पोखरा- वैदेशिक रोजगारी क्रममा यस वर्ष कास्कीका २२ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, १५ जना अंगभंग तथा बिरामी परे।
वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा विभाग तथा आप्रवासी स्रोत केन्द्रहरुको प्रतिवेदन अनुसार चालु आवको ९ महिनामा कास्कीका २२ जनाले ज्यान गुमाएका हुन्। यसैगरी १५ जना अंगभंग तथा बिरामी परेका हुन्। उनीहरू सबै पुरुष हुन्।
प्रतिवेदन अनुसार वैदेशिक रोजगारी क्रममा गण्डकीका ११ मध्ये नवलपुरका सबैभन्दा बढी मानिसले ज्यान गुमाएका छन्। दोस्रो बागलुङ हो भने कास्की तेस्रोमा पर्छ। गत आव २०७९/८० मा देशभरबाट विदेश गएकामध्ये १ हजार २ सय ८ जनाको मृत्यु भएको थियो। त्यसबेला ३ सय ३५ जना अंगभंग भए।
गत आव २०७९/८० मा ७ लाख ७१ हजारले श्रम स्वीकृत लिएका आप्रवासन थिए। चालु आवको चैतसम्म गण्डकीबाट १ लाख ६ हजार ४४ जना वैदेशिक रोजगारीका लागि गएका छन्। तीमध्ये महिला १० हजार ७ सय २ छन्।
यस अवधिमा कास्कीका १२ हजार ३ सय ३४ जना वैदेशिक रोजगारीमा गए। तीमध्ये १ हजार ६ सय ९२ महिला हुन्। गण्डकीबाट वैदेशिक रोजगारीमा जाने महिलामा कास्कीका सबैभन्दा बढी छन्।
गण्डकीबाट वैदेशिक रोजगारीमा सबैभन्दा बढी जाने जिल्ला तनहुँ हो। तनहुँबाट यसपालि १६ हजार ७ सय ९७ जना वैदेशिक रोजगारीमा गएकोमा महिलाको संख्या १ हजार ५ सय १९ छ। त्यसपछि स्याङ्जाका १५ हजार ८ सय ९६ जना गएकोमा महिला १ हजार ४ सय ५ जना छन्।
तेस्रोमा बागलुङ पर्छ। बागलुङबाट यसपालि वैदेशिक रोजगारीका लागि १३ हजार ७ सय ९७ जना वैदेशिक रोजगारीमा गएकोमा महिला १ हजार १ सय ४ जना छन्। प्रदेशका ११ जिल्लामध्ये वैदेशिक रोजगारीमा जाने कास्की चौंथोमा पर्दछ। सबैभन्दा कम मनाङबाट २ सय २४ जना गए।
वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मीले अघिल्लो आव २०७९/८० मा वैदेशिक रोजगारीमा गएकाभन्दा चालु आवको ९ महिनामै वैदेशिक रोजगारी जानेको संख्या धेरै रहेको बताए।
उनका अनुसार हाल १ सय ११ राष्ट्रमा श्रम आप्रवासनका लागि संस्थागतरुपमा खुला गरिएको छ । नेपाली पुरुषको लागि सबैभन्दा मुख्य गन्तव्य मलेसिया हो भने महिलाको मुख्य गन्तव्य यूएई हो।
पछिल्लो समय महिलाहरु यूरोपिन देशहरु माल्टा, साइप्रेस, रोमानिया, क्रियोसिया लगायतमा जाने प्रचलन बढी छ। बिएलए-एमओयू भएका राष्ट्रहरू हालसम्म १२ मात्र छन्। ती हुन् कतार, जोर्डन, युएई, रिपलिब्लक अफ कोरिया, बहराइन, इजरायल, मलेसिया, मौरीसस, बेलायत, रोमानिया, जापान र जर्मन।
नेपालबाट गत चैतसम्म ५ लाख ३९ हजार मानिस वैदेशिक रोजगारीमा गए । अघिल्लो आवमा १ हजार २ सय ८ जनाको मृत्यु भयो भने ३ सय ३५ जना अंगभंग भए । विप्रेषण १२ खर्ब २० अर्ब ५६ करोड भित्रिएको छ। उक्त विप्रेषणले नेपालको कुल ग्राहस्थ उत्पादनमा २३ दशमलब ६८ प्रतिशत योगदान दिएको पाइन्छ।
वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार अर्धदक्ष र अदक्ष हुनु, जसका कारण जोखिमपूर्ण काम गर्नुपर्ने, गन्तव्य मुलुकको हावापानी, नियम कानुन, काम गर्ने वातावरण, संस्कृतिबारे ज्ञान नहुनु, नयाँ गन्तव्य मुलुकतर्फ आकर्षण बढ्नु, ठगी तथा अलपत्र पर्नुका साथै कानुनी सहायताको लागि प्रमाण नहुनु, स्वदेशमै लगानी र व्यवसायभन्दा वैदेशिक रोजगारीको खोजीमा युवा जनशक्ति पलायन हुनु प्रमुख चुनौती हुन्।
नेपालीको लागि सबैभन्दा धेरै गन्तव्य मुलुक मलेसिया हो। त्यसपछि क्रमशः यूएई, कतार, साउदी अरब, कुवेत, कोरिया, रोमानिया, जापान, बहराइन र क्रोयसिया हुन्।
महिला श्रमिका लागि सबैभन्दा बढी गएको देश युएईसहित त्यसपछि कुवेत, मलेसिया, कतार, साइप्रस, रोमानिया लगायत मुलुक हुन्। सन् २०२३ मा ८ लाख ८ हजार जनाले नेपाल छाडेका थिए। भ्रमण तथा तीर्थाटनका लागि २ लाख ४ हजार, परिवार नाता भेटघाटका लागि १ लाख ६७ हजार, अध्ययनका लागि १ लाख ८५ हजारले देश छाडेका थिए।
वैदेशिक रोजगारसम्बन्धी कानुनी व्यवस्था भए पनि यो क्षेत्र पूर्णरूपमा सुरक्षित हुन सकेको छैन। नेपालको संविधान, वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६४, वैदेशिक रोजगार नीति, २०६८, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कार्यान्वयनमा छन्।
वैदेशिक रोजगारमा सबैभन्दा ठूलो समस्या ठगी भएको पाइएको छ। त्यसको मूल कारण हो-अवैधरूपमा सञ्चालित म्यानपावर। हाल देशैभर ९ सय ७२ म्यानपावर कम्पनी सञ्चालित छन्। तीमध्ये केहीलाई ७७ जिल्लामा मात्र ३२ वटा शाखा चलाउने स्वीकृति वैदेशिक रोजगार विभागले दिएको छ । तर सहर बजारमा स्वीकृतिबिनै म्यानपावर कम्पनीको शाखा कार्यालय छ्यापछ्याप्ती भेटिन्छन्।
चालु आवमा हालसम्म कास्कीमा सामी परियोजनाले वैदेशिक रोजगारसम्बन्धी १ सय ९१ समस्या तथा मुद्दामध्ये ७२ वटा समाधान गरिसकेको छ।
ठगीसम्बन्धी १ सय ४० मध्ये २७ समाधान छन्। सामीले ४ वर्षयता ६ सय ६५ समस्या तथा मुद्दामा ३ सय ३७ समाधान गरेको र १२ करोड १६ लाख ५४ हजार क्षतिपूर्ति दिलाइसकेको जनायो। सामीले वैदेशिक रोजगारीलाई कसरी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भनी काम गरिरहेको छ।