युरोप जाने कामदारसँग ३० गुणा बढी रकम असुली

हिमाल प्रेस ८ जेठ २०८१ ८:३३
106
SHARES
युरोप जाने कामदारसँग ३० गुणा बढी रकम असुली

काठमाडौँ- युरोपका देश जाने कामदारसँग म्यानपावर कम्पनीले ३० गुणा बढी रकम उठाइरहेको पाइएको छ। पछिल्लो समय नेपाली कामदार रोजगारीका लागि युरोपका देशमा जाने क्रम बढेको छ। क्रोएसिया, रोमनिया, पोल्यान्ड, पोर्चुगल र सर्बियामा गरी दैनिक तीन सयभन्दा बढी नेपाली रोजगारीका लागि पुग्ने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ।

कामदारसँग तोकिएभन्दा ३० गुणा बढी रकम असुलेको उजुरी आउने गरेको विभागको उजुरी शाखाले जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप जाने कामदारको लागत खर्च यति नै रकम भनेर तोकेको छैन। वैदेशिक रोजगार ऐनमा भने युरोपका देश वैदेशिक रोजगारीमा जाने कामदारसँग म्यानपावरले एक लाखभन्दा बढी लागत खर्च उठाउन नपाउने व्यवस्था छ।

ऐनमा विकसित देशमा रोजगारीमा जाने कामदारले तलब र सेवासुविधाका आधारमा लागत खर्च तिर्नुपर्ने उल्लेख छ। युरोपमा कामदारको मासिक ७० देखि ९० हजार रुपैयाँसम्म कमाइ हुने म्यानपावर व्यवसायी बताउँछन्। व्यवसायीकै भनाइ आधार मान्ने हो भने पनि युरोप जाने कामदारसँग म्यानपावरले ८० हजार रुपैयाँ मात्र लागत खर्च लिनुपर्ने विभागका कर्मचारी बताउँछन्।

युरोप जाने कामदारसँग म्यानपावर कम्पनीले देशअनुसार ८–११ लाखसम्म रकम उठाइरहेको पाइएको उजुरीमा उल्लेख छ। युरोपका देश वैदेशिक रोजगारीमा जाने कामदारसँग म्यानपावरले लागत खर्चका नाममा मनपरी पैसा उठाइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरे स्वीकार्छन्। उनका अनुसार युरोप जाने कामदारका विषयमा स्पष्ट मापदण्ड नहुँदा म्यानपावर र व्यक्तिले ठूलो रकम ठगिरहेका छन्।

लागत खर्चका नाममा भइरहेको ठगी नियन्त्रण गर्ने प्रयास भइरहेको घिमिरेले बताए। युरोप जाने कामदारले पैसा तिरेको प्रमाण नहुँदा कानुनी कारबाही गर्ने समस्या भइरहेको उनले बताए। ‘सरकारले सबै ठगीलाई वैदेशिक रोजगारीसँग जोडेर हेर्न पनि समस्या भइरहेको छ। अर्कोतिर रोजगारीको खोजीमा रहेका कामदारमा पनि समस्या छ। कन्सल्टेन्सी, ट्राभल एजेन्सी र व्यक्तिबाट ठगिएका कतिपय पीडितसँग प्रमाण नहुँदा पनि ठगि बढेको हो’, घिमिरेले भने।

सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएको छ। यस विषयमा रोजगारीको खोजीमा रहेका युवाले वास्ता नगर्दा कामदारहरू दलालको फन्दामा पर्ने गरेको विभागका महानिर्देशक घिमिरेले बताए।

विभागका अनुसार हाल दैनिक औसतमा २१ सय नेपाली वैदेशिक रोजगारीमा गइरहेका छन्।उनीहरुबाट दैनिक सात करोडभन्दा बढी लागत खर्चका नाममा म्यानपावरले उठाउने गरेको विभागका कर्मचारी बताउँछन्।

माल्टा, रोमानिया, पोल्यान्ड, पोर्चुगल, क्यानडा र अमेरिकाको रोजगारीमा जाने प्रलोभनमा परी दैनिक ठूलो संख्यामा युवा ठगिइरहेको रोजगारविज्ञ पूर्णचन्द्र भट्टराई बताउँछन्। यसको मुख्य समस्या अहिलको राजनीति अस्थिरता भएको उनले बताए।

‘पैसा कमाउने सुन्दर भविष्य देखेर गन्तव्य देश पुगेपछि रोजगारी नपाएर अलपत्र पर्ने, खान–बस्न नपाउने र एक देशदेखि अर्को देशमा काम खोज्दै भौँतारिने समस्या छ। यस्ता समस्या सरकारलाई मतलब छैन। जसका कारण पनि ठगी बढिरहेको छ’, भट्टराईले भने, ‘म्यानपावरले खाडी देश र मलेसिया रोजगारीमा जानेहरूसँग चर्को शुल्क लिँदै आएको विषयमा विगत लामोदेखि बहस हुँदै आएको छ। पछिल्लो समयमा युरोपको रोजगारीमा जानेहरुसाग म्यानपावर कम्पनीहरूले त्योभन्दा कैयौँ गुणा चर्को शुल्क उठाइरहेका छन्। यस विषयमा सरकार मौन छ।’

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा युरोप पठाउने भन्दै एक हजारभन्दा बढीले उजुरी दिएको विभागले जानकारी दियो।

विभागका अनुसार युरोप रोजगारीको प्रलोभनमा परेर मासिक दुई अर्बभन्दा बढी बिगो दाबीसहितको उजुरी लिएर पीडित आउने गरेको छ। उजुरी र प्रमणका आधारमा आधाभन्दा बढीले बिगो दाबी गरेको रकम फिर्ता पाउँछन्।

विभागका अनुसार खाडीका देश, युरोपका देश, मलेसिया, अफ्रिकी देश अमेरिका, अस्ट्रेलिया र क्यानडाको रोजगारीमा जाने प्रलोभनमा परी धेरै युवा आर्थिक शोषणमा पर्ने गरेका छन्।
कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गरेर फरार भएको उजुरीसमेत पर्ने गरेको विभागले जनाएको छ।

रोजगारीको प्रलोभनमा पारी ठग्ने शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र अन्य संस्था तथा व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन समस्या भइरहेको विभागका महानिर्देशक घिमिरे बताउँछन्। वैदेशिक रोजगारीको प्रलोभन देखाएर भइरहेको ठगी नियन्त्रणभन्दा बाहिर भएका कारण यसलाई रोक्न सबैले सहकार्य गर्नुपर्ने उनको भनाइ छ।

जर्मनीस्थित नेपाली दूतावासलाई पोल्यान्ड, चेक रिपब्लिक, सर्बिया, हंगेरी, स्लोभाक, रोमानिया, बुल्गेरिया, युक्रेनलगायतका देशमा रहेका नेपालीको समस्या हेर्ने जिम्मा दिइएको छ।

फ्रान्सको पेरिसस्थित नेपाली दूतावासले पोर्चुगल, मोनाको र एन्डोरामा रहेको नेपालीका समस्या हेर्ने जिम्मा पाएको छ। बेलायतस्थित नेपाली दूतावासले माल्टा र आयरल्यान्डमा रहेको नेपालीका समस्या हेर्ने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =