पोखरा- ‘बाउ हुन सजिलो छैन, बाजे।’ दुःखजेलो गर्दै छोरो हुर्काइरहेकी एकल आमाले निःसन्तान एक बाबुलाई गरेको कटाक्ष हो यो। तैपनि निकै स्वादिलो सुनिन्छ। उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ समाजले बेवास्ता गरेका पात्रलाई पनि टपक्क टिपेर गज्जबको फिल्म बनाउन सकिन्छ भन्ने सत्य सावित गरेको छ।
शुक्रबारदेखि प्रर्दशनमा आएको यो फिल्ममा निःसन्तान बाबुको मनोदशासँगै सन्तान हुर्काउन एकल आमाले गरेको संघर्ष एवं ब्राह्मण–लिम्बूबीच प्रेम देखाउन खोजिएको छ। हेर्दा दुई कथाबस्तु जस्तो लागे पनि फिल्मको राजमार्गमा दुई किनार सँगसँगै बग्छन्। यी अन्तरसम्बन्धित छन्।
शुद्ध दूधमा रक्सी जसरी धुमिलिन्छ त्यस्तै धुमिलिन पुगेको छ फिल्मका मुख्यपात्र–दधिराम पोखरेल (प्रवीण खतिवडा)को जीवन। भैँसी पालेर दूध बेच्ने उनी बाबुको पिण्ड दिने उत्कृट इच्छा पूरा गर्न प्रजनन् क्षमता नहुँदासमेत पटकैपिच्छे श्रीमती भित्राएका छन्।
पहिलो श्रीमती लक्ष्मीलाई घरबाट निकाल्छन् उनलाई विश्वास गरेर आएकी नानीमाया छोडेर जान्छिन्। छिमेकी लिम्बू थरकी एक महिला (मिरुना मगर)सँग उनको आशक्ति सुरु हुन्छ। रक्सी पारेर छोरो पढाउने मिरुना होस् वा उनका छोरा तान्चो (नेनाहाङ राई) लाई सघाउने र पढाउने निहुँमा प्रवीण नजिकिन्छन्। बाहुन, नेवार भित्राएका प्रवीणले फेरि अन्तरजातीय सम्बन्ध अगाडि बढाउन खोज्छन्।
भन्छन्,‘अबदेखि तान्चोकको जिम्मा मेरो भो।’ तर मिरुना प्रतिप्रश्न गर्छिन्, ‘ए है, अर्काको बच्चाको जिम्मा लिने?’ मिरुनाले माने तान्चोलाई छोरो बनाउन तयार प्रवीण फिल्मको अन्त्यतिर प्रेमको परिभाषा बल्ल बुझ्छन्। जबकी बाह्मण समुदायको भइकन उनी मिरुनाको मन जित्न सुँगुरको मासु र रक्सी खान सिकिसकेका थिए। एक रात रक्सीले मात्तिएका उनी मिरुनासँग प्रेममा मदहोश हुन खोज्छन्।
भोलिपल्ट चिया पुर्याउन गएकी मिरुनाको यो संवादले दर्शकलाई भावुक बनाउँछ, ‘प्रेम त मनसँग गर्ने हो, लोग्ने मान्छेहरू त शरीरसँग गर्दा रैछन्। तपाईंलाई पनि यो शरीर भोग्ने इच्छा हो भने भोग्नोस्।’ उनी भन्छिन्, ‘सयवटीको पोइ हुन सजिलो होला तर एउटा प्रेमी हुन त गाह्रो पो छ त। मुखले मायाप्रेम गर्छु भन्न सजिलो, सुँगुरोको मासु खानु, रक्सी खानु सजिलो त हैन। तर आफू जे हो, त्यस्तै जीवनमा भइरहनु पो गाह्रो हो त। सुँगुरको मासु खाँदा, रक्सी खाँदा पत्याउने, नखाँदा नपत्याउने भन्ने पनि हुन्छ?’ मिरुनाको यो संवादले प्रेमको साचो परिभाषा दिन्छ।
उधौलीमा फर्किन्छु भनेर वाचा गरेको श्रीमान् उभौलीमा नफर्केको गुनासो मिरुनाको छ। ७ वर्षअघि श्रीमान् मानाङ (दयाहाङ राई) को नासो बोकेर काठमाडौँमा हराउन आएकी मिरुना उपत्यकाको काँठ परिवेशमा छोराको लागि संघर्ष गर्ने पात्र हुन्।
त्यत्तिकैमा छिमेकी प्रवीणसँग नजिक सम्बन्ध हुन्छ। श्रीमती नानीमाया (मेनुका प्रधान) को रिसरागबीच पनि प्रवीण मिरुनाको लागि जे पनि गर्न तयार हुन्छन्। मिरुना एउटा दयालु छिमेकी पाएर खुसी भएकोमा प्रवीण अरु लोग्ने मान्छेजस्तै ‘रोगी’ निस्केको भन्दै गुनासो गर्छिन्।
कहिलेकाहीँ छोरी मान्छे भाकोमा घिन लागेर र रिस उठेर आउने गरेको कटु यथार्थ पोख्छिन्। श्रीमतीको खोजीमा काठमाडौँका गल्ली गल्लीमा ‘महिला हराएको सूचना’टाँस्न व्यस्त हुने दयाहाङलाई सडक दुर्घटनाले छोरा एउटै अस्पतालमा मिलन गराउँछ। ‘हाम्रो छोरा,’ लामो समयपछिको पहिलो भेटमा मुस्कुराउँदै मिरुना बोल्छिन्। र, छोराप्रति दयाहाङको स्नेहले फिल्म सकिएको पत्तै हुँदैन।
समाजमा बाँच्नका लागि संघर्ष गरिरहेका पात्रहरू कुनै न कुनै रुपमा यथार्थसँग नजिक छन्। त्यसैले पनि फिल्मले दर्शकलाई हेरुञ्जेल बाँधेर राख्छ। पहिलो हाफ लम्बेतान भए पनि दोस्रो हाफ निकै गज्जब लाग्छ। यसमा खास श्रमिकको कथा छ। परिवारबाट विछोड भएको मानिसको कथा छ। समाजबाट भड्किएका पात्रको कथा छ। सामाजिक कथावस्तुमा बनेको यो फिल्म पारिवारिक फिल्म हो।
आफ्नै लेखन र निर्देशन रहेको उपेन्द्रको यो फिल्ममा लिम्बू संस्कृति हावी छ। कतिपय स्थानमा जबर्जस्त लिम्बू चिनाउने नाचगान छिराउन खोजिएको छ। केही पात्र आफ्नै गाउँठाउँका परिवेशमा समेत अनविज्ञता राख्नुले अस्वभाविक लाग्छ।
‘अचानक कहाँबाट कहाँबाट भ्वाक्कै हानो, म तयारै भाको थेन’ जस्ता संवादले क्षणभरमै दर्शक हसाउँछ। फिल्ममा दयाहाङको छोटो लेन्स छ। तर उनीसँग मिरुनाको एउटा संवादले पुरुषमाथि अर्को कटाक्ष छ, ‘तरुनी केटी त देख्नै नहुने, जसलाई पनि स्वास्नी बनाउन खोज्ने। यो लोग्ने मान्छेहरुको दिमागमा त्यत्तिमात्र हुन्छ है।’
उपेन्द्र आफैँको कवि चिनारी भएकोले फिल्ममा काव्यिक रस दिन खोजेका छन्। दयाहाङ संवादमा यस्तै बोल्छन्। गीत र फाइटको सूत्रबद्ध फिल्म यो होइन। पुरुषप्रधान समाजमा महिलालाई सम्मान दिन खोजिएको छ जुन शिक्षाप्रद छ।
एक्काइसौं शताब्दीमा समेत परम्परागत र संस्कारजन्य मानसिकताले समाजमा जरो गाडेको यथार्थ दृश्यचित्रमार्फत देखाइएको छ। ‘कुलदेवी र छोरी मान्छेको श्राप लाग्छ’ भन्ने सामाजिक मान्यताबीच प्रवीण त्यही श्रापमा परेको स्वीकार्छन्। बाबु बन्न नसकेका उनी ओछ्यान परेका बाबुसँग याचना सुनाउँदै आत्मसात हुन खोज्छन्, ‘यो संसारमा हरेक मिनेटमा २ सय ७० बच्चा जन्मिन्छन्। १ घण्टामा १६ हजार ८ सय, एक दिनमा ३ लाख ८८ हजार ८ सय जन्मिन्छन्। मजस्ता १२ करोड मानिस अपूता (निःसन्तान) छन्।’
‘जारी’ फेम्ड उपेन्द्रको यो दोस्रो निर्देशकीय फिल्म हो। पहिलोमा भन्दा अझ मेहनत गरेको बताउने उनले ‘मनसरा’ मा जनै, पालाम, गाईभैँसी, सुँगुर, गोबर, लिदी, खुवा, तोङ्बा, दूध र रक्सीजस्ता विम्बसहित ब्राह्मण र लिम्बू संस्कृतिबीच भिन्नता देखाउन खोजेका छन्। फिल्ममा कलाकार हेमन्त बुढाथोकी, जीवन बराल, किरण चाम्लिङ राई, अनिल सुब्बा, मानहाङ लावती, उपेन्द्र सुब्बा, कवि विप्लव प्रतीक, गायक सत्यराज आचार्यको अभिनय प्रशंसनीय छ।
यी उपेन्द्र सुब्बा गजब मान्छे रछन