काठमाडौँ– सुनकोशी मरिण डाइभर्सनको सुरुङमार्ग आज ब्रेक थ्रु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सुरुङमार्गको ब्रेक थ्रु गदै यस आयोजनाको काम समय सक्नसमेत निर्देशन दिएका छन्।
२०७९ असोज २८ गते सुरु भएको आयोजनाको सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएको आयोजनाले जनाएको छ। सुनकोशी–मरिण डाइभर्सनको कुल लम्बाइ १३.३ किलोमिटर रहेको सुरुङमार्ग १९ महिनामा काम सम्पन्न भएको आयोजनाले जनाएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते सुनकोशी मरिण डाइभर्सनको शिलान्यास गरेका थिए। सुरुङ निर्माण समय २ वर्ष लाग्ने भने पनि १९ महिनामै काम सकिन लागेको आयोजना प्रमुख मित्र बरालले जानकारी दिए। सबै काम सकिए पनि सञ्चालनमा आउन एक बर्षजति कुनुपर्ने उनले बताए। ‘भौगोलिक समस्या भएका कारण ब्रेक थ्रु गर्न १९ महिना लागेको हो। नत्र पहिले नै सकिने योजना थियो। सबै काम सकिएको छ। केही प्रविधिक परीक्षण र अन्य काम बाँकी छन्’ उनले भने।
२०८४ असोजमा यो आयोजना पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य भए पनि २०८२ भित्र काम सम्पन्न हुने उनको भनाइ छ। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३.३ किलोमिटर लामो सुरूङमार्फत मरिण नदीमा खसाली बागमती नदी हुँदै बागमती सिंचाइ आयोजनामा लागि प्रयोग हुने आयोजनाले जनाएको छ।
सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारस्थित मरिण खोलामा झारेर बाग्मती सिंचाइ आयोजनाको पूर्वाधारमार्फत तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिंचाई हुने आयोजनाले जनाएको छ। यस आयोजनाले धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिचाई हुनेछ।
सुनकोशी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीलाई मरिण खोलामा झारिने छ। आयोजनाले सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत उत्पादन समेत हुने जनाएको छ। विद्युत प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेका कारण अन्य केही समस्या नआउने आयोजना प्रमुख बरालले जानकारी दिए।
निर्माण व्यवसायीको कमजोर कारण सुरुङको ब्रेक थ्रुक हुन लागे पनि बाँध तथा विद्युत गृहको काम लक्ष्यअनुसार हुन नसकेको उनको भनाइ छ। एक महिनामै १ हजार २०० मिटर सुरुङ मार्ग खनेर भौगोलिक हिसाबले चुरे पहाड र महाभारत पर्वतमा पर्ने क्षेत्रमा पनि १ महिनामै १.२ किलोमिटर सुरुङ खनेर विश्व रेकर्ड राखेको समेत प्रमुख बराल बताउँछन्। विश्वमा यस्तो भौगोलिक ठाउँ भएको स्थानमा यसरी सुरुङ खनिएको छ वा छैन भनेर अनुसन्धान भइरहेको छ। यसका लागि विश्वका ठूला आयोजनाहरूको निर्माण रेकड समेत अध्ययन गरिरहेको उनले बताए।
‘सुरुङ मार्ग खनेको र विश्व रेकर्डमा नाम राख्नपहल भइरहेको छ। तर अहिले विश्व रेकर्ड हो भन्ने भन्दा पनि अध्ययन भइरहेको छ’ उनले भने। आयोजनाको प्रारम्भिक लागत ४६ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएपनि पछि लागत खर्च बढेर ४९ अर्ब ४२ करोड पुगेको थियो। सुरुङको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरेको थियो। सुरुङ निमार्णका लागि मात्र ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का चिनियाँ कम्पनीले पाएको आयोजनाले जनाएको छ।
हालसम्म आयोजनामा १३ अर्ब खर्च भएको छ र ३० प्रतिशत भौतिक प्रगति भएको छ। गत आवमा ५ अर्ब ४१ करोड खर्च भएको थियो। बाँध तथा विद्युत गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको थियो। यी कम्पनीले काम गर्ने ढिलाइ गरिरहेको आयोजनाले जनाएको छ।
सुनकोशी–मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बीपी राजमार्गको केही भाग प्रभावित हुने भएका कारण राजमार्गलाई ९ सय मिटर ‘डाइभर्सन’ गर्नुपर्ने आयोजनाले जनाएको छ। यसका लागि केही बजेट थप्नुपर्ने आवश्यक रहेको आयोजनाले जनाएको छ।