इटहरी- वस्तुगत इतिहासका कुशल अनुशीलनकर्ता तथा प्राज्ञ ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ। मंगलबार त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
भोजपुरमा जन्मिएका उनी बनारसमा गएर अध्ययन गरेका थिए। उनको पहिचान वस्तुगत इतिहासका कुशल अनुशीलनकर्ताका रूपमा रहेको बताउँछन्, प्रा.डा. भीम खतिवडा।
नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष तथा पिण्डेश्वर विद्यापीठ धरानका पूर्व प्राचार्यसमेत रहेका खतिवडाका अनुसार नेपालको निधनले नेपालको इतिहास साधनामा क्षति पुगेको छ।
‘जन्मपछि मृत्यु स्वीकार गर्नैपर्छ। तर यो उमेरसम्म पनि उहाँ अनुशीलनमै सक्रिय हुनुहुन्थ्यो। इतिहास साधनामा लागिराखेका कमै व्यक्तिमध्ये उहाँ एक हो,’ डा. खतिवडा भन्छन्, ‘सुकीर्तिले बाँचेका कम मान्छेमध्ये ज्ञानमणि नेपाल पनि पर्नुहुन्छ।’
नेपाल र नेपालीको इतिहास, संस्कृति र भाषाका साधक उनको निधनले देशले अपुरणीय क्षति व्यहोर्नुपरेको खतिवडा बताउँछन्।
पण्डितद्वय छविलाल पोखरेल, पुरुषोत्तम भट्टराई, पथिक कवि लक्ष्मी आचार्य, प्राध्यापक टीकाप्रसाद शर्मालगायतका विद्वान्सँग संगत भएको व्यक्तिका रूपमा चिनिएका नेपाल मौलिक अध्ययन गरेका व्यक्ति र कुशल साधकका रूपमा समेत चिनिन्थे।
नेपाल नयराज पन्तका शिष्य भएका कारण इतिहास संशोधन मण्डलका सदस्यसमेत थिए। ‘उहाँले धेरै अनुशीलन गर्नुभएको छ। उहाँका कुराहरूले तथ्यपरक इतिहास लेख्नुपर्छ भन्ने सिकाउँछ। पन्तकै स्कुलिङले पनि उहाँ कुशल साधक हुनुहुन्थ्यो,’ खतिवडाले भने, ‘बिग्रेको इतिहास शुद्ध लेख्नुपर्छ भन्ने उहाँहरूको तर्क हुन्थ्यो।’
धरानको पिण्डेश्वर विद्यापीठमा ज्ञानमणिसहित उनका भाइ एकमणि नेपालले उत्कृष्ट विद्यार्थीका नाममा पुरस्कार दिने उद्देश्यले आफ्ना हजुरबुबा वैयाकरण नेपाल र बुबा भानुभक्त नेपालको नाममा कोषसमेत खडा गरेको खतिवडाले स्मरण गरे।
वैयाकरण पुरस्कार नै भनेर स्थापना गरेको उनको भनाइ छ। ‘व्याकरणको ज्ञातालाई वैयाकरण पनि भनिन्छ। उहाँका हजुरबुबासमेत व्याकरणका ज्ञाता हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘पारिवारिक पृष्ठभूमि नै इतिहास, भाषा र संस्कृतिका साधक रहेको पाइन्छ। ज्ञानमणि सरलाई इमानदार अनुशीलनकर्ताका रूपमा लिन सकिन्छ।’
नेपालले ‘नेपाल सुक्किम सम्बन्ध’ पुस्तकमा पूर्वी पहाडदेखिका इतिहास उल्लेख रहेका छन्। उनको ‘नेपालको महाभारत’ पुस्तक बहुचर्चित छ। यसैगरी नेपालले लेखेका ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपाल निरुपण’, ‘नेपाल–भोटचीन सम्बन्धनका केही सांस्कृतिक पक्ष’, ‘नेपालको पूर्वमध्यकालको इतिहास’, ‘नेपालको माध्यमिक कालको इतिहास’, ‘अतीतका स्मृति र अनुभूति’, ‘विश्वेश्वरदेखि वीरेन्द्रसम्म’, ‘मेरो गुरुकुलीय शिक्षा र सहपाठी’ लगायतका पुस्तक रुचाइएका छन्।
लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो।
शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरे पनि सुधार हुन सकेको थिएन। पछिल्लो १० दिनयता नेपाललाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो। उनकी श्रीमतीको केही समयअघि मात्रै निधन भएको छ भने दुई छोरा छन्।
नेपाललाई अधिकांश मानिसहरूले नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणीका रूपमा चिन्छन्। नेपालले लेखेका पुस्तक र उनले इतिहासको अध्ययन गरेर त्यसलाई समाजमा स्थापित गर्ने काम गरेका कारण नयाँ पुस्तालाईसमेत प्रेरणा मिल्ने जानकारहरू बताउँछन्। उनले लेखेका पुस्तकहरू महत्त्वपूर्ण र स्मरणयोग्य रहेको जानकारहरूको भनाइ छ।