बागलुङपानी–भुजुङ सडक स्तरोन्नति हुँदै

हिमाल प्रेस ३० वैशाख २०८१ १३:५५
72
SHARES
बागलुङपानी–भुजुङ सडक स्तरोन्नति हुँदै प्रतिनिधिमुलक तस्बिर

लमजुङ- लमजुङको बेँशीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडकखण्डमा स्तरोन्नतिका काम सुरूभएका छन्। यस सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ३ घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म काम सुरूभइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ।

कार्यालय प्रमुख इञ्जीनीयर विवेक सिग्देलले सडकअन्तर्गत घलेगाउँसम्म १० किलोमिटरमा कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटरमा ग्राभेल गर्ने काम भइरहेका जानकारी दिए। ठेकेदारको लापरबाहीका कारण वर्षौदेखि अलपत्र रहेको सो सडकमा गत माघ महिनादेखि काम अगाडि बढेको र हाल कालोपत्रलगायतका काम भइरहेका उनको भनाइ छ।

कार्यालयका अनुसार घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडक ग्राभेल गर्ने गरी कान्छाराम–नाना जेभीसँग विसं २०७६ असोज ३० गते सम्झौता भएको थियो। विसंं २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने भनिए पनि विभिन्न कारणले सोसम्बन्धी कार्य अधुरै थिए।

अन्तिमपटकका लागि विसं. २०८० चैत २२ गते पुनः म्याद थप भई आगामी असोजसम्म कार्यसम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इञ्जीनीयर सिग्देलले बताए।

सडक कालोपत्रे तथा ग्राभेलका लागि रु ३४ करोड ७७ लाख १४ हजार चार सय १० मा सम्झौता भएको सो योजनामा हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको र रु बीस करोड ४० लाख खर्च भइसकेको सिग्देलले जानकारी दिए।

क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पटक पटकको प्रयासपछि सडकको काम सुरूभएको र सडक निर्माणपछि घलेगाउँ तथा भुजुङमा सञ्चालित घरबासमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भई आर्थिक क्रियाकलापमा समेत बढोत्तरी हुने अपेक्षा गरिएको बताए। रासस

प्रकाशित: ३० वैशाख २०८१ १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =