नयाँ नेतृत्वपछि शिक्षक महासंघ सक्रिय

हिमाल प्रेस १ जेठ २०८१ १०:०८
1.8k
SHARES
नयाँ नेतृत्वपछि शिक्षक महासंघ सक्रिय

काठमाडौँ- नेपाल शिक्षक महासंघले नयाँ नेतृत्व पाएसँगै सक्रियता बढेको छ। लक्ष्मीकिशोर सुवेदी नेतृत्वको महासंघ सामुदायिक तथा निजी विद्यालयका शिक्षकदेखि कर्मचारीसम्मका मागमुद्दामाथि छलफल, सरकारको ध्यानाकर्षणलगायतमा सक्रिय भएको छ।

सरकारले जेठ १ गते नीति तथा कार्यक्रम र जेठ १५ गते बजेट ल्याउन लागेको पूर्वसन्ध्यामा महासंघकाे सक्रियताले शिक्षक-कर्मचारीका मागमुद्दाबारे सरकारकाे ध्यानाकर्षण हुने शिक्षक-कर्मचारीकाे विश्वास छ।

वैशाख २७ गतेबाट नयाँ नेतृत्व पाएको महासंघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अमरबहादुर थापा, शिक्षा मन्त्रालयका सचिव डा.दीपक काफ्ले, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्मासँग भेटी शिक्षक-कर्मचारीका समसामियक मुद्दामा छलफल गरेको छ। महासंघसँगै सबै शिक्षक नेताहरू पनि सक्रिय भएका छन्।

शिक्षामन्त्री श्रेष्ठ, समिति सभापति थापा, केन्द्रका महानिर्देशक शर्मा, शिक्षासचिव काफ्ले शिक्षक, विद्यालय कर्मचारी, बालविकास शिक्षकका माग र मुद्दामा सकारात्मक भएको महासंघले जनाएको छ।

महासंघले मन्त्रालयमा रहेको शैक्षिक संवाद समितिलाई ब्युँताएर शिक्षक, विद्यालय कर्मचारी, बालविकास शिक्षकका पेसागत मुद्दासहित विद्यालय शिक्षाका बारेमा नियमित छलफल गर्नुपर्ने प्रस्ताव गरेको छ।

यसैगरी महासंघले संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई जतिसक्दो छिटो अगाडि बढाउनका लागि अग्रसरता लिन मन्त्री श्रेष्ठलाई अनुरोध गरेको छ।

महासंघका पदाधिकारीले विद्यालय व्यवस्थापनमा पालिकाहरूले हस्तक्षेप गरेको तर खुरुखुरु पढाइरहेका शिक्षकलाई राजनीति गरे भनेर दोष लगाउन नहुने बताएका थिए।

प्रकाशित: १ जेठ २०८१ १०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =