
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदबीच धकेलाधकेल भएको छ। सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएसँगै दुई दलका सांसद बीच विवाद चर्केको हो।
सभामुखले समय दिएसँगै रवि लामिछाने उठेका थिए। कांग्रेसले बेल घेराउ गर्न लागेसँगै एमालेका सांसदहरू पनि उठेर कांग्रेसको क्रियाकलापको विरोध गरे। कांग्रेसका उपसभापति धनराज गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुगेर जंगिदै नारा लगाएका थिए। लगत्तै एमालेका प्रमुख सचेतक महेश बर्तौला आएर गुरुङसहितको भिडलाई धकेलेका थिए।
कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने माग राखेको छ। सरकारी पक्षले भने समग्र सहकारी समस्याको छानबिन गर्न समिति बनाउने भनेको छ।
कांग्रेसले लामिछानेलाई बोल्न समेत दिएको छैन। सत्तापक्षले भने बोलेपछि अन्य प्रक्रिया अघि बढाउने बताएको छ। विरोध कायमै भएपछि सभामुखले संसद्को कार्यसूची हटाएर बैठक स्थगित गरेका छन्।