शिक्षा क्षेत्रका सबै समस्या समाधान गर्न शिक्षा ऐन तत्काल ल्याउनुपर्छ : मन्त्री चौधरी

हिमाल प्रेस २९ वैशाख २०८१ २०:०३
64
SHARES
शिक्षा क्षेत्रका सबै समस्या समाधान गर्न शिक्षा ऐन तत्काल ल्याउनुपर्छ : मन्त्री चौधरी

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल ल्याउन आवश्यक रहेको बताएकी छिन्। तीनकुनेस्थित एप्पल इन्टरनेशनल स्कुलले आज आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाइ अपनाउन आग्रह गरिन्। संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उनले अबको शिक्षण सिकाइ बालबालिकामैत्री हुनुपर्ने बताइन्।

‘संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ। केही कुराहरू स्थानीय तहअनुसार फरक–फरक व्यवस्था गर्न पाउने व्यवस्था छ’, उनले भनिन्,‘राज्यको संरचनाअनुसार तीनै तहमा शिक्षाका केही विषय एकखालको हुनुपर्छ। पाठ्यक्रम पनि जीवनोपयोगी, अहिलेको प्रविधिअनुसार हुनुपर्छ। विद्यालय, माध्यमिक विद्यालय स्थानीय तहमै हुने भएकाले केही अधकार स्थानीय तहमै गएको छ। बालबालिका केन्द्रित शिक्षण सिकाइ हुन आवश्यक छ।’

शिक्षण सिकाइ अहिलेको समयसापेक्ष र बालबालिका केन्द्रित बनाउन विद्यालय, परिवार, राज्य सबैको भूमिका रहने उनले बताइन्। ‘शिक्षण सिकाइ बालबालिका केन्द्रित हुनुपर्छ। पाठ्यक्रम त्यसअनुसार बनाउनुपर्छ। त्यसपछि मात्रै बच्चाले राम्रोसँग सिक्न सक्छ। अब हामीले जीवनोपयोगी शिक्षा पनि समावेश गर्न आवश्यक छ’, उनले भनिन्,‘हरेक अभिभावकले शिक्षा र स्वास्थ्य दिन चाहन्छ। चाहे जस्तोसुकै आर्थिक अवस्थाको अभिभावक होस् तर उसले आफ्नो बच्चाको शिक्षा र स्वास्थ्य जसरी हुन्छ राम्रै दिन चाहन्छ। त्यसैले हामी सबैले कसरी हुन्छ बालबालिकालाई राम्रो शिक्षा दिन आवश्यक छ।’

सरकारी विद्यालयको स्तर खस्किएको सन्दर्भमा अहिले धेरै गुनासो आएको भन्दै उनले विद्यालयमा राजनीतिकरण भएका कारण समस्या उत्पन्न भएको हुनसक्ने बताइन्।

‘सरकारी विद्यालयको स्तर खस्किएको छ। शिक्षामन्त्रीले विद्यालयमा राजनीतिकरण भएका कारण समस्या भएको भन्नुभएको छ। अलिकति राजनीतिकरण बढी भएर त्यस्तो समस्या भएको पनि हुनसक्छ। सरकारी स्कुलमा केही न केही बेथिति छन्। त्यसलाई हामी सबैले सच्याउनुपर्छ।’

बच्चालाई राम्रो शिक्षा दिलाउनका निम्ति शिक्षक, विद्यालय र परिवार सबैको महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले बच्चालाई सिकाउने पहिलो विद्यालय आफ्नै घर भएकाले घरमा पनि विशेष ध्यान दिनुपर्ने बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =