इटहरी उपमहानगर जहाँ गाडी रोकेर असुलिन्छ ‘पार्किङ शुल्क’

विवेक विवश रेग्मी ६ जेठ २०८१ १६:५८
130
SHARES
इटहरी उपमहानगर जहाँ गाडी रोकेर असुलिन्छ ‘पार्किङ शुल्क’ इटहरीको मुख्य राजमार्गमा गुडिरहेको गाडी रोकेर शुल्क असुलिँदै । तस्बिर : विवेक विवश रेग्मी

इटहरी– इटहरी चौरस्ताको सहर हो, सधैँ व्यस्त रहन्छ। विराटनगरको रानीदेखि धरानको तीनकुनेसम्म ६ लेन सडक लगभग निर्माण भइसकेको छ। ६ लेन सडकमै पनि इटहरीको सडक साँघुरोजस्तो लाग्छ। पूर्व-पश्चिम राजमार्गमा चार लेन सडक बनाउन निर्माण सुरु भइसकेको छ।

सडक विस्तार भइरहे पनि यहाँको व्यस्तताले सडक सधैँजसो साँघुरो लाग्छ। पूर्व जानेहरू, पश्चिम जानेहरू, पहाडी क्षेत्र जानेहरू र औद्योगिक क्षेत्रतर्फ जानेहरू सबै इटहरीकै बाटो प्रयोग गर्छन्। यसको विकल्प पनि छैन। त्यसैले इटहरीलाई चौरस्ताको सहर भनिन्छ।

सहर जति व्यस्त छ, त्यति नै अव्यस्थित र नागरिक अमैत्री। यसको पछिल्लो उदाहरण हो, गुड्दागुड्दैको गाडी रोकेर पार्किङ शुल्क असुल्नु। उपमहानगरपालिकाको यस्तो कार्यले भारतबाट पूर्वी पहाडी जिल्लामा भ्रमणमा आउने पर्यटक आश्चर्यचकित मात्रै हुँदैनन्, अनावश्यक पार्किङ शुल्क तिर्नुपर्दा आजित पनि छन्। उपमहानगरपालिकाका अधिकारीहरू अन्य शीर्षकमा भन्दा पार्किङ शीर्षकमा शुल्क असुल्न सजिलो भएकाले गाडी रोकेर शुल्क लिइएको बताउँछन्।

इटहरी प्रवेशका लागि गुडिरहेका गाडीलाई बाटै छेक्न तल्लीन हुन्छन्, केही युवा। परबाट गाडी आएको देख्नासाथ उनीहरू गुडिरहेको गाडीभन्दा तीव्र गतिमा दौडिन्छन् बाटो छेक्न। मुख्य राजमार्गको बीचमै गाडी रोक्न दौडधुप गर्ने व्यक्तिहरू ठेकेदार कम्पनी नमुना कन्स्ट्रक्सनले खटाएका कर्मचारी हुन्।

यसरी गाडी छेकेर पैसा असुल्दा इटहरीको बदनाम त भएकै छ, साथै दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ। गुडिरहेको गाडीसँग पार्किङ शुल्क लिन पाइन्छ? भन्ने प्रश्न तेर्सिएको भुक्तभोगीहरू बताउँछन्।

गुडिरहेको गाडीसँग पार्किङ शुल्कका नाममा केही व्यक्तिहरू ‘गुन्डागर्दी शैली’ मा नगद असुल गरिरहे पनि स्थानीय सरकार र प्रहरी प्रशासन मुकदर्शक बनेका छन्। इटहरी उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा पार्किङ शुल्कको ठेक्का लगाएको छ। एक करोड ५२ लाखमा ठेक्का लगाएपछि ठेकेदार कम्पनीले बढी पैसा लिने उद्देश्यले बाटो छेकेर पार्किङ शुल्क उठाइरहेको छ।

दैनिक यात्रा गर्ने यात्रु सुरेश सुवेदी भन्छन्, ‘मोटरसाइकलले आफ्नो लेन समातेर हिँड्ने हो भने पनि अगाडि बाटो छेकिरहेका मानिसका कारण दुर्घटनाको जोखिम धेरै छ।’ यसरी बाटै छेकेर पैसा असुल्दा यात्रुहरूलाई समस्या हुने उनी बताउँछन्।

‘पालिकाले कर लिनु न्यायसंगत हुन सक्छ, तर बोर्ड वा ढाट राखेर व्यवस्थित रूपमा उठाउने हो कि बाटै ढाक्न आइपुग्ने?’ सुवेदी भन्छन्, ‘यसरी कर उठाएर पालिकाले सडक मर्मत गर्न खोजेको हुन सक्छ। तर पैसा असुल्ने शैली गलत छ। सच्याउनुपर्छ।’

यसरी पैसा उठाउनु भनेको पालिकाले आफ्ना कार्यकर्तालाई जागिर खुवाउन, दलका कार्यकर्तालाई संरक्षण गर्न अथवा ठेकेदार कम्पनीले आफू निकटकालाई पक्षपोषण गर्नका निम्ति मात्रै रहेको उनको भनाइ छ। त्यो पैसा तिरेबापत सडकमा यात्रा गर्नेले कुनै सुविधा नपाएको उनले बताए।

विराटनगर लाइन, पश्चिम लाइन, पूर्व लाइन र भित्री बाटाहरूमा समेत यसरी पैसा असुल गरिरहेको पाइन्छ। गुडिरहेका चारपांग्रे सवारीसाधन मात्रै होइन र ई–रिक्सा पनि पार्किङ शुल्क तिर्न बाध्य छन्।

यात्रु जयन्ती गौतम सबै गाडीले पालिकापिच्छे पैसा तिर्नुपर्ने कारण आफूले नबुझेको बताउँछिन्। ‘तीन वा चारपांग्रे सवारीसाधनसँग पैसा लिइरहँदा दुईपांग्रे सवारीसाधन लड्नसक्ने सम्भावना हुन्छ,’ उनले भनिन्, ‘यसबारे नियामक निकाय मुकदर्शक बन्नु विडम्बना हो।’

पैसा उठाउन बसेका केही मान्छेहरू हतारहतार कुद्दै सडक बीचमै गाडीको बाटो छेक्न पुग्नुले सर्वसाधारणलाई समेत यात्रा गर्न सकस भएको उनी बताउँछिन्।

पार्किङको ठेक्का पाएको कम्पनी नमुना कन्स्ट्रक्सन बराहक्षेत्र ५ का सञ्चालक जीवन राईले भने पालिकासँग पार्किङ, पूर्वाधार र सरसफाइका लागि भनेर शुल्क उठाइने सम्झौता भएकाले सोहीअनुसार पार्किङ शीर्षकमा असुल गरिएको बताए। उनका अनुसार इटहरीका २० वटै वडाको पूर्वाधार, सरसफाइ र पार्किङका लागि भनेर शुल्क उठाउने गरिन्छ।

‘हामी त एउटा माध्यम मात्रै हौँ। २० वटै वडाका लागि कर उठाइएको हो,’ उनले भने, ‘हामीले प्राइभेटबाहेक अरु गाडीहरूलाई चैँ रसिद काटेर शुल्क लिदैँ आएका छौँ।’
उनले आफूहरूले पालिकासँग सम्झौता गर्न प्राइभेट गाडीलाई समेत लिने भए पनि सार्वजनिक गाडी र सामान बोकेका गाडीलाई शुल्क लिने गरेको बताए। राईका अनुसार इटहरीको विराटनगर लाइन, धरान लाइन, पूर्व लाइन, पश्चिम लाइन, बसपार्कलगायतका क्षेत्रमा पैसा उठाइने गरेको छ।

इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले भने पार्किङका नाममा ठेक्का लगाउनु नै गलत भएको स्वीकार गरे। ‘राजस्व शाखाले ठेक्का लगाएको हो। पालिकाको क्षेत्राधिकारभित्रै नपर्ने कुरा ठेक्का लगाउनु गलत भयो,’ उनले भने, ‘बाटै छेकेर पैसा उठाइरहेको हामीले पनि देखेका छौँ, यो गलत हो।’

उनले बाटै छेकेर पैसा नउठाउनसमेत आफूहरूले सचेत गराएको बताए। आगामी आर्थिक वर्षदेखि भने यसरी पार्किङका नाममा सडकमा पैसा नउठाइने दाबी गरे। ‘धेरैतिरबाट गुनासो आएकाले आगामी वर्षदेखि ठेक्का नलगाउने कुरा भइरहेको छ’, पोखरेलले भने।

उपमहानगर राजस्व शाखा प्रमुख सन्तोष ढकालले बाटै छेकेर पैसा लिन नपाइने बताए। ‘त्यसरी पैसा उठाउन पाइदैँन, तयसैले हामीले कम्पनीलाई चिठी पनि काटेका छौँँ,’ उनले भने, ‘यसबारे धेरैतिरबाट आलोचना भइरहेको छ।’ कम्पनी सम्पर्कमा नआएपछि चिठी नै काटिएको दाबी गरे। ‘हाम्रो सम्पर्कमा नआएपछि नगर प्रहरीलाई पनि अनुगमनका लागि हामीले खटाएका छौँ,’ उनले भने।

प्रकाशित: ६ जेठ २०८१ १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =