काठमाडौँ– नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन्। पछिल्लो समयमा वैदेशिक रोजगारीबाट फर्किएका धेरै युवा कृषि पेसामा भविष्य खोज्न थालेका छन्। तिनैमध्येका एक हुन् नुवाकोट पञ्चकन्या गाउँपालिका-१ बानियाँटारका ३० वर्षीय सुधन पौडेल।
पौडेल कतार र साउदीमा पाँच वर्ष बसेपछि नेपालमै केही गर्न सकिन्छ भनेर स्वदेश फर्किए। त्यसपछि उनले काठमाडौँस्थित सामाखुसीको ग्रिनल्यान्डमा मःम, कपडा र अन्य व्यापार पनि गरे। सबै व्यवसायमा भनेजस्तो व्यापार नभएपछि उनी गाउँ फर्किएर कृषि पेसातिर लागेको बताउँछन्।
पौडेलले कतार र साउदीमा पाँच वर्ष भ्यानचालक र सेल्सम्यानको काम गरेर स्वदेश फर्किए। कतार र साउदीको मरुभूमिमा पनि हरियाली देखेका उनी नेपालमा केही गर्न सकिन्छ भन्ने हुटहुटी लिएर स्वदेश फर्किएको बताउँछन्।
वैदेशिक रोजगारीबाट फर्किएर सामाखुसीको ग्रिनल्यान्डमा चार वर्षजति व्यापार गरे पनि फाइदा भएन। त्यसपछि गाउँ फर्किएर खर्बुजा खेती सुरु गरेको पौडेलले जानकारी दिए।
नेपालमा आम्दानी र रोजगारी नभएपछि अन्य युवाजस्तै वैदेशिक रोजगारीमा साउदी र कतारमा पाँच वर्ष काम गरेर फर्किनुपरेको उनले बताए। ‘कृषि पेसामा प्रशस्त सम्भावना देखेर आफ्नै पुख्र्यौली जमिनमा व्यावसायिक रूपमा कृषि गर्न थाले। अहिले कृषिका बारेमा अध्ययन पनि गर्दैछु। आगामी दिनमा कृषि उत्पादन बढाउन अभियान चलाउने सोच छ’, उनले भने।
६ रोपनी जग्गामा खर्बुजासँगै उनले फर्सीसमेत खेती गरिरहेका छन्। यसपटक २५ हजार बेर्ना लगाएका पौडेलले एक सिजनमा २०-२२ टन खर्बुजा उत्पादन हुने जानकारी दिए।
उनले गत वर्ष एक रोपनीमा खर्बुजा खेती गरेका थिए। पाँच हजारजतिको बेर्ना लगाउँदा सबै खर्च कटाएर एक लाखभन्दा बढी आम्दानी भएको थियो।
पुर्ख्यौली जमिनमा व्यावसायिक रूपमा खेतीपाती गर्दा सन्तुष्टि मिलेको उनले बताए। ‘वैदेशिक रोजगारी र सहरको व्यापार क्षणिक हो। गाउँघरमा पनि बिस्तारै विकास हुँदै गएको छ। अब हामीजस्ता युवा फर्किएर कृषि उत्पादनमा जोड दिनुपर्छ’, उनले भने।
उनका अनुसार तीनै तहको सरकारले उत्पादित कृषिका सामग्रीलाई बजार व्यवस्थापनका लागि सहयोग गर्नुपर्छ। सरकारसँग किसानको सबैभन्दा ठूलो माग यही रहेको उनको भनाइ छ।
पछिल्लो समय सरकारले किसानलाई विस्थापित गर्न मात्र खोजेको उनको आरोप छ। सरकारले कृषि पेसामा लागेका युवालाई उत्साहित गरे वैदेशिक रोजगारीमा कार्यरत ३० प्रतिशत युवा स्वदेश फर्किएर यसै पेसामा लाग्ने उनको दाबी छ।
पौडेललाई परिवारले खर्बुजा खेती गर्न सहयोग गर्दै आएका छन्। उनले भने, ‘आमाबुबाकै सहयोगमा अहिले खर्बुजा खेती गरिरहेको छु। आगामी दिनमा उहाँहरुकै सहयोगमा अझै खेती विस्तार गर्दै लैजानेछु।’ उनले उत्पादन गरेको खर्बुजा स्थानीय बजार र काठमाडौँसम्म व्यापार हुने गरेको छ।
किसानले पाउँदैनन् अनुदान
सरकारले कृषिमा उत्पादन र कृषिलाई विस्तार गर्न वार्षिक रूपमा अनुदान रकम बाँड्दै आएको छ। तल्लो तहका किसानका हातमा अनुदान नपुग्ने पौडेलको आरोप छ। उनले भने, ‘किसानका लागि ल्याएको कृषि अनुदान किसानले पाउँदैन। वास्तविक किसान अनुदानबाट वञ्चित छन्। कृषि क्षेत्रका लागि यो विडम्बनाको विषय हो।’
सरकारले वार्षिक रुपमा अनुदानका लागि बजेट विनियोजन गरे पनि राजनीतिक दलका कार्यकर्ताले मिलाएर लिने गरेको उनको भनाइ छ।
सरकारले वास्तविक किसानलाई अनुदान दिने हो भने अहिले जति कृषिका सामग्री आयात भइरहेका छन्। त्योभन्दा बढी नेपाल निर्यात गर्ने कृषिका सामग्री उत्पादन हुने उनको बुझाइ छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले युवा लक्षित, महिला लक्षित, राजमार्ग लक्षित तरकारीखेती कार्यक्रम, नमुना कृषि कार्यक्रमलगायत योजनाहरु सञ्चालन गरेको छ। यस्ता कार्यक्रम सीमित व्यक्तिमा मात्र पुग्ने गरेको किसानको आरोप छ।
मेहनत आफ्नै देशमा गरेर वैदेशिक रोजगारीको जस्तै कमाइ यहीँ गर्न सकिन्छ। रोजगारीका लागि बिदेसिने युवालाई विदेश जाने पैसा लगानी गरेर पसिना बगाउन उनी सल्लाह दिन्छन्। देशमा सबै मिलेर खेती गरे बजार खोज्न सरकार बाध्य हुने उनको बुझाइ छ।
नेपालमा यति नै खर्बुजाखेती हुन्छ भन्ने सरकारसँग यकिन तथ्यांक छैन। पछिल्लो समय बजारमा खर्बुजाको माग बढ्न थालेपछि यसको व्यावसायिक खेती गर्न थालिएको छ।