कांग्रेस-एमाले भिडाउँदै प्रचण्ड!

किरण पौडेल ६ जेठ २०८१ ६:२२
268
SHARES
कांग्रेस-एमाले भिडाउँदै प्रचण्ड! तस्बिर : प्रदीपराज वन्त।

काठमाडौँ- नेपाली राजनीतिमा अहिले सबैभन्दा उत्कर्षमा छ, सहकारी ठगी प्रकरण। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को आवाज उठाइरहेको छ। लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग कांग्रेसको  छ। सोही कारण लामिछानेलाई कांग्रेसले सदनमा बोल्न दिएको छैन। सत्तापक्ष विपक्षीको माग पूरा गर्न सहमत भएको छैन।

यही टकरावका कारण बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूबीच धकेलाधकेलसम्मको स्थिति आयो। कांग्रेसले सभामुखलाई कार्यसूचीमा पस्न नदिन भन्दै वेल घेराउ गरेको थियो। सभामुख देवराज घिमिरे कार्यसूचीमा प्रवेश गरेका थिए। कांग्रेसको मागविपरीत घिमिरेले आफ्नो धारणा राख्न गृहमन्त्रीलाई रोस्टममा बोलाए। कांग्रेस सांसदहरू गृहमन्त्रीको बाटो छेके भने सत्तारुढ नेकपा एमालेका सांसहरूले कांग्रेससँग प्रतिकार गरे। संसद्‌ होहल्ला भइरहँदा पनि कार्यसूचीमा प्रवेश गराएको भनेर घिमिरेले आलोचना सहनुपरेको छ।

यत्तिकैमा गृहमन्त्रीको बाटो छेकिरहेका कांग्रेस सांसद धनराज गुरुङ र नेकपा एमाले अध्यक्ष ओलीबीच धकेलाधकेलको स्थिति आयो। गुरुङलाई ओलीले सम्झाउँदै बोल्न दिन अनुरोध गरे तर गुरुङले प्रतिकार गरिरहे। अन्य सांसदले गुरुङ-ओली जुध्न दिएनन् भने सभामुखले तत्काल बैठक स्थगित गरे। सदनमा विषय गृहमन्त्रीका बारेमा थियो। तर टकराव कांग्रेस–एमालेबीच भयो। ओलीले पछिल्लो समय लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने बताउँदै आएका छन्। लामिछाने कहीबाट पनि दोषी ठहर नभएको निष्कर्ष ओलीको छ। तर कांग्रेस भने संसदीय छानबिन समितिको दायरामा लामिछाने आउनुपर्ने अडानमा छ।

यही कारण बिहीबार संसद्मा टकराव भयो। ओली लामिछानेमाथि अनुसन्धान गर्न दिँदैनन्। यता कांग्रेस लामिछानेमाथि अनुसन्धान गर्न माग गरिरहेको छ। यसरी सत्तापक्ष–प्रतिपक्ष लडिरहँदा सत्ता सम्हालिरहेको नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मौन छन्। उनी एमालेसँग पनि सम्पर्कमा छन्। ओली–प्रचण्ड तारान्तार छलफल गरिरहेका छन्।

प्रचण्ड विपक्षी नेपाली कांग्रेसलाई बिझाउने पक्षमा पनि छैनन्। बिहीबारको संसद्को त्यो टकरावपछि पनि माओवादी मौन छ। यद्यपि नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले औपचारिकताका लागि विपक्षीलाई दोष लगाए। प्रचण्ड पनि यो घटनाको बारेमा खुलेका छैनन्। यसरी संसद्‌भित्र र सडकमा समेत टकराव बढिरहँदा प्रधानमन्त्री मौन रहनुको अर्थ अचम्मलाग्दो छ। फेरि सत्तारुढ नेकपा एमाले प्रधानमन्त्रीभन्दा माथि उत्रिए गृहमन्त्री बचाउमा लाग्नु अर्को अनौठो विषय छ।

