कर नतिर्ने दुई कम्प्लेक्सलाई काठमाडाैँ महानगरको पत्र

हिमाल प्रेस २२ वैशाख २०८१ १६:०८
14
SHARES
कर नतिर्ने दुई कम्प्लेक्सलाई काठमाडाैँ महानगरको पत्र

काठमाडौँ- ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ।

आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन। ‘पिपुल्स प्लाजा’ ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ। कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार लामो समयसम्म कर नतिरेपनि कामपाले ३५ दिनभित्र सबै बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो।

यस विषयमा कामपाले केही दिनअघि स्थलगत अनुगमन गरी विवरण मागेको थियो। यसपछि टोलीले, कम्प्लेक्स सञ्चालकलाई सात दिनभित्र विवरण पेस गर्न र ३५ दिनभित्र वडा कार्यालयमा गएर बक्यौता तिर्न पत्राचार गरिएको प्रमुख काफ्लेले बताए।

लामो समयसम्म बक्यौता रकम तिर्न आलटल गरेपछि कामपाले पछिल्लो समय रकम चुक्ता गर्न निर्देशन गरेको छ। कामपा राजस्व विभागको ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ मा तीन प्रकारका राजस्व अनुगमन टोलीको व्यवस्था गरिएको छ।

एउटा वडास्तरीय टोली छ, जसमा जनप्रतिनिधि, कर्मचारी, राजस्व विभागका कर्मचारी रहने व्यवस्था छ। अर्को टोलीमा केन्द्रमा राजस्व विभागस्तरको टोली रहने छ। यी दुवै टोलीले गरेका कामको अनुगमन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तेस्रो टोलीको व्यवस्था गरिएको छ।

घर बहालमा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारलाई बुझाउनु पर्ने कानुनी व्यवस्था छ । आरबी कम्प्लेक्समा तीन सय १५ व्यवसायी र पिपुल्स प्लाजामा एक सय ६० व्यवसायी छन् ।

प्रकाशित: २२ वैशाख २०८१ १६:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast