पृथ्वी राजमार्ग विस्तार : पूर्वी खण्डमा पाँच महिना म्याद थप

हिमाल प्रेस ५ जेठ २०८१ ११:०५
10
SHARES
पृथ्वी राजमार्ग विस्तार : पूर्वी खण्डमा पाँच महिना म्याद थप

महेन्द्रनगर- विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई काम गर्ने समय थप गरिएको हो।

कोभिड १९ को संक्रमणले मजदुर परिचालनमा समस्या भएको, रुख कटान र विद्युत् पोल सार्ने आदेश ढिलो भएको लगायतका कारणले सडक विस्तार समयमा नै सम्पन्न गर्न नसकिएको मुग्लिन सडक पूर्वीखण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले जानकारी दिए।

म्याद सकिए पनि निर्माण कम्पनीले सडक विस्तार कार्य नरोकेपछि गत वैशाखदेखि लागू हुने गरी म्याद थप गरिएको उनले बताए। थप गरिएको समयावधि २०८१ भदौ मसान्तमा सकिने छ।

‘सम्झौता सकिए पनि सडक विस्तार कार्य गरिरहेको पायौँ’, प्रमुख इन्जिनियर यादवले भने, ‘त्यसैले पाँच महिनाको समय थप गरेका हौँ।’ जामुनेदेखि आँबुखैरेनीसम्मको करिब ४२ किलोमिटरको पूर्वी खण्ड विस्तार गर्न विभिन्न स्थानमा करिब ७०० मजदुर खटाएर विस्तार कार्य तीव्र पारिएको निर्माणमा संलग्न कम्पनीले जनाएको छ।

पूर्वी खण्डमा हालसम्म ५९ प्रतिशत कार्य प्रगति भएको आयोजनाले जनाएको छ।

२०७७ माघमा सम्झौता गरेर ठेकेदार कम्पनीले २०७८ वैशाखदेखि काम थालेको थियो। सो खण्ड विस्तार गर्न निर्माण कम्पनीले मादी नदीको पुलबाहेक ६ अर्ब २१ करोड रुपैयाँमा ठेक्का पाएको हो। मादी नदीमा घ१५ मिटर लम्बाइको पुल निर्माण गर्न एक अर्ब २१ करोड रुपैयाँ लागतमा छुट्टै ठेक्का लगाइएको छ।

यो खण्डमा भत्काउनुपर्ने ५०५ घरमध्ये अधिकांश भत्काइसकिएको आयोजनाले जनाएको छ।

प्रकाशित: ५ जेठ २०८१ ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast