काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुसँगै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेको छ।
जसको प्रभावस्वरूप यतिबेला (शनिबार बिहान) देशभर आंशिक देखि साधारणतया बदलीको अवस्था छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानमा दिउँसो पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ।