काठमाडौँ- कन्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ। एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ।
मन्तोराको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आएका छन्।
बगरमा उत्पादित तरकारी बिक्री गरेर आउने पैसाले उनको घरखर्च चल्छ।
‘दोदाले सबै जमिन लग्यो। अहिले बगरमा खेती गर्छु। सुरुमा घरपरिवारका लागि मात्र खेती गर्थें, अहिले व्यावसायिक रूपमै लागेँ’ उनले भनिन्।
तरकारी खेतीबाट राम्रै आम्दानी हुन थालेपछि यसलाई व्यावसायीकरण गरेको मन्तोरा बताउँछिन्।
उत्पादित तरकारी उनका श्रीमानले गाउँगाउँ लगेर बेच्छन्। उनका अनुसार सिजनमा २ लाखसम्म आम्दानी हुन्छ।
दोदामा उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ। बर्सेनि कटान र डुबान समस्या झेल्ने तटीय क्षेत्रका स्थानीय गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्छन्।
डेढ दशकअघि दोदा नदीमा आएको बाढीले डाँगाजाइँका मोलसिंह रानाको तीन बिघा जमिन बगायो। उनी पनि अहिले बगरखेती गरिरहेका छन्।
‘बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ,’ उनले भने।
डाँगाजाइँकै नन्दराम राना पनि एक दशकयता दोदाको बगरमा तरकारीखेती गरिरहेका छन्। विसं २०६४ मा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारीखेती गर्दै आएको उनी बताउँछन्।
‘बर्खामा दोदाले सास्ती दिन्छ। उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ,’ उनले भने, ‘बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन । उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका हौं।’
दोदा नदीमा करिब पाँच सयभन्दा बढी परिवारले बगरखेती गरेका छन् ।
बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ। माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ। चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिएको घुम्नी रानाले बताउँछिन्।
‘वर्षौंदेखि बगरमा खेती गर्दै आएका छौँ। माघदेखि जेठसम्म बगरमा खेती गर्छौं, अरू समयमा मजदूरी,’ उनले भनिन्, ‘जंगली जनावर र चोरीबाट उत्पादन जोगाउन बगरमा बनाइएको छाप्रोमै बास बस्छौं।’