रविलाई बोल्न दिएर छानबिन समिति बनाउने प्रस्ताव, छलफलमा जुट्यो कांग्रेस

हिमाल प्रेस ३ जेठ २०८१ १२:४५
92
SHARES
रविलाई बोल्न दिएर छानबिन समिति बनाउने प्रस्ताव, छलफलमा जुट्यो कांग्रेस

काठमाडौँ- सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने विषयमा निरन्तर संसद् अवरुद्ध गर्दै आएको कांग्रेस अब भने उनलाई बोल्न दिने पक्षमा पुगेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई बोल्न दिएर छानबिन समितिको विषयमा छलफल गर्ने प्रस्ताव कांग्रेसका नेताहरूसँग गरेपछि कांग्रेस लचिलो पनि बनेको हो।

आज बिहीबार बिहान प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री लामिछानेको छलफलपछि गृहमन्त्रीले बोलिसकेपछि मात्रै छानबिन समिति बनाउने विषयमा सत्तापक्ष लचक भएको हो।  त्यसपछि प्रधानमन्त्रीले तीन नेताबीच भएको छलफलको निर्णय कांग्रेसलाई सुनाएका थिए।

प्रधानमन्त्रीले गृहमन्त्रीलाई बोल्न दिएपछि मात्रै छानबिन समिति बनाउने प्रस्ताव गरेपछि कांग्रेसले यसबारे ठोस निर्णय गर्न छलफल बढाएको छ। कांग्रेस आन्तरिक छलफलमा जुटेपछि बिहान ११ बजे बस्ने भनिएको संसद् बैठक अपराह्न ४ बजेलाई सारिसकिएको छ। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको प्रस्तावमाथि संसदीय दलमा अनौपचारिक छलफल भइरहेको बताए।

‘प्रधानमन्त्रीको प्रस्तावमाथि सभापति पनि सकारात्मक हुनुहुन्छ। प्रधानमन्त्रीले गृहमन्त्रीलाई बोल्न दिएर समिति बनाउँ भन्नु भएको हो,’ उनले भने,’यसमा हाम्रो संसदीय दलमा साथीहरूसँग सुझाव लिँदैछौँ।’

त्यस्तै आजको बैठकमा कांग्रेसले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बिहीबार बस्न लागेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएका हुन् ।

प्रकाशित: ३ जेठ २०८१ १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 18 =