मंगलबारदेखि मातातीर्थ मेला, तयारी पूरा

हिमाल प्रेस २४ वैशाख २०८१ २०:५०
50
SHARES
मंगलबारदेखि मातातीर्थ मेला, तयारी पूरा

काठमाडौँ-  प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेलाको सम्पूर्ण तयारी पूरा भएको बताए। उनले मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरी काम गरिएको जानकारी दिए।

मातातीर्थ मेलामा मंगलबार साँझ बत्ती बाल्ने र बत्ती बालेको भोलिपल्ट औँसीका दिन आमाको मुख हेर्ने तथा स्नान गर्ने परम्परा छ। त्यसैले अघिल्लो दिनदेखि सो क्षेत्रमा मेला लाग्ने गर्छ। सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या बढ्दै गएको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताए। उनका अनुसार उक्त कुण्डमा प्रत्येक दिन आठदेखि १० जना श्राद्ध गर्नका लागि आउँछन्।

दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आउनेले गर्दा ठूलो मेला लाग्ने गरेको हो। उनीहरूले मातातीर्थ कुण्डमा स्नान र पूजा गर्ने गर्छन्। मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवंगत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ।

काठमाडौँमा कोठा भाडामा बस्ने र नजिक घर भएका व्यक्ति आमाको श्राद्धका लागि मातातीर्थ कुण्ड आउने पुजारी अधिकारीको भनाइ छ। मातातीर्थ क्षेत्रको एकीकृत विकासका लागि फनपार्क, पिकनिक स्पट र कुण्डभन्दा आठ मिटरमाथि आमाको स्वर्गद्वारी निर्माणको काम समितिले अगाडि बढाएको छ। सोही समितिले स्वर्गद्वारी क्षेत्रमा एक सय १३ फिटको ढुंगाको मूर्ति निर्माण गर्न लागेको छ।

मातातीर्थ क्षेत्रमा असार, साउन र भदौ महिनामा अत्यधिक पानी हुने र चैत, वैशाख, जेठमा पानी सुक्ने भएकाले पानी व्यवस्थापनका लागि ‘रिजर्भ’ ट्यांकी निर्माण गर्नेबारे छलफल भइरहेको अध्यक्ष उदासको भनाइ छ।

प्रकाशित: २४ वैशाख २०८१ २०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast