पोखरा- पोखरामा अर्को एक सहकारीको १ अर्ब ५४ करोड रुपैयाँ अपचलन तथा हिनामिना गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्। पोखरा ४, गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारीमा बचतकर्ताको रकम हिनामिना प्रकरणमा कास्की प्रहरीले मंगलबार ८ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सहकारीका पूर्व र वर्तमान पदाधिकारी, कर्मचारी तथा अधिवक्तासमेत रहेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले बताए। १ अर्ब ५४ करोड १५ लाख ८ हजार १ सय ५२ रुपैयाँ हिनामिना तथा अपचलन गरेको भन्ने सहकारी रजिस्ट्रार कार्यालय गण्डकीको पत्र प्राप्त गरेपछि पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, सहकारी व्यवस्थापक निरु थापा, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ हुन्। यसअघि मंगलबार नै प्रहरीले एक सूचनामार्फत सहकारीका बचतकर्तालाई उजुरीको आह्वान गरेको थियो।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले प्राइम सहकारीमा बचतकर्ताको बचत हिनामिना भएको भन्ने पत्राचार प्रहरीलाई गरेको थियो। त्यसपछि नै सूचना आह्वान भएको हो।
जसमा यही जेठ २० भित्र आफ्नो बचतको प्रमाण खुल्ने कागजातसहित उजुरी दिन आह्वान गरिएको छ।
प्रहरीले सूचनामा भनेको छ, ‘सहकारीबाट बचत तथा सेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरूले सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजसहित कानुन बमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्ताहरूमा सूचित गरिएको छ।’
सहकारीमा २ हजार ३ सय बचतकर्ता ठगिएको अनुमान गरिएको छ। डीएसपी शर्माले प्रतिवेदन अध्ययनकै क्रममा रहेको र अहिले केही भन्न नसकिने बताए।
सबै अध्ययन गरिसकेपछि सार्वजनिक गरेर सञ्चालकबिरुद्ध मुद्दा अघि बढाइने उनले जानकारी दिए। एक बचतकर्ताका अनुसार सहकारीमा विगतमा पनि पटकपटक समस्या हुँदै आइरहेका थिए। त्यसलाई ढाकछोप गर्दै सहकारीलाई अघि बढाइएको थियो। उनले भने, ‘यो काण्डले पनि धेरैको घरबास उठ्ने पक्का छ।’
यता सहकारीका सञ्चालकमध्येका एक सदस्यले बाहिर हल्ला गरिएजस्तो रकम हिनामिना नभएको दाबी गरे। सहकारीमा समस्या आउन थालेपछि अनुसन्धान सुरु भएको र त्यसमा डेढ अर्ब देखिएको भए पनि सञ्चालकले बद्मासी नगरेको उनले दाबी गरे।
उनले भने, ‘अधिकांश रकम जग्गामा लगानी गर्दा र समयमै नउठ्दा समस्या आएका हुन्, सबै हिसाब मिलान गर्दा कोही पनि डुब्दैनन्।’
शंंकर कार्की अध्यक्ष रहेको सहकारीको उपाध्यक्ष दीपा कोइराला, सचिवमा ओमप्रकाश उपाध्याय, कोषाध्यक्ष सञ्जीव तिमल्सेना छन्। सञ्चालक सदस्यमा सन्तोष श्रेष्ठ, अनन्त नागिला, सन्दीप अर्याल, रोशन मर्हजन, रामजी ध्वजु छन्। सहकारी रजिस्ट्रारको कार्यालयले सहकारीको रकम हिनामिनामा ५५ जनालाई दोषी देखाएको छ।
२०६६ सालमा पंथीगल्लीबाट सेवा सुरुआत गरेको सहकारीले केही वर्षमै गैह्रापाटनमा आफ्नै भवनमा सरेको थियो। सहकारीले लेखनाथको तालचोक नजिकै आफ्नै भवनबाट शाखा कार्यालयकोरुपमा सेवा केन्द्र सञ्चालन गर्दै आएको थियो। केही महिनादेखि नै सहकारीका सबै कारोबार बन्द भएको थियो। कास्की, तनहुँ र गोरखामा कार्यक्षेत्र रहेको सहकारीले २ वर्षअघि कास्कीको नयाँपुल, पोखरा बगरमा पनि सेवा केन्द्र खोलेको थियो।