
काठमाडौँ- सरकारले उत्पादन, उत्पादकत्व र रोजगारीलाई उच्च प्राथमिकतामा राखेको छ। सरकारको नीति तथा कार्यक्रममा सरकारले यी विषयलाई उच्च प्राथमिकतामा राखेको हो।
‘देशमा आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा देशभित्र ठुलो मात्रामा रोजगारी सिर्जना गर्न तीनै तह निजी क्षेत्र,सहकारी र समुदायको साझेदारीमा उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ’, सरकारको कार्यक्रममा भनिएको छ। उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई समन्वयका आधारमा बजारीकरणसम्मको कृषि इकोसिस्टम कार्यान्वयन गरिने सरकारले जनाएको छ।
त्यस्तै सरकारले अबदेखि तयारी पुरा भएका र प्रतिफल सुनिश्चित भएका आयोजनालाई मात्रै छनौट गर्ने भएको छ। कार्यान्वयनमा रहेका आयोजना तथा कार्यक्रमको पुनप्राथमिकिकरण गर्ने समेत सरकारको योजना रहेको छ।
आगामी वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो नीति बनाएको हो। पहिचानपछि आयोजनालाई चाहिने बजेट विनियोजन गर्ने नीति सरकारले लिएको छ। यसबाहेक कार्यक्रमको प्रगतिका आधारमा स्थगन वा खारेजको नीति लिइने बताइएको छ।
विकास कार्यक्रम तथा आयोजनाको अनुगमन सूचना प्रविधिमा आधारित र नतिजामूलक बनाइने बताइएको छ। यस्तै स्थानीय आयोजनाको अनुगमनका लागि जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाइने छ। सार्वजनिक नीतिलाई तथ्य र प्रभावमा आधारित बनाएर अध्ययन अनुसन्धानसम्बन्धी राष्ट्रिय नीति र आचारसंहिता समेत सरकारले बनाउने भएको छ।