विपक्षीमाथि ओली-रवि भिडाउने प्रचण्ड रणनीति

प्रचण्डबारे नजिकका नेताहरू भन्ने गर्छन्– उनी सधै दुई धारबीच टकराव बढाउँछन्। चाहे त्यो पार्टीभित्र होस् वा बाहिर। जनयुद्धमा बाबुराम भट्टराई र मोहन वैद्यबीच टकराव गराउँथे। भट्टराई–वैद्य नमिल्दा आफैँ सर्वसम्मत बन्ने रणनीति अपनाउँथे। अहिले पनि पार्टीभित्र वर्षमान पुन–जनार्दन शर्माबीच टकराव छ। यो टकरावलाई पनि माओवादी नेताहरू प्रचण्डकै सहयोग भन्ने गर्छन्। ‘प्रचण्ड यस्तै मान्छे हुन्। उनी सधै २ पक्ष भिडाउने गर्छन्,’ प्रचण्डका पुराना सहयात्री सीपी गजुरेल भन्छन्, ‘पहिले पनि त्यसै गर्थे। अहिले पनि।’

सत्तामा केही साताअघिसम्म लामिछाने र कांग्रेस महामन्त्री गगन थापाबीच टकराव थियो। लामिछानेमाथि छानबिन गर्नुपर्ने टड्कारो आवाज उठाउनेमा थिए थापा। अहिले यो टकराव रास्वपा/एमाले–कांग्रेसबीच भइरहेको छ। माओवादी निकट एक नेता भन्छन्, ‘यसमा प्रधानमन्त्री किन बोल्ने। एमाले बोलिरहेकै छ। आवश्यक छैन।’

कांग्रेस नेताहरूका अनुसार प्रचण्ड संसदीय समिति बनाउन पनि लचक छन्। तर एमाले तयार छैन। यहीबाट फाइदा लिइहरेका छन् प्रचण्ड। उनी एमाले–कांग्रेस टकराव बढाउन चाहन्छन्। ‘नेपाली राजनीतिका मुख्य प्रतिस्पर्धी एमाले–कांग्रेस नै हुन्। यो कुरा प्रचण्डले बुझेका छन्,’ राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘प्रचण्ड, यसमा मिसिँदा कुर्सी जाने सम्भावना देख्छन्।’ पछिल्लो समय खुलेआम एमाले–कांग्रेस सत्ता सहकार्यको आवाज उठिरहेको छ। दुवै दलका दोस्रो स्तरका नेताले स्थायित्वका लागि सहकार्य गर्नुपर्ने दबाब दिइरहेका छन्।

कांग्रेस सांसद शेखर कोइरालाले पनि सार्वजनिक रूपमै एमालेसँग सहकार्य गर्नुपर्ने बताउँदै आएका छन्। यस्ता भनाइबाट प्रचण्ड झस्किरहेका छन्। एमाले–कांग्रेस सम्बन्ध सुधार भए सहकार्य हुन सक्ने बुझाइ उनको छ। एमालेले सहकार्य गर्न नचाहेमा फेरि कांग्रेसको समर्थनका लागि खुला रहन प्रचण्ड चाहन्छन्। उनले यसअघि नै आफूले बाचुन्चेल ‘उथलपुलथ’ भइरहने बताएका छन्। उनी जुनसुकै बेला फेरि कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न सक्छन्। यही कारण प्रचण्ड कांग्रेसप्रति लचक छन्।

रवि-ओलीबाट प्रचण्ड लाभ

लामिछानेमाथि अहिले सहकारी ठगी प्रकरणमै प्रश्न उठेको छ। यसबारे प्रचण्ड लामिछाने र विपक्षी दुवैतिर ठिक्क छन्।  प्रचण्ड भिडाइरहेका छन्। यसमा स्वार्थ छ। एमाले–कांग्रेस मिल्न नदिने। लामिछाने जोडिरहे त्यसको बचाउमा एमाले लागि रहने खतिवडाको बुझाइ छ। किनकि सहकारी प्रकरणमा लामिछाने मात्र नभई एमाले कार्यकर्ता पनि संलग्न छन्। यो कुरा बुझेका प्रचण्ड लामिछानेलाई सधैँ पदमै राख्न चाहन्छन्।

अहिले गिरिबन्धु चिया प्रकरण जोडिएको छ। सरकारी जग्गा सट्टेबाजीमा तत्कालीन ओली सरकारले नीतिगत भ्रष्टाचार गरेको सर्वोच्च अदालतले ठहर गरेको छ। यस विषयमा विपक्षी कांग्रेसले आवाज उठाउने बताएको छ। कांग्रेसको यो भनाइपछि ओली ‘संसद्‌मा कांग्रेसलाई बोल्नै नदिने’ बताउँदै आएका छन्। यो प्रकरणमाथि आवाज उठे ओली आफैँ जेलसम्मको यात्रामा पुग्नुपर्ने अर्का राजनीतिक विश्लेषक विष्णु दाहालको बुझाइ छ। ‘ओली यो चाहँदै चाहँदैनन्’, दाहाल भन्छन्। यी आवाज उठिरहे, कांग्रेस एकातिर र रास्वपा–एमाले अर्कातिर टकराव परिरहन्छ। प्रचण्डले यही कारण सत्ताबाट लाभ लिइरहन्छन्।

प्रचण्डसँग रविको दोस्रो विषयमा पनि लाभ छ। लामिछानेमाथि छानबिन गरेमा रास्वपाले सरकार छाड्न सक्ने अवस्था आउन सक्छ। जुन कुरा यसअघि पनि भएको थियो। रविमाथि नागरिकता प्रकरणमा अदालतले फैसला गरेपछि उनको पद गएको थियो। यसबेला रवि आक्रामक हुँदै सत्ताबाट बाहिरिएका थिए। यसो भएमा सरकार अल्पमतमा पर्ने सम्भावना छ। त्यसैले  प्रचण्डले सत्ता छाड्न नचाहेको दाहालले बताए।

‘लामिछानेमाथि डण्डा चलाउँदा सरकार ढल्न सक्छ’, माओवादीका एक पदाधिकारी भन्छन्, ‘त्यसो भएमा सरकार अल्पमतमा पर्छ। यही कारण कांग्रेस जोडतोड यो विषय उठाइरहेको छ।’

एमालेलाई कज्याउने अस्त्र

गिरिबन्धुलगायतका प्रकरणमा ओलीको हात रहेको धेरैको बुझाइ छ। ‘भोलि एमालेविहीन सरकार बनेमा ती तथ्यमाथि छानबिन हुन सक्छ। यही सरकार अघि बढे छानबिन हुँदैन। ओली पनि लामिछाने प्रकरण अघि बढाएर गिरिबन्धुलाई मौन बनाउँदैछन्,’ राजनीतिक विश्लेषक दाहाल भन्छन्, ‘ओली डराइरहेका छन्। प्रचण्ड पनि त्यही चाहन्छन्।’

पछिल्लो समय सत्तामा ओलीको वर्चस्व छ। उनले राजनीतिक नियुक्तिदेखि धेरै ठाउँमा प्रचण्डलाई निरीह बनाएको माओवादीका ती पदाधिकारीको दाबी छ। गिरिबन्धुमा अनुसन्धान गर्ने बताइए ओली साइजमा आउने निश्चित छ। गिरिबन्धुको आवाज उठ्नेबित्तिकै ओली आक्रामक छन्। उनी विपक्षी कांग्रेस र फैसलामा संलग्न न्यायाधीशमाथि पनि आक्रोश पोखेका छन्। ‘समीकरण भत्किए एमाले–कांग्रेस बन्न सक्छ। ओलीको दबदबा बढ्न सक्छ,’ दाहाल भन्छन्, ‘यही कारण ओली यही समीकरण बढाउन बाध्य हुन सक्छन्। यो प्रचण्डका लागि उत्तम उपाय हो।’

एमाले नेताहरू भने भ्रष्टाचारका मुद्दामा एमालेले साँठगाँठ नचाहेको बताउँदै आएका छन्। उनीहरू सरकारले गिरिबन्धुमाथि पनि छानबिन गर्नुपर्ने बताउने गरेका छन्। ‘गिरिबन्धुमा पनि कांग्रेस नेताहरू जोडिने हो। छानबिन गर्दा केही हुँदैन,’ एमाले नेता गोकुल बास्कोटा भन्छन्,‘किन आत्तिनु र! वाइडबडीमा पनि एमाले नेताको कुरा आयो। पछि कांग्रेस जोडियो। छानबिन गरे हुन्छ।’

माओवादी नेताहरू भने प्रचण्ड प्रधानमन्त्री रहेकाले मझधारमा रहेको दाबी गर्छन्। ‘समीकरण फेरिने वा साइजमा राख्ने कुरा छैन। यसमा सरकार प्रष्ट छ’, माओवादी सचिव देवेन्द्र पौडेल भन्छन्,‘विपक्षको आक्रोश बढेको हो। यसलाई हामीले साइजमा राख्छौँ।’

प्रकाशित: ६ जेठ २०८१ ६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 11 =