अवैध रूपमा अमेरिका छिर्न खोज्दा बाटैमा एजेन्टको मृत्यु भएपछि…

रमेश भारती ४ जेठ २०८१ ७:४८
70
SHARES
अवैध रूपमा अमेरिका छिर्न खोज्दा बाटैमा एजेन्टको मृत्यु भएपछि… अवैध रूपमा अमेरिका प्रवेशका लागि 'डारियन ग्याप’ पार गरेर अघि बढ्दै हाइटीका आप्रवासीहरू। तस्बिर : एपी/ रासस

काठमाडौँ- २०८० असोज दोस्रो साता ललितपुर एकान्तकुनाकी सजना न्यौपाने दुईजना साथीसहित नयाँदिल्ली पुगिन्। सजनाका प्रेमी र उनकै पोखराकी साथी करुणा गुरुङ अमेरिका जान भनेर नयाँदिल्ली पुगेका थिए। तीनैजना काठमाडौँस्थित किङ्स कजेलमा बीबीए अध्ययन गर्ने क्रममा भेट भएका साथी हुन्।

सजनाका प्रेमीचाहिँ काभ्रे धुलिखेलका हुन्। तीनैजनाको पढाइ कमजोर भएका कारण अवैध बाटो भएर अमेरिका जाने योजना बनाएर त्यसतर्फ लागेको काठमाडौँ फर्किएकी सजनाले बताएकी छन्। उनले भनिन्,‘विद्यार्थी भिसामा जाने आँट थिएन। त्यसैले अवैध बाटो रोजेका थियौँ। तर सफलचाहिँ हुन सकिएन। ज्यान जोखिममा राखेर हिँड्दै सास्ती मात्रै पायौँ।’

सजनाको टोलीले पोखराका महेन्द्र शाहीलाई एकजनाको १६ लाख रुपैयाँको दरले बुझाएर भारत पुगेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा भेटिएकी सजनाले जानकारी दिइन्।

उनीहरूलाई एजेन्टले भारतबाट क्यानाडा हुँदै अमेरिका लैजाने आश्वासन दिएको थियो। दिल्लीमा रहेको रोयल भिसा सेन्टरमार्फत कागजात बनाएर अमेरिका हिँडेका उनीहरूको पहिलो गन्तव्य स्पेन बनेको थियो। एजेन्टले क्यानाडाको बाटो नभएर अर्कै रुटबाट उनीहरूलाई अमेरिकातर्फ लैजाने बनाएछन्।

उनीहरूलाई दिल्लीबाट स्पेन हुँदै कोलम्बियाबाट अमेरिका प्रवेश गराउने एजेन्टको तयारी थियो। गिरोहले नेपालीलाई कोलम्बिया-पानामा-कोस्टारिका-निकारागुवा-होन्डुरस-ग्वाटेमाला-मेक्सिकोको बाटो भएर अमेरिका प्रवेश गराउँदै आएका छन्। सजनाको टोली पनि दिल्लीबाट स्पेनको बार्सिलोना हुँदै हवाईजहाजमै कोलम्बिया पुगेको थियो।

पानामाबाबट घना जंगल पार गरेको सजनाले बताइन्। विषालु सर्प र हतियारधारी समूहका कारण संसारकै डरलाग्दो यो रुटलाई ‘डारियन ग्याप’ भनिन्छ। यात्राका क्रममा दलालले थमाएको वर्षादी, पाल, जुत्ता, खानेकुरा, भाँडाकुँडालगायतका बन्दोबस्तीका सामान बोक्नुपरेको अनुभव उनले सुनाइन्। उनको टोली कोलम्बियाबाट जंगल, नदी छिचोल्दै चार महिना लगाएर मेक्सिकोको सीमामा पुगेको थियो। सीमामा अलपत्र परेपछि नेपाल फर्किएको उनले बताइन्।

पानामाको जंगल पार गरेर मेक्सिको छिर्ने बेलामा एजेन्टको मृत्यु भएको थियो। त्यसछपछि उनीहरूको यात्रा अगाडि बढ्न सकेन। ‘अवैध बाटो भएर अमेरिका हिँडेका हामी चार महिनाको जोखिमपूर्ण यात्रा गरेर पानामा जंगल पुगेका थियौँ। पानाबाट मेक्सिको प्रवेश गर्ने बेलामा हामी सातजनालाई सीमामा पार गराउने एजेन्ट सुतेकै ठाउँमा बिते। त्यसपछि हाम्रो अमेरिकाको यात्रा टुंगिँयो’, उनले भनिन्।

उनीहरूलाई पानामा जंगलसम्म पुर्यासउने एजेन्ट टर्कीका नागरिक थिए। त्यसपछि स्पेनका एजेन्टको सहयोगमा नेपाल फर्किएको उनको भनाइ छ। सजनाका अनुसार कोलम्बियाबाट जहाजको यात्रा सकिएको थियो। त्यसपछि उनीहरू केही दिन गाडीमा र कैयौँ दिन पैदल हिँडेर पानामा जंगल पार गर्न सफल भएका थिए।

कोलम्बियाको टुर्बोबाट कपुरगानासम्मको सामुद्रिक यात्रा मृत्युमार्गजस्तै रहेको सजनाले बताइन्। ‘त्यो त हामीले जसोतसो पार गरेका थियौँ। टुर्बौबाट कपुरगानासम्मको सामुद्रिक यात्रामा समुद्रको छालले डुंगा लडाउँदा मान्छे मर्ने गरेको एजेन्टले सुनाए’, उनले भनिन्। उनका अनुसार सुरक्षाकर्मीले देख्ने डरले छिटोछिटो डुंगा चढ्नुपर्ने रहेछ। ‘थोरै पनि ढिला भयो वा चिप्लियो भने सीधै समुद्रमा खस्ने डर हुँदो रहेछ’, उनले भनिन्।

तीनैजना एकअर्काको हात समाएर डुंगाको यात्रा पार गरेर अर्को ठाउँमा पुगेको उनले बताइन्। ‘कोलम्बियाको टुर्बोबाट कपुरगाना यात्रामा दैनिक धेरै आप्रवासी मर्दा रहेछन्। दिउँसो भएका कारण समुद्रको छाल आएन। त्यही भएर पनि बाँचेछौँ जस्तो लाग्यो’, उनले भनिन्।

कपुरगाना पार गरेपछि पानामा जंगलको यात्रा सुरु हुन्छ। पानामा जंगल यात्राका लागि निकै जोखिमपूर्ण रहेको उनले सुनाइन्। उनले भनिन्,‘हातमा टर्च लाइट बोकेर एजेन्टको पछि लाग्नुपर्दो रहेछ। सातजनाको समूहमा एकजना एजेन्ट हुँदा रहेछन्।’ जंगलको ठाउँठाउँमा अस्थिपञ्जर र शव भेटिने गरेको उनले बताइन्।

सजनाले भनिन्,‘पानामा जंगलको यात्रा गरेको दुई दिनपछि एउटा पहाडको छेउमा दुई शव भेटिए। एजेन्टले यस्ता शव जंगलमा कति छन् कति भनेर हामीलाई छिटोछिटो अघि बढ्न आग्रह गरेका थिए।’ उनले भनिन्, ‘कतिपय ठाँउमा आमा मरेको बाचा रुँदै हुन्थ्यो। मरेका मान्छेको साथमा भएको खानेकुरा अरुले लिएर हिँडेको पनि देखियो।’

पानामाको घना जंगल, जताततै भिर, हिलैहिलो, चिस्यान र नदी पार गर्नुपर्छ। दिउँसो सुरक्षाकर्मीले पक्रने डरले रातिभर पानाको जंगल हिँड्नुपरेको उनले बताइन्। ‘पानामा जंगलमा हिँड्ने बाटो हुँदैन, अनुमान गरे झार पन्छाउँदै हिँड्नुपर्छ। झुक्किएर बाटो बिरायो भने जंगलमै हराइन्छ। साँच्चै भयानक थियो, त्यो जंगल।’

२२ दिनसम्म पानाको जंगलमा यात्रा गर्दा बाटोमा लुटरा पनि भेटिएको सजनाले बताइन्। एजेन्टले लुटेराबाट जोगाउँदै पानामाको जंगल पार गराएको उनले सुनाइन्। टोलीमा कोलम्बियाको मेडिट पुग्दा नेपाल, भारत, पास्कितान र बंगलादेशका गरी ६५ जना थिए। सजनाले भनिन्,‘पानामा जंगल पार गर्ने बेलामा १७ जना भयौँ। त्यसमा पनि पाँचजना मेक्सिको छिर्ने सफल भए।’

उनलाई पानामाको जंगलबाट फर्किएर कोलम्बिया पुग्न १७ दिन लागेको थियो। त्यहाँबाट फर्किँदा पनि एजेन्टलाई तीनजनाले १५ लाख रुपैयाँ बुझाएको उनले बताइन्। कोलम्बियाबाट दिल्ली हुँदै फागुन अन्तिममा फर्किएकी उनले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा एजेन्ट शाहीविरुद्ध उजुरी दिएकी छिन्।

अवैध रूपमा अमेरिका जाने नेपालीले भारतको मुम्बई र नयाँदिल्ली रुट प्रयोग गर्दै आएको ब्युरोका ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए। उनका अनुसार नयाँदिल्ली र मुम्बईबाट यूएई, मस्को, म्याड्रिड, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिर्ने रुट हुन्।

यसरी जानेले भारतसहित १४ देश पार गर्ने फुँयालले बताए। ब्युरोका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा ३ सयभन्दा बढी नेपाली अवैध बाटो हुँदै विकसित देश छिर्न खोज्दा समस्यामा परेका छन्।

प्रकाशित: ४ जेठ २०८१ ७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =