कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाणी मुक्तकमैया शिविरका छङ्गा राना लामो समयसम्म बेरोजगारजस्तै थिए। परिवारसँग उब्जनीका लागि न पर्याप्त जग्गा थियो, न रोजगारीका लागि अर्को भरपर्दो विकल्प।
ज्याला मजदुरी गरेरै उनको जीविका चल्यो तर पछिल्लो तीन वर्षयता भने उनको काम बदलिएको छ। त्यसले ‘दाम’ पनि राम्रै कमाई रहेका छन्। त्यो काम हो- ब्याण्डबाजा बजाउने।
उनीमात्रै होइन सो शिविरका नौजना युवाले एक समूह बनाएर अहिले स्थानीयस्तरमा हुने विवाह र ब्रतवन्धमा ब्याण्डबाजा बजाएर जीविका चलाइरहेका छन्।
‘स्थानीय स्तरमा विवाह हुने तर ब्याण्डबाजा बजाउने मान्छे नपाएर टाढाटाढाबाट महङ्गो रकम तिरेर बोलाउनुपर्ने अवस्था थियो’, रानाले भने, ‘त्यो समस्या टार्न हामीले सीप सिक्यौँ, अहिले स्थानीय युवा मिलेर ब्याण्डबाजा बजाउने काम गरिरहेका छौँँ। त्यसबाट राम्रै आम्दानी भइरहेको छ।’
रानाकाअनुसार सो समूहले एउटा विवाहमा ब्याण्डबाजा बजाएबापत रु २० हजारदेखि ३० हजारसम्म ज्याला लिने गरेका छन्। प्रत्येक वर्ष सिजनमा औषतमा २० भन्दा बढी विवाहलगायतका समारोहमा बाजा बजाउने माग आउने गरेको छ।
सोही समूहका अर्का सदस्य रामप्रवेश रानाले अहिले ब्याण्डबाजा बजाएर जोहो गरेको आम्दानीले परिवारको लालनपालन र बच्चाहरूको पठनपाठनमा निकै सघाउ पुगेको बताउँछन्।
केही वर्षअघि हातमा सीप भए पनि पर्याप्त बाजा नहुँदा धेरैले आफ्नो समूहलाई काम नदिने गरेकामा स्थानीय तहले बाजा खरिदका लागि सहयोग गरेपछि अहिले भने भ्याइनभ्याइँ भएको उनी सुनाउँछन्। ‘पहिलो थोरै बाजा हुँदा धेरै माग आउँदैनथ्यो। वडा कार्यालयले बाजा उपलव्ध गराएपछि माग पनि बढेको छ र हाम्रो आम्दानी पनि’, रानाले भने।
ब्याण्डबाजा बजाउने समूहका वीरा रानाले पनि आफूले बाजा बजाउन थालेपछि परिवारका लागि हातमुख जोर्ने समस्या टर्दै गएको बताइन्। ‘वडा कार्यालयबाट बाजा पाएपछि त काम गर्न सहज हुनुका साथै माग धेरै आउन थालेकाले आम्दानी पनि बढ्न थालेको छ।’ उनले भनिन् ‘रानाथारु समुदायमात्रै होइन पहाडीलगायतका गीत बाजामार्फत गाउन जान्ने र बाजागाजा पनि भएकाले अहिले धेरै ठाउँबाट माग आउन थालेको छ। त्यसैले विवाहको समयमा माग धौँधौँ हुने गरेको छ।’
छङ्गा राना बाजाको व्यवस्था गरिदिन वडा कार्यालयलाई माग गरेपछि सुनुवाइ भएकामा निकै खुसी छन्। ‘बजाउने सीप भए पनि बाजा थिएन। त्यसैले माग पनि आउँथेन’, उनले भने, ‘वडा कार्यालयले रु ५० हजारमा बाजा खरिद गरिदिएपछि हामी नौजनालाई नै सहज भएको छ।’
वडा अध्यक्ष अर्जुन साउदले मुक्तकमैया युवालाई स्वरोजगार बनाउन आवश्यक रकमको व्यवस्था मिलाई ब्याण्डबाजा खरिद गरिएको बताए। ‘गत वर्ष सालघारी मुक्तकमैया बस्तीका युवाका लागि वडाकै रकम खर्चेर ब्याण्डबाजा खरिद गर्यौ’ उनले भने। ‘यस वर्षको बजेटबाट बाणिका मुक्तकमैया युवाका लागि ब्याण्डबाजा खरिद गरेका हौँ। यसपछि बंकका युवाको मागअनुसार पञ्चेबाजा उपलब्ध गराउने योजना छ।’
हाल बाणी मुक्तकमैया शिविरका ब्याण्डबाजा बजाउने युवासँग ट्रम्पट, ओवाउ, ब्रास, सहनाई, तम्बुर, ड्रम, झुनझुनालगायतका बाजा छन्।
विवाहको समयमा ब्याण्डबाजा बजाउने युवाहरूले अन्य समयमा कपाल काट्ने, राजमिस्त्री, किराना पसल, तरकारी खेतीलगायतका काम गरी आम्दानी गर्दै आएका रामनाथ रानाले बताए। ‘विवाहको समयमा बाजा बजाएर आउने रकमले घरखर्च चल्ने गरेको छ’ उनले भने ‘अन्य व्यवसाय गरी आएको आम्दानी बैंक, समूह र सहकारीमा बचत गर्दै आएका छौँ।’
ब्याण्डबाजा बजाउने कार्य भने ति युवाले घरमै अभ्यास गरेर सिकेका हुन। ‘सुरूमा अरुले बजाएको देखेर हामीले सिकेको थियौँ, त्यसपछि भारतीय बजारबाट बाजा खरिद गरेर घरमै अभ्यास ग¥यौँ। आखिर इच्छाशक्ति भयो भने त हुँदो रहेछ नि!’, रामप्रसादले भने।
धेरै युवाहरूले काम पाइएन भनेर गुनासो गरिरहेका हुन्छन्। पहिलेदेखि नै बाजा बजाउने काम गर्दै आएका कतिपय समुदायका युवासमेत यो पेशाबाट पलायन भइरहेका छन् तर यहाँका मुक्तकमैया युवाहरू भने ब्याण्डबाजा बजाएर राम्रो आम्दानी गरिरहेका छन्। यस कार्यको यहाँ निकै प्रशंसा भइरहेको छ।