लगानीको वातावरण नबन्दा ९ महिनामा आधा पनि भएन कर्जा प्रवाह

हिमाल प्रेस ३१ वैशाख २०८१ १०:५८
2
SHARE
लगानीको वातावरण नबन्दा ९ महिनामा आधा पनि भएन कर्जा प्रवाह नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ- चालु आर्थिक बर्षमा बैंकको ब्याज महिनैपिच्छे घट्दो छ। बैंक ब्याजदर लगातार घटेपनि लगानीको वातावरण नबन्दा बैंकमा पैसा थुप्रिएको छ। राष्ट्र बैंकका अनुसार करिब सात खर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ।

राष्ट्र बैंकले चालु वर्षमा साढे ११ प्रतिशत कर्जा प्रवाहको लक्ष्य राखेको थियो। तर चालु आर्थिक बर्षको नौ महिनामा कर्जा प्रवाहको वृद्धि मुस्किलले ४ देखि ५ प्रतिशत हाराहारीमा पुगेको राष्ट्र बैंकको तथ्यांकमा छ।

चालु आर्थिक बर्षको चैत मसान्तभित्र करिब ५५ खर्ब ८२ अर्बको कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको तथ्यांकमै लक्ष्यको करिब आधा मात्रै कर्जा विस्तार भएको छ।

गत साउनमा पनि कर्जाको ब्याजदर १२.२४ प्रतिशत रहेको थियो। चैतमा कर्जा ब्याजदर १०.५५ प्रतिशतमा झरेको छ। यो गत आर्थिक बर्षको चैतभन्दा पनि २ प्रतिशत कम हो।

चालु आवको पहिलो महिना अर्थात् गत साउनदेखि नै कर्जाको ब्याजदर घट्दै आएको छ। तर कर्जा भने लक्ष्यअनुसार प्रवाह नभएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन्।

उनका अनुसार विशेषगरि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ। तर, कर्जाको माग भने न्युन देखियो। कर्जाको माग नबढ्दा निक्षेपको ब्याजदर पनि महिनैपिच्छे घट्दै आएपनि लगानीमा चासो नबढेको उनले बताए।

राष्ट्र बैंकका अनुसार गत भदौमा वाणिज्य बैंकको कर्जाको औसत ब्याजदर १२.२३ प्रतिशत, असोजमा १२.११ प्रतिशत, कात्तिकमा ११.९६, मंसिरमा ११.८५ प्रतिशत, पुसमा ११.३९ प्रतिशत, माघमा ११.०८ प्रतिशत र फागुनमा ११.७८ प्रतिशत थियो।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको चैत महिनामा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर १२.८४ प्रतिशत रहेको थियो। चालु आर्थिक बर्षको चैतमा कर्जाको ब्याजदर २.२९ प्रतिशत बिन्दुले घटेको राष्ट्रको तथ्यांकमा छ। कर्जा ब्याजदर चालु आवको चैतमा आइपुग्दा भने घटेर १०.५५ प्रतिशत कायम भएपनि कर्जा प्रवाह बढेको छैन।

कर्जाको ब्याजदर पनि महिनैपिच्छे घट्न थालेपनि बैंकमा थुप्रिएको पैसा लागनी हुने नसकेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल बताउँछन्। उनका अनुसार पैसा बैंकमा पैसा थुप्रिएपनि सरकारले लगानीको वातावरण बनाउन सरकारी योजना भएन।

कर्जा निक्षेप अनुपातका हिसाबले हेर्दा सात खर्बभन्दा बढी लगानीयोग्य रकम बैंकहरुमा जम्मा भएको उनले बताए। ‘चालु आर्थिक बर्षमा आठ खर्बभन्दा बढी पैसा बैंकहरुमा लगानीयोग्य पैसा जम्मा होला जस्तो छ। बैंकमा पैसा छ, लगानीको वातावरण छैन।’ उनले भने, ‘चालु आर्थिक बर्ष सकिन २ महिना मात्र बाँकी रहेका कारण यस बर्ष कर्जा प्रवाह हुने अवस्था छैन। जसका कारण आगामी आर्थिक बर्षको अर्थतन्त्रमा समेत प्रवाभ पर्ने सम्भावना छ।’

खुद तरल सम्पत्तिका आधारबाट हेर्दा करिब साढे ५ खर्ब लगानीयोग्य पुँजी यति थन्किएको उनको भनाइ छ।

चालु आर्थिक बर्षमा लगानी वातावरण सम्भावना समेत नभएका कारण बैंक तथा वित्तिय संस्थामा पैसा थुप्रिने क्रम ५ महिनाभन्दा बढी जाने जानकारहरु बताउँछन्।

निक्षेप ब्याजदर पनि घट्दो

निक्षेप ब्याजदर घटेपछि बैंकहरूको लागतमा पनि घटेको छ। चैत महिनामा बैंकहरुको निक्षेपको औसत ब्याजदर ६.५३ प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्यांकमा छ।

राष्ट्र बैंकका अनुसार गत साउनमा पनि निक्षेपको औसत ब्याजदर ८ प्रतिशत, भदौमा ८.०६ प्रतिशत असोजमा ७.९० प्रतिशत, कात्तिकमा ७.७६ प्रतिशत, मंसिरमा ७.६२, पुसमा ७.३२, माघमा ७.०१ र फागुनमा ६.७४ प्रतिशत कायम भएको थियो।

गत वर्षको चैतमा पनि बैंकको निक्षेपको औसत ब्याजदर ८.२६ प्रतिशत कायम भएको थियो। यसरी निरन्तर निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि सस्तिन थालेको हो। तर ब्याजदर जति घटेपनि कर्जा प्रवाह बढेको छैन।

लागत घट्दा बैंकहरूको आधार दर ९बेस रेट० पनि घट्न थालेको छ। चैतमा बैंकहरुको औसत आधार दर ८.९१ प्रतिशतमा झरेको थियो। एक वर्षको अवधिमा बैंकहरुको औसत आधार दर १.९७ प्रतिशत बिन्दुले घटेको छ।

यस्तै, वित्त कम्पनीहरुको निक्षेपको औसत ब्याजदर ८.८२ प्रतिशत छ भने कर्जाको ब्याजदर १३.३६ प्रतिशत छ। हाल वित्त कम्पनीहरुको औसत आधार दर १२.०२ प्रतिशत कायम भएको छ।

आधार दर घट्दै जाँदा ऋणीलाई नै राहत भएपनि बैंकमा लगानीको वातावरण नबनेको बैंक तथा वित्तीय संस्थाहरुको भनाइ छ।

प्रकाशित: ३१ वैशाख २०८१ १०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =