फिल्ममा पिताको ‘गेटअप’मा आर्यन

हिमाल प्रेस ४ जेठ २०८१ १३:१६
18
SHARES
फिल्ममा पिताको ‘गेटअप’मा आर्यन फिल्म पुजार सार्कीकाे पाेस्टर (माथि) तथा क्रमशः पिता र पिताकाे गेटअपमा आर्यन सिग्देल।

काठमाडौँ-  फिल्म ‘पुजार सार्की’ मा अभिनेता आर्यन सिग्देलले आफ्नै पिताको ‘गेटअप’मा देखिँदैछन्।

फिल्मका निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्बिर देखेका थिए। फिल्मका पात्रहरू ‘सेटिङ’ गर्ने क्रममा निर्देशक राउतलाई त्यो फोटो याद आयो। अनि आर्यनसँग सोही फोटो मागेर क्यारेक्टरमा काम गर्न थाले।

‘मलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुपर्‍यो तर, लुक्स बनाउन भने मेहनत गर्नुपरेन। निर्देशकले मेरो बुवाको पुरानो फोटो सम्झिएका रहेछन्।’ आर्यन भन्छन् ‘उनले त्यो फोटो मागे पछि मैले दिएँ।’

आर्यनले पिता ३५ वर्ष हाराहारीकाे तस्बिर अनुसारकाे गेटअपमा देखिएका छन्। ‘त्यो फोटो अनुसार मेरो लुक्स ट्राई गर्ने बित्तिकै फाइनल भयो। मलाई पुजारी लुक्स बनाउन मेहनत गर्नुपरेन तर, क्यारेक्टरको गहिराइबारे सोच्दा भने अलिक गाह्रो भयो।’

आफ्नो चरित्र बाहिरिएपछि बुवासमेत निकै खुसी भएको आर्यनले बताए। ‘निकै सुहाएको छ, मेरै कपी गरिछस् भन्नुभयो,’ आर्यनले सम्झिए।

अभिनेता आर्यन आफू नास्तिक र आस्तिक दुवै नभएको जिकिर गर्छन्। उनी भगवान् बाहिर होइन् आफ्नै मनमा छन् भन्ने कुरामा बढी विश्वास गर्छन्।

ब्राह्मण समुदायको र पिता पण्डित भएता पनि आर्यनमा पूजा पाठको गुण केही थिएन। ‘म आउट अफ ट्र्याकको मान्छे हुँ। मेरो बुवा पण्डित हुनुहुन्छ। बुवा पण्डित भएता पनि म खासै टिका नलगाउने मान्छे परेँ। म मनमा भएको भगवान् देखाइरहनु पर्दैन भन्ने सोचमा विश्वास राख्छु’, आर्यन भन्छन्।

तर जेठ १० गतेदेखि प्रदर्शन हुने फिल्म ‘पुजार सार्की’ मा ब्राह्मण चरित्रमा देखिँदै छन्।

फिल्ममा उनको जोडी अभिनेत्री अञ्जना बराइलीसँग बाधिएको छ। अभिनेत्री अञ्जनाले दलित समुदायको प्रतिनिधित्व गर्ने चरित्र निभाएकी छन्। फिल्ममा आर्यन र अञ्जनाबीचको प्रेम देखाइएकाे छ।

आर्यनलाई आफ्नो चरित्र चुनौतीपूर्ण लागेको बताए। ‘अहिले पनि मान्छेमा जातीयताको विषयमा शिक्षाको कमी छ। त्यो हामीले देखिरहेकै कुरा हो। कति घटना अहिले पनि घटिरहेका छन्। कति समाचारमा आए होलान्, समाचारमा नआएका कति घटना होलान्। त्यही परिस्थितिसँग जुधेर फिल्म अगाडि बढेको छ। यसमा मेरो चरित्र निर्माण निकै चुनौतीपूर्ण थियो,’ अभिनता सिग्देलले भने।

फिल्ममा प्रवेश भएदेखि नै उनलाई ‘लभरब्वाई’ अभिनेताको ट्याग लागेको थियो। उनले चाहेर या नचाहेर सो ट्याग बोकेर दुई दशक लामो समय दर्जनौँ फिल्ममा काम गरे।

करियरको मध्य बिन्दु तिर उनले फिल्म ‘होमवर्क’ मा अलग विषय र चरित्रमा काम गरेका थिए। तर, उक्त फिल्मले उनको छवि बदल्न सकेन।

उनले ‘पुजार सार्की’बाट आफ्नो छवि बदल्ने कोसिसमा छन्। आफ्नो करियरमा केही इँटा थपिनोन उनी विश्वस्त छन्। ‘मलाई फरक चरित्रमा प्रस्तुत गर्न हिचकिचाइरहनु भएका निर्माताहरुलाई यो फिल्मले उहाँहरूको हिचकिचाहट मेटाइदिन्छ,’ उनले भने।

उनले आजभन्दा ३५-४० वर्ष अगाडिको हाम्रो समाजबारे बुझ्न पुजार सार्की हेनुपर्ने बताए। ‘फिल्मले जुन विषय उठाएको छ, त्यो सबैले हेर्न जरुरी छ। ३५-४० वर्ष अगाडि हाम्रो समाजको अवस्थिति कस्तो थियो भन्ने पनि थाहा हुन्छ। इतिहास बुझ्न पनि ‘पुजार सार्की’ हेर्नुपर्छ।’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =