सन्तानका लागि आमा दुःख बिर्सने छहारीजस्तै हो। त्यसैले त आमा शब्द सुन्दैमा हरेक व्यक्ति भावुक हुन्छ। आमा जन्मदाता हुन्। अभिभावक हुन्। साथी हुन्। पथप्रदर्शक हुन्। गुरु हुन्, जसले तातेताते भनेर हिँड्न मात्रै सिकाउन्नन् सहनशील बन्न पनि सिकाउँछिन्। सिर्जनाकी स्रोत आमा व्यक्तिका लागि सबैथोक हुन्।
शब्द नै कति प्रिय छ आमा। सायद यो शब्द सबै प्राणीका लागि उत्तिकै प्यारो लाग्छ। आमाको ममता हरेक जीवले पाए पनि शब्दमा व्यक्त गर्न सामथ्र्य भने मान्छेसँग मात्रै छ।
सँगै रहँदा मानिसले महत्त्व बुझ्दैन। जब आफ्नो घर छोडी टाढा बसेको हुन्छ तब आफ्नी आमाले गरेको माया सम्झन थाल्छ। त्यतिबेला उसलाई आमाको धेरै याद आउन थाल्छ।
व्यक्तिले दुःख पाएपछि आमाको महत्त्व बुझ्न थाल्छ। किनभने आमाले हरेक सन्तानका लागि ज्यानै दिएकी हुन्छिन्। दुःख पाएपछि जसले पनि आमाको यादमा आफूलाई निकै कमजोर महसुस गर्दछ।
परिवारका अन्य सदस्यसँग भन्दा आमासँग हाँस्न मात्रै होइन, रुन पनि सजिलो हुन्छ। स्वाभाविक हुन्छ। आमा यस्ती साथी हुन् जसले दुःखसुखमा साथ दिन्छिन्। हो, त्यही साथी हुन् मेरी आमा!
मेरी आमा धेरै पीडामा हुँदा पनि आफ्नो दुःख कसैलाई नभनी एक्लै रुनु हुन्छ। यसको तात्पर्य हो उहाँ धर्तीझैँ सहनशील हुनुहुन्छ।
आमा आफूले जस्तो दुःख सन्तानले नपाऊन् भनेर दिनरात काममा जोतिनुहुन्छ। आफूले गरेको सास्ती सन्तानलाई देखाउन चाहनुहुन्छ। अनि कष्ट व्यक्त गर्नु हुन्न। दुःख लुकाउन राति पनि चाँडै निदाउने प्रयास गर्नुहुन्छ। सन्तान जतिसुकै ठूलो होस्, यसो कतै गएका बेला आमाले सोध्नुहुन्छ, तैँले के खाइस्? भोकै त छैनस्?
यति हुँदाहुँदै पनि आमाको मुहारमा दुःखको कुनै अंश देखिँदैन। सन्तान अगाडि देखेपछि उहाँ त्यत्तिकै खुसी देखिनुहुन्छ। अनि मलाई पनि आफ्ना सबै दुःख शान्त भएको अनुभूति हुन्छ आमाको अगाडि परेपछि। त्यसैले मैले आमालाई स्रष्टा मात्रै होइन, सृष्टिको अमूल्य उपहारका रुपमा लिएकी छु।
कुनै समय म रिसाउँछु। कराउन थाल्छु। त्यति बेला मेरी आमाको मिठो र मन्द आवाज सुन्छु। अनि मेरी आमाले मायाले भरिएका शब्दहरुसँगै हराउन थाल्छ मेरो रिस। जब म शान्त हुन्छु तब पछि फेरि उहाँ भन्नुहुन्छ, यसरी रिसाउनु हुँदैन। सबै भुल्नु तर आफ्नो रिस कसैलाई नदेखाउनु। आमाले सिकाएको मन्त्र हो यो। आमाले दिने सल्लाह हो, सबैसँग हाँसीखुसी रहन सक्नुपर्छ। मेरी आमाले मात्रै होइन हरेक आमाले भन्ने कुरा यही हो। त्यसैले मेरी आमा संसारमा खोजेर पनि भेटिँदैन।
आफ्नो मुटुको टुक्रालाई कहिले पढाइको क्रममा र कहिले जागिरको क्रममा आमाले छाडिदिनुहुन्छ। त्यति मात्रै होइन, छोरीलाई पराईघरमा पठाउन पनि आमाको हृदयले हिम्मत गरेको हुन्छ।
आमाको माया पनि चाहिने अनि जागिर पनि खानुपर्ने विवशता छ हाम्रो। भाग्यले सबैलाई दुवै कुरा नदिने भएकाले आमाको काख छाड्न बाध्य हुनुपर्छ हामी। छोरालाई पनि जीवनसाथी खोजिदिँदा आमाको मनमा विशेष प्रकारको उल्लास देखिन्छ। त्यसपछि छोरी ज्वाइँसँग पुग्छिन् भने छोरा बुहारीसँग। अझ छोरी भएर जन्म लिएपछि अर्काको घरमा जानुपर्ने। अरूसँगै रमाउनुपर्ने।
छोरी जबसम्म आमाको काखमा हुन्छे तबसम्म उसलाई अरु कोही कसैको पनि वास्ता हुँदैन। पराई घरमा गएपछि छोरी त्यतै रमाउन थाल्छे। छोरोले पनि विवाहपछि आफ्नी पत्नीसँग रमाउन थाल्छ। उसलाई आमाको वास्ता हुँदैन। अनि आमाका फेरि दुःखका दिन सुरु हुन थाल्छन्। हाम्रो समाजले भोगिरहेको यथार्थ यही यो।
आमा बिस्तारै एक्लो अनुभूति गर्न थाल्छिन्। आमाले सबै छोराछोरीलाई सम्झन थाल्छिन्। यो दुनियाँले नै एक्लो बनाए पनि मचाहिँ मेरी आमालाई कहिल्यै एक्लो हुन दिने छैन। हामी सानो छँदा आफुले नखाएर, नलगाएर पनि हामीलाई कुनै चिजको कमी हुन नदिने मेरी आमा। संसार निदाउँदा पनि आफू ननिदाएर छोराछोरीको खाल गर्दै रमाउने मेरी आमालाई सकेसम्म खुसी राख्नेछु।
एउटा नारी छोरीपछि बुहारी हुन्छे। त्यसपछि उसले आफ्नो जन्मघर छोडेर अरुको परिवारको सदस्य बन्छे। त्यहीँ घुलमिल हुन्छे। एक दिन त्यही बुहारी आमा बन्ने अवस्थामा पुग्छे। अनि ऊ कल्पनामै रमाउन थालेकी हुन्छे। आमा भइसकेपछि जन्मघरको आँगन बिर्सिएर आफ्नै घरमा रत्तिन थाल्छे। कल्पनामा मात्र रमाउन थालेकी नारी आमा बनेपछि सबै कुरा बिर्सिन थाल्छे। उसलाई अब यतिमात्र याद आउँछ, त्यो हो आफ्नो सन्तान। उसले सबै कुरा सन्तानमा मात्र देख्न थाल्छे। हो, यसरी हरेक नारीको जीवनचक्र यसरी नै चलिरहेको हुन्छ।
सन्तानको अनुहार हेरेर आफ्नो दुःख बिर्सिने भनेकै मेरी आमा हुन्। उहाँको बयान कसरी गर्न सकिन्छ र? मसँग त कुनै शब्द छैन। जति गुणगान गरे पनि कम हुन्छ। मेरी आमाको सपना पूरा गर्ने लक्ष्य छ मेरो पनि। मैले मेरी आमालाई केही दिन नसके पनि आमाको शिर झुक्न भने कहिल्यै दिने छैन। मेरी आमा सन्तानको खुसी भनेपछि सबै कुरा बिर्सिनुहुन्छ। आमा सबै छोडेर आफू एक्लो भएर पनि आफ्नो सन्तानका लागि बाँच्न सक्ने हिम्मत मेरी आमासँग मात्रै छ। त्यसैले उहाँको त्यो साहसलाई कसले पो बिर्सिएला र?
भनिन्छ आमाको माया अपरम्पार छ। हामी आमालाई जिउँदो भगवान्का रुपमा श्रद्धा गर्छौँ। हामीलाई पूर्वजहरुले त्यही सिकाएका छन्। जसले आमाको सम्मान गर्न सक्छ उसले जीवनमा केही पाउन सक्ला नसक्ला तर आमाको आशीर्वाद पाइरहन्छ। आज आमाको मुख हेर्ने दिन। आमालाई सम्झने विशेष दिन हो आज। आमालाई सम्मान गर्न, उहाँलाई खुसी राख्न मातृऔँसी नै पर्खनु पर्दैन। वर्षमा ३६४ दिन बिर्सने तर एक दिन मात्रै सम्झनुको कुनै अर्थ छैन। भगवान्रुपी आमासँग टाढा भए पनि दिनमा एकपटक हालखबर सोधौँ, कुराकानी गरौँ। उहाँलाई त्यति भए पुग्छ। संसारका सबै आमाहरूलाई नमन।