वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

हिमाल प्रेस २ जेठ २०८१ ९:१३
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीच भौगोलिक निकटता धार्मिक, सांस्कृतिक र भाषिक सम्बन्ध आर्थिक संलग्नता र दुई देशबीचका जनता–जनताबीच सघन रूपमा झांगिएको सम्बन्ध भएका देश रहेको बताएका छन्।

परराष्ट्र मन्त्रालयले पूर्वराजदूत तथा पूर्वपरराष्ट्र सचिव प्राध्यापक यदुनाथ खनालको सम्मानमा सुरु गरेको प्रवचनको तेस्रो शृंखलाको मंगलबार साँझ समापन मन्तव्य व्यक्त गर्दै उनले नेपाल–भारत सम्बन्ध प्रकृतिद्वारा पोषित, सांस्कृतिक आत्मीयताले बाँधिएको, व्यापक, बहुआयामिक र अतुलनीय रहेको बताए।

नेपाल–भारत सम्बन्धमा केन्द्रित रहेर आयोजित तेस्रो शृंखलाका प्रमुख वक्ता दक्षिण एसियाली अध्ययन प्रतिष्ठानका पूर्वनिर्देशक प्राध्यापक सी राजामोहनको सम्भाषणपछि परराष्ट्रमन्त्रीले भने, ‘तर दुई देशबीच इतिहासले छोडेका केही मुद्दा छन् जसलाई ऐतिहासिक तथ्यका आधारमा र असल छिमेकीको भावनाअनुरुप वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न आवश्यक छ । यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन मार्गप्रशस्त गर्नेछ, यसका लागि नेपाल सरकार प्रतिबद्ध छ।’

द्विदेशीय सम्बन्ध सार्वभौम समानता, शान्तिपूर्ण सहअस्तित्व, सद्भावना, पारस्परिक विश्वास, समझदारीमा आधारित रहेको दोहोर्‍याउँदै मन्त्री श्रेष्ठले उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सम्बन्धलाई सुमधुर बनाउन र धेरै क्षेत्रमा साझेदारी बढाउन मद्दत पुगेको बताए।

उनले द्विपक्षीय सम्बन्धका विविध क्षेत्रमा सहकार्य गर्न परामर्श संयन्त्र स्थापना गरिएको चर्चा गर्दै त्यस्ता संयन्त्रबाट आपसी सहयोग र साझेदारी बढाउन सहज भएको बताए।

दुवै देशले आपसी व्यापारलाई लाभदायक बनाउने उपाय खोज्नुपर्ने, नेपालको निर्यातको आधार सीमित भएकाले व्यापार घाटा बढ्दै गएको तथा भारत र अन्य देशसँगको व्यापार विस्तार गर्न उत्पादनशील क्षेत्रमा थप लगानी आवश्यक भएको बताउँदै मन्त्री श्रेष्ठले नेपालमा लगानी सुरक्षित र लाभदायक भएको बताएका छन्।

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो लगानीबाट मनग्य रकम फिर्ता लगेका बताउँदै उनले नेपाल लगानीको आकर्षक गन्तव्य बनेको उल्लेख गरे।

प्रकाशित: २ जेठ २०८१ ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seven =