ओलीले नचाहँदा अप्ठ्यारोमा मुख्यमन्त्री सोडारी

किरण पौडेल ३० वैशाख २०८१ १०:२३
16
SHARES
ओलीले नचाहँदा अप्ठ्यारोमा मुख्यमन्त्री सोडारी

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिन सकेका छैनन्। संविधानतः मुख्यमन्त्री बनेको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने प्रावधान छ।

वैशाख ६ गते मुख्यमन्त्री बनेका सोडारीले कहिले विश्वासको मत लिन्छन् कुनै टुंगो छैन। हुन त उनले विश्वासको मत लिने प्रक्रिया नथालेका होइनन् तर सत्ता गठबन्धनका दलहरूबीचको असमझदारीले विश्वासको मत लिने मिति धकेलिएको छ।

सोडारीले वैशाख २१ मा विश्वासको मत लिन प्रदेशसभाको बैठक आह्वान गर्न अनुरोध गरेका थिए। सत्ता साझेदार दल नेकपा एमालेले विश्वासको मत नदिने बताएपछि एकाएक बैठक स्थगित गरिएको थियो।

‘हामीले विश्वासको मत लिन चाहेका थियौँ तर एमाले सहमत भएन’, सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं एकीकृत समाजवादीका नेता नरेशकुमार शाही भन्छन्, ‘एमालेले विश्वासको मत नदिने भनेपछि बैठक स्थगित गरियो।’

एमालेले बझाङ १ को प्रदेशसभा निर्वाचनका कारण तत्काल विश्वासको मत लिने प्रक्रिया स्थगित गर्न आग्रह गरेको थियो। बझाङमा सबै दलले छुट्टाछुट्टै उम्मेदवार उठाएका थिए। एमालेका दमन भण्डारीले चुनाव जिते।

सोडारीलाई मुख्यमन्त्री नियुक्ति गर्न एमाले सहमत थिएन। केन्द्रमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री भाग लगाउँदा सुदूरपश्चिम प¥यो। सहमति नै पालना नगरी एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति (नाउपा)लाई मुख्यमन्त्री दिने निर्णय गरे।

नाउपाभित्रको विवादका कारण दुईजना नेताले मुख्यमन्त्रीमा दाबी गरे। नाउपा अध्यक्ष रन्जिता श्रेष्ठका तर्फबाट कैलाश चौधरी र नाउपा संरक्षक रेशम चौधरीका तर्फबाट लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीले दाबी गरेका थिए। रन्जिता निकट कैलाशलाई एमाले–माओवादीले समर्थन गरे भने रेशम निकट लक्ष्मणकिशोरलाई एकीकृत समाजवादी–कांग्रेसले समर्थन गरे। दुवैमा दाबी पेसका लागि संख्या नपुगेपछि प्रदेश प्रमुखले खारेज गरिदिए।

समाजवादीले विद्रोह गर्ने धम्की दियो। एमाले–माओवादीले समाजवादीलाई मुख्यमन्त्री उठाउन अनुरोध गरे। ‘हामीले एमाले–माओवादीसँगको सहमतिमै मुख्यमन्त्री उठाएका हौँ। अहिले एमालेले नै कचिंगल निकाल्यो’, समाजवादीका शाही भन्छन्।

एमालेले सोडारीलाई मुख्यमन्त्री बन्न ‘अनैतिक’ रहेको बतायो। एमाले अध्यक्ष केपी शर्मा ओली नरेश शाहीलाई मुख्यमन्त्री बनाउन चाहन्थे। समाजवादीले सोडारीलाई नै अघि बढायो।

‘हामी उहाँ(ओली)ले भनेको मान्न उहाँहरूको सहायक कार्यालय होइनौँ,’ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भनेका थिए, ‘हामीलाई अब ओलीले भनेको कुरा मान्नुपर्छ भन्ने छैन।’

मुख्यमन्त्रीमा दाबी पेस गर्न जाँदा साथ दिएको एमालेले त्यसपछि भने विभिन्न बहाना निकालिरहेको समाजवादीका नेताहरुको आरोप छ।

सोडारीलाई विश्वासको मत दिने÷नदिने निर्णय लिन एमालेका नेताहरू काठमाडौँ आएका थिए। वैशाख २३ मा काठमाडौँ आएका सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई ओलीले विश्वासको मतका लागि हतार नगर्न निर्देशन दिएका थिए। ‘हामीले अध्यक्षज्यू (ओली)सँग यसबारे कुरा ग¥यौँ। तत्काल हतार नगर्नुपर्ने बताउनुभयो,’ रावलले भनेका थिए।

पछिल्ला दिनमा सुदूरपश्चिममा विश्वासको मत लिनेबारे छलफल हुन छाडेको सांसदहरू बताउँछन्। ‘हामीलाई यसबारे थाहा छैन। सायद दलको नेतालाई थाहा होला,’ एमाले सांसद निर्मलादेवी साउद भन्छिन्, ‘उहाँ(दलका नेता)हरू काठमाडौँ गएर आउनु भा छ।’ यसबारे समाजवादी र माओवादीकै सांसद पनि अलमलमा छन्।

कांग्रेसको आसले मुख्यमन्त्रीमा दाबी, अहिले गठबन्धनमै भर

समाजवादीले मुख्यमन्त्री दाबी गर्दा प्रस्ट बताएको थियो, एमाले–माओवादीले विश्वासको मत नदिए कांग्रेसले दिनेछ। कांग्रेसले पनि समाजवादीको यो कुरालाई सकारात्मक रूपमा लिएको थियो।

एमाले–माओवादीसँग समाजवादी टाढिने आसले पनि कांग्रेसले विश्वासको मत दिन चाहेको थियो। यसअघि नाउपाको रेशमपक्ष लक्ष्मणकिशोर मुख्यमन्त्री दाबी गर्न जाँदा पनि कांग्रेस–समाजवादीले साथ दिएका थिए।

अहिले परिस्थिति बदलिएको छ। केन्द्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालको फुटका कारण समाजवादी सत्ता गठबन्धनमै रहने निर्णयमा पुगेको छ।

गठबन्धनको विरोधमा उत्रिएका समाजवादीका शीर्ष नेता अहिले गठबन्धन बचाउनमा लागेका छन्। पार्टी फुटमा जाने सम्भावना कम गर्न समाजवादी गठबन्धनमै रहन चाहन्छ। यो निर्णयपछि समाजवादीसँग कांग्रेस टाढिएको छ।

समाजवादीले कांग्रेसबाट विश्वासको मत लिने प्रयत्न गरे फेरि गठबन्धनबाट समाजवादी निकालिने सम्भावना छ। यही कारण अब सोडारी अन्य जोखिम लिन चाहँदैनन्। अब सोडारीले कुनै पनि हालतमा एमाले–माओवादीकै मत लिन आवश्यक छ।

किन सोडारी चाहँदैनन् ओली?

सुदूरपश्चिममा एमाले कमजोर छ। १९ सिटसहित कांग्रेस पहिलो बन्दा एमाले ११ सिट जितेर तेस्रो बनेको छ। एकीकृत समाजवादीको ४ सिट छ। ओलीलाई एमाले कमजोर बन्नुमा समाजवादी कारक रहेको बुझाइ छ।

समाजवादीमा मत बढ्दा र एमाले नेता भीम रावल ‘फ्याक्टर’ निष्कृय बन्दा एमाले कमजोर बनेको उनको निष्कर्ष छ। उनी समाजवादीलाई कमजोर बनाउने रणनीतिमा ओली छन्। यही कारण ओली सोडारीलाई मुख्यमन्त्रीमा देख्न चाहदैनन्।

सोडारी नचाहनुको अर्को विषय भने उनको चरित्र निष्कलंंक नहुनु हो। सोडारी एमालेमै रहँदा पार्टीकै एक महिलासँग विवादमा तानिएका थिए। त्यसबेला अध्यक्ष ओलीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए। सोडारीको मन्त्री पद पनि गएको थियो। ओली त्यही कारण सोडारीलाई ‘अनैतिक’ भन्दै आएका छन्। ओलीले सुदूरपश्चिममा नरेश शाहीलाई मुख्यमन्त्री बनाउन अनुरोध गरेका थिए। सोडारी माधव नेपाल पक्षधर र शाही झलनाथ खनालपक्षधर नेता हुन्।

विश्वासको मत पाउन कति चाहिन्छ संख्या?

सुदूरपश्चिम प्रदेशमा ५३ सांसद छन्। बहुमत पुग्न २७ सांसद पक्षमा उभिनुपर्छ। कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुखबाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र एक सांसद छन्।

एमालेका १० र राप्रपाका एक सांसद छन्। सोडारीले विश्वासको मत पाउन माओवादी, समाजवादी र एमाले एक ठाउँ उभिएर मात्र पनि पुग्दैन। यहाँ नाउपा निर्णायक शक्ति हो। कांग्रेसले साथ दिने हो भने कांग्रेससहित उन्मुक्ति र समाजवादी भए पुग्छ।

प्रकाशित: ३० वैशाख २०८१ १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =