फेरि दाउमा अशोक राईको नेतृत्व क्षमता

एमालेमै फर्कने सम्भावना कति?

किरण पौडेल ३१ वैशाख २०८१ १०:१५
80
SHARES
फेरि दाउमा अशोक राईको नेतृत्व क्षमता

काठमाडौँ- कमजोर नेतृत्व क्षमताका कारण पटकपटक ‘असफल’ भएका अशोक राई अर्को असफल राजनीतिक अभ्यासमा सक्रिय भएका छन्। जसपा नेपाल फुटाएर जसपा गठन गरेका राईको नयाँ दलले कानुनी हैसियत पाउन बाँकी छ। सोही कारण उनी पुरानो घर एमालेमा फर्कन सक्ने विषयमा बहस हुन थालेको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएर अशोक राई नेतृत्वमा नयाँ जनता समाजवादी पार्टी (जसपा) बनेको छ। जसपा नेपालका संघीय परिषद् अध्यक्ष राई, कार्यवाहक संघीय अध्यक्ष राजेन्द्र श्रेष्ठसहितको टोलीले नयाँ पार्टी दर्ता गरेको हो।

नयाँ पार्टीको अध्यक्षमा राई चयन भएका छन् भने महासचिवमा महम्मद इस्त्याक राई छन्। झट्ट हेर्दा यो पार्टीमा जनजाति र मधेशी नेताको दबदबा देखिएको छ।

जसपा नेपालका संघीय परिषद् अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला उनीसँग रुष्ट समूहले हठात् नयाँ पार्टी दर्ता गरेको हो।

पार्टी विभाजनपछि उपप्रधान एवम् परराष्ट्रमन्त्रीसमेत रहेका यादव नेपाल फर्किए। उनले नेपाल फर्किनेबित्तिकै ‘लोभी, पापीहरू गएको’ आरोप लगाएका थिए। यही प्रकरणमा यादव निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा छन्। त्यसैले अशोकको पार्टी वैध हुने/नहुने स्पष्ट छैन।

पार्टी विभाजन गर्न ४० प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय सदस्य हुनुपर्ने कानुनी व्यवस्था छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेशमार्फत ल्याएको कानुनमा २० प्रतिशत सांसद भए पार्टी फुटाउन सक्ने व्यवस्था थियो। यद्यपि संसद्बाट पारित नहुँदा अध्यादेश निष्कृय भयो। पार्टी विभाजनसम्बन्धी अहिले कानुन छैन।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कानुनी शून्यतामा अदालतले व्याख्या नगरेसम्म ‘पार्टी विभाजन’ बारे भन्न सक्ने अवस्था नरहेको बताउँछन्। जसपा विभाजनमा निर्वाचन आयोगले अध्यादेशकै कानुन लगाएको देखिन्छ। किनभने अशोकले पेस गरेको विवरणमा केन्द्रीय सदस्य ४० प्रतिशत पुग्दैनन्।

यता सांसद भने ५० प्रतिशतभन्दा बढी छन्। आयोग पनि ‘निष्कृय अध्यादेश’ लागू गर्न लागेको देखिन्छ। यही कारण अशोकको पार्टी रहने वा नरहने भन्न सक्ने अवस्था छैन।

‘यसरी पार्टी फुटाउन पाउने कानुनी व्यवस्था नै छैन’, अशोकका पुराना मित्र एवम् जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ भन्छन्, ‘कानुन स्पष्ट नहुँदा पार्टी नरहने अवस्था हुन सक्छ। यसबारे विभाजनमा जाँदा हेक्का नराखेजस्तो लाग्यो।’

चेम्जोङले एमाले विभाजनताका पनि अशोकलाई साथ दिएका थिए। अहिले उनी उपेन्द्रसँगै छन्। उनले कानुनी प्रावधानका कारण आफू अशोकसँग नगएको बताए पनि अन्य कारण खुलाएका छैनन्। मुख्यतः अशोक जनजाति राजनीतितर्फ बढी आकर्षित देखिन्छ।

एमाले विभाजन गर्दा पनि अशोकले यही एजेन्डालाई प्राथमिकता दिएका थिए। एमालेसँग पहिचान÷संघीयताको मुद्दा नमिल्दा उनी बाहिरिएका थिए। अहिले भने उनीसँग त्यसबेलाका सहयात्रीहरू रहेनन्। चेमजोङ नरहँदासमेत अशोकलाई पूर्वी पहाडी क्षेत्रमा धक्का लाग्ने अनुमान छ।

कमजोर नेतृत्व क्षमता

अशोक एमालेका पुराना नेता हुन्। उनी भूमिगतकालीन राजनीतिदेखि कम्युनिस्ट मोर्चामा जोडिएका थिए। संविधानसभा निर्वाचनपछि भने अशोक एमालेमा रहन सकेनन्। एमालेका तत्कालीन उपाध्यक्षसमेत रहेका उनको पार्टीमा वर्चस्व थियो।

अशोकको जनजाति बाहुल्य नेताको राम्रै छाप थियो तर मुलुक संघीयता जाने भएपछि अशोकले ‘पहिचानसहितको संघीयता’को मुद्दा उठाए। जातीय वा एकल पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने आवाज अशोक पक्षको थियो। तत्कालीन एमाले नेतृत्वले उनको एजेन्डालाई मान्न सकेन।

यही कारण २०६९ असोज १८ मा उनीसहित राजेन्द्र श्रेष्ठ, विजय सुब्बा, रकम चेमजोङ, अजम्बर काङमाङ, वीरबहादुर लामा, रिजवान अन्सारी, हेमराज राई, गोपाल ठाकुर, सुशीला श्रेष्ठले एमाले त्यागे। संघीयताको पहिचानको मुद्दालाई अघि बढाउन भन्दै अशोकले ‘संघीय समाजवादी पार्टी’ खोले। उनको एजेन्डालाई बढावा गर्ने अधिकांश नेता एमोलेमै रहे।

‘हामीलाई धेरै नेताहरूले पार्टीमा उचालेका थिए। पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङलगायत नेता थिए। तर हामी छुट्ने बेलामा पार्टीभित्र संघर्ष गर्ने भनेर उहाँहरू विभाजनमा आउनुभएन’, तत्कालीन अशोकपक्षका नेता अजम्बर राई ‘काङमाङ’ भन्छन्। अजम्बरका अनुसार एक किसिमले पहिचानको आवाज उठाउने ठूलो पंक्ति एमालेमै थियो।

यसअघि अशोक नेतृत्वको समाजवादीले एउटा निर्वाचन पनि लड्यो। अशोककै गृहजिल्ला सुनसरीमा संघीय समाजवादीको लज्जास्पद हार भयो। ६८ जिल्लामा सिट आउन सकेन। समानुपातिकतर्फ ५ सिट मात्र आउन सक्यो। ‘हामीले सोचेअनुसार मत आउन सकेन,’ तत्कालीन अशोकपक्षका नेता एवं हाल एमाले नेता हेमराज राई सम्झन्छन्, ‘हामीसँग पार्टी चलाउने पैसा पनि थिएन। सधैँ गोजीको रकमले पार्टी चल्दैन थियो।’

राईका अनुसार अशोक आफैँ पनि समानुपातिकमा रहेर सांसद चुनिएका थिए। ‘पार्टीमा समस्या देखियो। नेतृत्वमा समेत असक्षमता देखियो,’ राई भन्छन्, ‘अशोक दाइ राम्रो बोल्नुहुन्छ। तर पार्टीलाई चलायमान बनाउने क्षमताचाहिँ नभएकै हो।’ यही कारण अशोकले लामो समय पार्टीलाई अघि बढाएनन्।

उनले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमसँग पार्टी एकीकरण गरे। अशोकमा यसबेलासम्ममा नेतृत्व क्षमता कमजोर भएको देखिसकिएको थियो। किनभने अधिकांश नेताले उनलाई छाडिसकेका थिए। केही नेताहरू छाड्ने बाटो हेरिरहेका थिए।

उपेन्द्रसँग एकता गरेपछि भने पार्टी संगठन सुदृढ हुन थाल्यो। यसबेला पनि अशोकले ‘आफ्नो नेतृत्व क्षमता कमजोर भएकै कारण’ उपेन्द्रको नेतृत्व स्वीकारेका थिए। ‘अशोक दाइ एमालेको केन्द्रीय नेतृत्वमा हुँदा उपेन्द्र जिल्ला कमिटीमा थिए,’ जसपाका एक नेता भन्छन्, ‘तर अशोक दाइले नेतृत्व उपेन्द्रलाई नै मान्नुभयो।’

पार्टी विस्तार हुँदै गए पनि अशोकको भूमिका पार्टीमा घट्दै गयो। त्यसपछिका चुनाव पनि अशोकले जितेनन्। २०७२ जेठ ३२ मा भएको उपेन्द्र र अशोकबीचको एकतापछि उपेन्द्र अध्यक्ष बन्दा अशोक वरिष्ठ नेता बनेका थिए। अशोक समूहकै नेताहरूले अशोकलाई उपेन्द्रको नेतृत्व मान्न तयार हुन अनुरोध गरेका थिए।

२०७४ सालसम्म आइपुग्दा अशोकसहितको उपेन्द्र नेतृत्वको समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति एकता हुने चरणमा पुग्यो। निर्वाचनमा एउटै चुनाव चिह्न लिएर लड्ने र भविष्यमा एकता गर्नेसम्म नेताहरू पुगे। पार्टीको नाम के राख्नेमा विवाद थियो।

२०७६ साल वैशाखमा उपेन्द्र र बाबुरामबीच एकता गर्ने सहमति थियो। पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ र बाबुराम संघीय परिषद् अध्यक्ष र उपेन्द्र कार्यकारिणी अध्यक्ष हुने निर्णय भयो। पार्टीमा अब तीन गुट रहन थाल्यो। तत्कालीन जसपाका एक नेताका अनुसार बाबुराम र अशोकलाई पेलेर उपेन्द्र मात्र अघि बढ्न खोज्थे।

यही कारण पार्टीभित्र तिक्त सम्बन्ध बढ्दै गयो। २०७७ वैशाखसम्म आइपुग्दा जसपा र तत्कालीन मधेशवादी शक्ति राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकता गर्नुपर्ने अवस्था आइलाग्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत २० प्रतिशत सांसद पु¥याउने पार्टी फुट्ने कानुन ल्याएपछि जसपा फुटको डिलमा थियो। त्यसबेला पनि जसपाका नेताहरू प्रदीप यादव, रेणु यादव, सुरेन्द्र यादव उपेन्द्रसँग छुट्टिन चाहन्थे। उपेन्द्रले तत्कालीन राजपासँग एकता गर्दै फुटबाट बचाए। तर यो एक भएको पार्टी पनि लामो समय रहेन।

महन्थ ठाकुर र राजेन्द्र महतोले आन्तरिक कलह बढाएपछि संवैधानिक रूपमा २०७८ भदौ २ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गर्दै उपेन्द्रसँग छुट्टिए। यसपछि उपेन्द्रले अर्का अध्यक्ष बाबुराम भट्टराई पनि पार्टीमा राख्न चाहेनन्। २०७९ असारसम्म आइपुग्दा भट्टराई पनि नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेर बाहिरिए।

‘यसबेला पनि प्रदीप यादवसहित अशोक दाइहरूको टिम बाहिरिन चाहन्थ्यो,’ जसपाका एक नेता भन्छन्, ‘तर प्रदीपसहितका नेताहरू उपेन्द्रसँगै रहने भएपछि अशोक दाइ जसपामै बस्न बाध्य हुनुभयो।’ गत सातामात्रै तिनै उपेन्द्रसँग असन्तुष्ट प्रदीपसहितका नेताहरूले अशोकलाई साथ दिए। यो पार्टी स्थापनाबाटै कानुनी र राजनीतिक प्रश्न उठेको छ। अर्कोतिर सत्ताका लागि फुटेको आरोप अशोकले खेपिरहनुपरेको छ।

‘देशलाई अस्थिरतातिर लैजान अध्यक्षज्यू (उपेन्द्र यादव) लागेपछि हामीले पार्टी विभाजन गर्‍यौँ,’ अशोकले नै भनेका छन्। यसअघि अशोक शिक्षामन्त्री थिए। नयाँ समीकरण (एमाले–माओवादी) बनेपछि उनको मन्त्री पद गुम्यो। जसपाका एक नेताका अनुसार उनी मन्त्री पद दोहो¥याउन चाहन्थे तर उपेन्द्र आफैँ मन्त्री बने। यसकारण अशोक–उपेन्द्रबीच सम्बन्ध बिग्रिएको छ।

अशोकको टाउकोमा फेरि नेतृत्व

अशोकले फेरि पनि पार्टी हाँक्नुपरेको छ।  उनका पुराना मित्र हेमराज राई सम्झन्छन्, ‘पार्टी चलाउन सानो ठाउँलाई मात्र ध्यान दिएर हुन्न। सबै ठाउँमा अशोक दाईको भूमिका पुग्दैन।’

अशोक सांगठानिकभन्दा पनि सैद्धान्तिक नेता हुन्। यही कारण राई नयाँ पार्टी बनाउन भन्दा पार्टी मूलधारको पार्टीमा समाहित हुन अशोकलाई अनुरोध गर्छन्। ‘अब साना पार्टीले देश चल्दैन। कि कांग्रेसमा जाने कि एमालेमा। नभए राजनीतिक यात्रा सम्भव छैन।’

राई गएको आमनिर्वाचनपछि एमाले प्रवेश गरेका हुन्। लामो समय राईले अशोकलाई साथ थिए। जसपा नेपालको उपाध्यक्ष रहेकै बेला एमाले प्रवेश गरे। उनी अहिले एमालेको समानुपातिक सांसद छन्। उनी आफूले पनि क्षेत्रीय पार्टीको स्पेस नदेखेको सुनाउँछन्।

यता अजम्बर राई काङमाङ अशोकमा नेतृत्व क्षमता अघि बढाउन खास सम्भावना देख्दैनन्। उनी पनि अशोकसँगै लामो समय सहयात्रा गरेका नेता हुन्। उपेन्द्रसँग एकतापछि अजम्बरले साथ छाडेका हुन्। उनी अहिले माओवादीमा छन्। ‘उहाँ एमाले प्रवेश गर्दा उचित हुन्छ। कम्युनिस्टप्रति झुकाव पनि छ,’ एमाले नेता हेमराज राई भन्छन्। यसपटक अशोकले मत पनि सुनसरीमा एमालेकै सहयोगले जितेका छन्। सुनसरी १ बाट अशोकलाई चुनाव जिताउन एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ मतदाताकहाँ पुगेका थिए। एमाले छाडेपछि पहिलो पल्ट अशोकले प्रत्यक्षतर्फ चुनाव जितेका हुन्।

यही कारण अशोक लामो समय एक्लै नरहने र एमालेमै समाहित हुने राजनीतिक विश्लेषक डम्बर खतिवडा बताउँछन्। ‘अशोकले पार्टी हाँक्ने सम्भावनै छैन। उनी पहिले फेलियर हुन्’, खतिवडा भन्छन्, ‘उनी एमालेमै जान्छन्।’ खतिवडा अशोकको पार्टी विभाजनमा पनि ओलीको हात रहेकाले उनी एमालेमै समाहित हुने दाबी गर्छन्।

पहिचानविरोधीको आरोप

कुनै बेला पहिचान पक्षधरका खम्बा मानिने अशोकलाई अहिले भने पहिचानविरोधीको आरोप लगाइँदैछ। उनी पहिचानको सच्चा पक्षधर नभएको आरोप लाग्ने गरेको छ।

यो आरोप लगाउने अरू कोही नभई उनकै पुराना सहयात्री डा. महेन्द्र लावती, खगेन्द्र माखिमलगायत हुन्। उनीहरू ‘पहिचानवादी मोर्चा’ खडा गर्ने र पूर्वी क्षेत्रमा संगठन विस्तार गर्ने पक्षमा लागेका छन्।

यो समूहलाई इलाम–२ मा पहिचान पक्षधरबाट स्वतन्त्र रूपमा लडेका डकेन्द्रसिंह थेगिमको समेत समर्थन रहेको दाबी छ। हालै सम्पन्न उपनिर्वाचनमा यो समूहले मुढा समूहलाई सहयोग गरेको थियो। पहिचानवादी मोर्चाका कारण अशोकका कार्यकर्ता तान्ने निश्चित छ।  ‘उहाँ भोलि एमालेमा जाने सम्भावना पनि छ। हामी पहिचान मर्न दिँदैनौँ। यही कारण मोर्चा खडा गरेका हौँ’, मोर्चाका एक नेताले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast