काठमाडौँ- समकालीन नेतामध्ये सबैभन्दा बढी राजनीतिक उतारचढाव खेप्नेमा पर्छन् उपेन्द्र यादव। सत्ता फेरबदलको अंकगणितका लागि अहिले उनको पार्टी विभाजन भएको छ। उनका पार्टीका अधिकांश सांसदसहित नेताहरू अलग्गै लागेका छन्।
जसपाका संघीय परिषद् अध्यक्षसहित ३१ जनाले उनको पार्टी फुटाए। संयोग नै मान्नुपर्छ उपप्रधान एवं स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका उनी विदेशमा रहँदा पार्टी दुई कित्तामा विभाजित भयो।
अब उनले कार्यकारिणी अध्यक्षको जिम्मेवारी दिएर पार्टीको साँचो बुझाएका नेता उनीसँग रहेनन्। उपेन्द्रले कार्यकारिणी अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिएका थिए। श्रेष्ठ पार्टीबाट अलग भएर अन्यत्र लागेका छन्। पार्टी विभाजनका परकम्प केन्द्रमा मात्र नभई प्रदेशमा समेत देखिएको छ। मधेश प्रदेशमा सबै सांसद उनीसँग रहेनन्। मधेशमा उपेन्द्रको प्रभाव बढी रहेको मानिन्छ।
यस्तो अनेक समस्या हुँदा पनि उपेन्द्र सत्ता नछाड्ने पक्षमा छन्। पार्टी फुटेको मुख्य कारक सत्ता हो भन्ने उनी जानकार छन्।
जसपाका अशोक राई समूहका नेता राजेन्द्र श्रेष्ठले उपेन्द्रले वैकल्पिक सरकार बनाउन खोजेपछि अलग भएको बताएका छन्। ‘हामी स्थिरता चाहन्छौँ। तर उपेन्द्र यसको विकल्पमा सोच्दैछन्,’ श्रेष्ठ भन्छन्, ‘हामीले सत्ता समीकरण नबदल्न विभाजन रोज्याैँ।’
श्रेष्ठका अनुसार उपेन्द्र वैकल्पिक गठबन्धन बनाएर सत्ता फेर्ने पक्षमा थिए। त्यो योजना सफल हुन नदिन पार्टी विभाजन गरिएको थियो।
यसमा सत्ता समीकरणका शीर्ष नेताको पनि भूमिका रहेको स्पष्ट हुन थालेको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोमबार ताप्लेजुङ पुगेर जसपाबाट राई पक्षले गरेको विद्रोह सकारात्मक रहेको बताए। सत्ताको सबैभन्दा ठूलो घटक नेकपा एमालेका महासचिव पोखरेलले यसो भनेबाटै पनि सत्तापक्षको जसपा फुटमा समर्थन÷सहयोग थियो भन्ने बुझिन्छ। यसबारे उपेन्द्र यसबारे खुलेका छैनन्। उनले आफूबाट फुटेर गएकालाई ‘अतृप्तआत्मा’ मात्र भनेर टिप्पणी गरेका छन्।
यादव काठमाडौँ उत्रिनेबित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पुगेका थिए। ‘प्रधानमन्त्रीले पार्टी विभाजन गलत भयो भन्नुभयो। मिलेर अघि बढ्न जोड दिनुभयो,’ उपेन्द्रले पत्रकार सम्मेलनमा भने।
उपेन्द्रले अब पनि सत्तामै रहने संकेत गरेका छन्। ‘हामी सरकारलाई अस्थिर बनाउन चाहँदैनौँ। हाम्रा कारण सरकार सरकार परिवर्तन हुँदैन’, उनले भनेका छन्। पार्टी विभाजन भएर बहुसंख्यक सांसद भने अशोक राई नेतृत्वतर्फ गएका छन्।
जोखिम मोलेर सांसद, जबरजस्ती मन्त्री
पछिल्लो समय उपेन्द्रको राजनीतिक जीवन तुलानात्मक रूपमा सकसमै बितिरहेको छ। निरन्तर जितिरहने उपेन्द्र आमनिर्वाचन २०७९ पराजित भए। सप्तरी २ बाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित हुन नसकेपछि उनले संसद् छिर्न निकै तिकडम गरे। कांग्रेस–माओवादी गठबन्धनमा गएका उनलर आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन दबाब दिए।
जसपाका पुराना नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा पठाए। यादव बारा–२ बाट निर्वाचित सांसद थिए। उनलाई उपराष्ट्रपति बनाएर उपेन्द्र बारा–२ बाट उपनिर्वाचनमार्फत संसद् प्रवेश गर्न सफल भए। संसदीय दलको नेता समेत बने। यति मात्र होइन, सरकारमा समेत सामेल भए। उनी मन्त्री हुने बेलामा पार्टीभित्र धेरै आकांक्षी थिए।
अशोक राई आफै मन्त्री दोहोरिन चाहन्थे भने प्रदीप यादव पनि मन्त्री बन्न खोज्थे। तर उपेन्द्रले कसैलाई पनि सुनेनन्, ‘हाम्रो भनाइ सुनिएन। मन्त्रीका लागि पार्टीमा खास छलफल पनि गरिएन,’ जसपाका नेता अशोक राईले भने,‘पार्टीभित्र छलफल नभएकै कारण बिद्रोह गर्नुप¥यो।’
जसपाको घट्दो शक्ति
मधेश आन्दोलनबाट उदाएका पात्र हुन् उपेन्द्र यादव। तत्कालीन मधेश जनअधिकार फोरमको अध्यक्ष हुँदै उनी राजनीतिमा शक्तिशाली पाइला राखेका हुन्। पछिल्ला दिनमा उपेन्द्रको शक्ति निरन्तर घटिरहेको छ। यो कुरा उपेन्द्र आफँै पनि स्वीकार्छन्।
‘हामी पटकपटक विभाजित भयौ। नेपालका कम्युनिस्ट जस्तै बन्यौँ,’ उपेन्द्रले पत्रकार सम्मेलनमा भनेका छन्। जसपाबाट विद्रोह गरेका नेता अशोक राई उपेन्द्रको पार्टीले बारम्बार गरी अहिलेसम्म ६ पटक विभाजन भोगेको बताउँछन्।
उपेन्द्र कतिसम्म राजनीतिक खेलाडी हुन् भने पहिलोपटक पार्टीले संसदीय यात्रा गर्दा नै शक्तिशाली पद उपराष्ट्रपति दिलाएका हुन्। उनको पार्टीका परमानन्द झा पहिलो उपराष्ट्रपति बनेका थिए।
उपेन्द्रले बारम्बार पार्टीहरू एकता गरे तर त्यो भन्दा बढी विभाजन पनि गरे। उपेन्द्रसँग विजयकुमार गच्छदार, शरतसिंह भण्डारी, जेपी गुप्ता, महन्थ ठाकुर, डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, रामेश्वर राय यादवहरूसँगै रहे। उपेन्द्रको शैलीकै कारण उनीहरू बाहिरिए।
‘उपेन्द्र हेर्दा राम्रो स्वाभावको देखिनुहुन्छ। तर उहाँले महत्त्वपूर्ण निर्णय लिँदा कहिल्यै पनि अरूलाई सुनाउनुहुन्न,’ उपेन्द्रका पुराना सहयात्री डम्बर खतिवडा भन्छन्,‘यही शैलीले उनलाई धेरैले छाडेका हुन्।’ मधेशी जनअधिकार फोरम मात्र रहँदा उनलाई मधेशको मात्र नेता भएको आरोप लाग्यो त्यही कारण तत्कालीन संघीय समाजवादी पार्टीसँग एकता गरे।
समाजवादीका अध्यक्ष अशोक राई पनि पार्टी हाक्न नसक्ने अवस्थामा भएका बेला दुवैले एकता गरे। यादवले त्यसपछि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)सँग एकता गरे। त्यस बेला भने उनी शक्तिशाली मधेशवादी दलका नेता बने।
२०६४ सालको पहिलो संविधासभामै मधेशी जनअधिकार फोरमले प्रत्यक्षमा ३० र समानुपातिकमा २२ गरी जम्मा ५२ सिट जितेको थियो।
उसले समानुपातिक तर्फ ६ लाख ७८ हजार ३ सय २७ मत प्राप्त गरेको थियो। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा २ वटा प्रत्यक्ष र समानुपातिकामा ८ वटा जितेका थिए।
अहिले जसपाले जम्मा १३ सिट जितेको छ। जसमध्ये पनि ७ सिट राईपक्षले लगेको छ। यसरी बारम्बार विभाजनले उपेन्द्रको पार्टी खुम्चिएको छ। तर उनी निरन्तर सत्तामा छन्। उनी अहिले मधेश प्रदेशको सत्ता जोगाउनका लागि पनि केन्द्रीय सत्तामा निरन्तर निर्णयमा लागेको उनी निकट नेताहरू सुनाउँछन्।
यादव निकट नेताहरूसँग आफूहरू सत्तामा रहिरहु नै उपलब्धी मान्ने गरेका छन्। ‘हामी मधेशबाट आएका हौँ। हामी सत्तामा रहनु भनेको मधेशीले हिस्सा लिनु हो’, उपेन्द्रले भन्ने गरेका छन्,‘हामी छुट्नु हो भने त्यो सत्ता मधेशविरोधीले खान्छ।’ उपेन्द्रले अहिले पनि उपराष्ट्रपतिमा आफ्नै नेतालाई पठाएका छन् भने आफू सत्तामै छन्। यता मधेशमा पनि सत्ता नछाड्ने निछोडमा पुगिसकेका छन्।
छैन ‘घाटा’ महसुस
जसपा महाधिवेशनको संघारमा छ। आउँदो जेठ २७ देखि वीरगन्जमा पार्टी महाधिवेशन हुँदैछ। पार्टी नेतृत्वमा पुगेपछि पहिलो पल्ट उपेन्द्रले महाधिवेशन ‘फेस’ गर्दैछन्। तर उनले यसलाई कुनै ठूलो कुरा मानेका छैनन्। उनको प्रभाव क्षेत्र मानिएको मधेश प्रदेशकै सांसद पनि सबै उनीसँग रहेनन्।
जसपाका मधेशका १९ सांसदमध्ये ३ सांसद इतरपक्षमा खुलेका छन्। यता, लुम्बिनी प्रदेशमा भने जसपाका सबै सांसद इतरपक्षमा खुलेका छन्। जसपाका ३ सांसद रहेकामा सबै इतरपक्षमा खुलेका छन्। यता कोशीमा रहेकी एक सांसद अहिलेसम्म खुलेकी छैनन्। वीरगन्जका नगर प्रमुख राजेन्द्रमान सिंह पनि इतरपक्षमा खुलेका छन्।
अहिले निर्वाचन आयोगले नयाँ जसपामा खुल्न जनप्रतिनिधिलाई समय दिएको छ। यसले उपेन्द्रलाई असर गर्ने निश्चित छ। तर उपेन्द्रले महसुस गरेका छैनन्। ‘हामीबाट जो फुटेर जानुभयो। उहाँहरूको राजनीतिक दिशा छैन। उहाँहरू अवसरवादी हो,’ उपेन्द्रले भनेका छन्। अरूलाई यसो भनिरहँदा आफ्नो विषयमा भने उपेन्द्र मौन छन्।