदेशका पूर्वमुख्यमन्त्रीसँगै उपेन्द्रका पुराना सहकर्मी हुन्।

राजकिशोर यादव कुनै बेला उपेन्द्रसँगका सहकर्मी भए पनि केही समय विभाजित बनेका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)सँग जसपाको एकता हुँदा उनी उपेन्द्रसँग आइपुगेका हुन्।

जसपा नेपाल त्यसबेला विभाजित हुँदा यादव जसपा नेपालमै रहे। राई समूह बाहिरिँदा राजकिशोरले जसपा नेपाल छाड्ने चर्चा थियो तर उनी उपेन्द्रसँगै रहे। सहअध्यक्ष पदमा उपेन्द्र जनजाति अनुहारलाई लैजान चाहेको उनी निकट स्रोत बताउँछ। ‘अशोक दाइहरू हिँडिसक्नुभयो। अब त्यताको स्पेस पनि दिनुपर्ने हुन्छ,’ पार्टीका एक नेताले भने। उपेन्द्रले चाहेमा सह–अध्यक्षमा रकम चेम्जोङ रहने सम्भावना छ।

तीन उपाध्यक्षमा सहअध्यक्षमा नसमेटिएका नेतालाई प्राथमिकता दिने उपेन्द्रको योजना छ। यहाँ लालबाबु राउत, राजकिशोर यादव, रेखा यादव, लीला सिटौला, अर्जुन थापा ९अन्तर्राष्ट्रिय सम्बन्ध विभाग०ले आकांक्षी देखिएका छन्। एकजना महिला पर्ने गरी उपाध्यक्षमा समेट्नुपर्ने हुन्छ। महासचिवमा मनीष सुमन, प्रकाश अधिकारी, लालबाबु राउतको सम्भावना छ।

अध्यक्षपछिको महत्त्वपूर्ण पद भएकाले उपेन्द्रले कसलाई समेट्छन् भन्न सक्ने अवस्था छैन। नेताहरू मनीष सुमनको सम्भावना बढी रहेको बताउँछन्। सुमन लामो समयदेखि उपेन्द्रसँगै छन्। मधेश प्रदेशसभा सदस्य समेत रहेका सुमन हालका पार्टी प्रवक्ता पनि हुन्।

अब तीन उपमहासचिवमा पूर्ण बस्नेत, निर्मला यादव, शिवलाल थापा, भगवती सुवदीलगायत आकांक्षी रहेको नेताहरू बताउँछन्।

उपमहासचिवमा माथिल्ला पदका आकांक्षी समेट्नुपर्ने हुन्छ। कोषाध्यक्षमा हालका विजय यादवकै नाम चर्चामा छ। यस्तै सात सचिवमा भने प्रादेशिक क्लस्टरका एक प्रदेशबाट एकजना पर्ने गरी समेट्ने योजना छ।

यस्तो बन्नेछ केन्द्रीय समिति

जसपा नेपालको महाधिवेशनबाट आदिवासी जनजाति, मधेशी, खस क्षेत्री र ब्राह्मण, थारू, दलित, मुस्लिम, अपांगता भएका र अल्पसंख्यक गरी सातवटा सामाजिक समूहहरूबाट केन्द्रीय समितिमा प्रतिनिधित्व रहने पार्टीले जनाएको छ। हरेक समूहबाट ३३ प्रतिशत महिला र ४० प्रतिशत युवा निर्वाचित हुनेछन्।

यसरी निर्वाचन गर्दा आदिवासी जनजाति समूहबाट ३० जना, मधेशी समूहबाट १६ जना, खस क्षेत्री र ब्राह्मण समूहबाट ३३ जना, थारुबाट ६ जना, दलितबाट १४ जना, मुस्लिमबाट चारजना अपांगता भएका र अल्पसंख्यक समूहबाट ३ जना निर्वाचित गरिने हुने जसपा नेपालले जनाएको छ। सामाजिक समूहबाट ३५ जना महिला र ४२ जना युवा निर्वाचित हुनेछन्।

जसपा नेपालले सामाजिक समूहबाट १०६ र खुला प्रतिस्पर्धाबाट ४५ गरी १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने हुने प्रावधान राखिएको छ।

प्रकाशित: ७ जेठ २०८१ १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =