मलाई हिमालपारिको एक जिल्लाबाट पदयात्रा गर्दै अर्काे जिल्लामा पुग्ने रहर निकै अघिदेखि लागेको हो। भाइबरमा अंकित ‘हाइक फर हेल्थ’ नामक समूहमा आबद्ध भएपछि त्यो चाहना पूरा हुने पक्कापक्की भयो। अनि हामी मिलेर मनाङ र मुस्ताङको पदयात्रामा निस्कने योजना बनायौँ। सोही योजनाअनुसार २०८० चैत ८ गते बिहान साढे पाँच बजे काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरबाट हाम्रो यात्रा सुरु भयो।
पहिलो दिन हायसमा बसी हाम्रो यात्रा लमजुङको बेसीसहरतर्फ लम्कियो। दिनको १२ बजे बेसीसहर पुगेका हामीले त्यहीँको एउटा होटलमा खाना खायौँ। होटलकै आँगनबाट हामीले एउटा बोलेरो लियौँ। बोलेरोभित्र बसेपछि भने केही दिन हिमाली सेरोफेरोको प्राकृतिक वातावरणमा रमाउने उत्साहमा डुबुल्की मार्यौँ।
सुरुमा केही उबडखाबडयुक्त कच्ची भए पनि केहीबेरमै भेटिएको पक्की सडकमा बोलेरो बेतोडले दौडियो। फेरि धुलो उड्ने कच्चीमै गुड्न थाल्यो। मनाङरोडको छेवैमा मर्स्याङ्दी नदी दक्षिणतिर बगिरहेको थियो भने हाम्रो यात्रा नदीको तटैतट लम्किँदै थियो। ताधरिङमा एकछिन ओर्लेर आकर्षक झरना हेर्दै फोटो खिच्यौँ। रामबजार, स्याङे, जिगात हुँदै मनमोहक च्याम्चे झरना भएको स्थानमा पुग्दा दिनको तीन बजेको थियो। त्यहाँ रहेको भ्यु प्वाइन्ट वाटरफल होटलमा चियापान गरी पुनः गन्तव्यतर्फ अघि बढ्यो हाम्रो पाँचजनाको टोली।
लमजुङ जिल्ला छोडी मनाङमा पुग्दा आउने पहिलो बस्ती हो तालगाउँ। त्यहाँ वरपरका दृश्य सडकबाटै अवलोकन गर्यौँ। टाढाबाट सफा देखिने मर्स्याङ्दी त्यहाँ भने सुस्त गतिमा तालमा पानी जमेजसरी बग्दो रहेछ। त्यसैले बगरमा रहेको गाउँको नाम तालगाउँ राखिएको जानकारी पायौँ।
साँझको पाँच बजे रोमाञ्चक तिपाङ झरनामा पुग्यौँ। सडकको देब्रेपट्टिको झरनामा भिज्दै फोटो खिज्दा साँझको जाडो भए पनि प्राकृतिक मनमोहकताले हामी लठ्ठै भएका थियौँ।
हामी एघारजना मनाङको चामे पुग्दा साँझको छ बजेको थियो। बोलेरोबाट ओर्लिएपछि दिनभरको यात्राले थकित हामी होटल इगलको साझा कोठा (खाना खाने हल) मा प्रवेश गर्यौँ। चुलोवरपर बसी तातोपानी, चिया र आफैँले बोकेर लगेका खानेकुरा खाँदै आराम गर्यौँ।
होटलमा विदेशी पर्यटक खचाखच रहेछन्। खाना खाई सुतेका हामी भोलिपल्ट बिहान सात बजे यात्रा सुरु गर्ने तयारीमा लाग्यौँ। टोलीका सदस्यहरू कोही नौ(दस दिनलाई चाहिने सरसामान खाँदेको झोला बोक्ने सहयोगी खोज्न थाल्नुभयो। टोलीमा नवप्रवेशी एक सदस्य र म उहाँका लागि चप्पल र पानीको बोतल किन्न भनेर पसल खोज्दै हिँड्यौँ। मधेशी मूलका नेपालीले सञ्चालन गरेको पसलमा हामीले खोजेका सबै सामग्री पाइयो। ‘अलिकति मूल्यमा छुट दिनुहोस् न’ भनी अनुरोध गर्दा साहुजीले ‘सर, मनाङ आएर पनि काठमाडौँको भाउमै सामान किन्दा त मनाङको महत्त्व के रहयो ररु’ भनी आफ्नो व्यापारिक धर्मलाई पूरा गरिदिए। सामान किनी फर्किँदा साथीहरू नास्ता खाई हाम्रो पर्खाइमा बस्नुभएको रहेछ।
झोला बोक्ने र बाटो पनि देखाइदिने तीनजना सहयोगीको व्यवस्था भएपछि हामी लाग्यौँ चामेबाट मर्स्याङ्दीको पुल तर्दै पिसाङ गाउँपालिकाको पिसाङतिर। बाटाका दायाँबायाँ हरिया रूख, बायाँतर्फ छङछङ आवाज सुसेल्दै बगिरहेको मर्स्याङ्दी नदी, त्यही दिशातर्फ रहेको आकर्षक हिमाल र दायाँतर्फ अग्ला भिर हेर्दै हामी भूस्वर्गको आनन्दमा रमाउन अघि बढ्यौँ। सिरसिर चलेको हावा, खोलाको एकोहोरो आवाज र चराचुरुंगीको चिरबिरले सजिएको क्षण वास्तवमै रंगीन थियो।
ठाउँठाउँमा नदीका बीचमा रहेको हिउँपहिरोको थुप्रोमा चढ्दा कहीँ खुट्टा गाडिन्थ्यो। कहीँ चिप्लिएर लडिन्थ्यो। त्यो क्षणलाई यात्राको अविस्मरणीय पलका रूपमा कैद गर्न पाउनु हाम्रा लागि निकै खुसीको कुरा थियो। सुरुवात नै यस्तो रमाइलो लाग्न थाल्यो कि पूरै मनाङलाई यात्रामा नाप्दा कत्तिको रमाइलो हुन्छ होला भन्ने सबैको मनमा पर्यो।
समयसमयमा मोटरको आवतजावतले धुलो उडे तापनि विश्वका शक्तिशाली सञ्चारगृहले संसारमा घुम्नुपर्ने प्रमुख गन्तव्यमध्येको एक भनी छानेको प्रख्यात अन्नपूर्ण पदयात्रा मार्गमा थियौँ। चौधजनाको नेपाली मात्रको डफ्फा यसरी पदयात्रामा हिँड्दा आफ्नो देशको प्राकृतिक सम्पदाप्रति हामीलाई गर्व महसुस भइरहेको थियो।
हामी करिब १० बजे मनाङको प्रसिद्ध स्याउको खेती एवं प्रशोधन गर्ने एग्रो मनाङमा फर्ममा पुग्यौँ। फर्म अवलोकन गर्न भनी प्रवेश गर्दा सञ्चालक हाम्रो समूहका एक सदस्यले चिनेजानेका व्यक्ति पो रहेछन्। आकर्षक एवम् व्यवस्थित फर्ममा बसी कफी खायौँ। सँगै रहेको मनाङ भ्याली वाइनको प्रशोधन स्थलको पनि अवलोकन गर्यौँ। ती सबै कार्यका लागि चाहिने बिजुलीका लागि मर्स्याङ्दी खोलामा बनाइएको १०० किलोवाटको हाइड्रोपावरसमेत अवलोकन गर्ने मौका मिल्यो।
मनाङ पर्यटनसँगै स्याउ उद्यमका लागि पनि उपयुक्त भूगोल हो। स्याउ फर्मका सञ्चालक प्रकृतिले दिएको अपार पानीको स्रोतबाट ऊर्जासमेत उत्पादन गर्ने उद्यमशीलताका लागि सक्रिय भएको देख्दा निकै खुसी लाग्यो। साधनस्रोत प्रचुर रहेको त्यस स्थानमा उद्यमशीलता प्रवर्धन गर्ने हो भने हाम्रा जनशक्ति खाडीको मरभूमिमा पसिना बगाउन बाध्य हुनुपर्ने थिएन। यस्तो कुरा देशका नेता र नीति निर्माताले कहिले बुझ्लान् भन्ने प्रश्न मनमा उठ्यो र सेलाएर गयो।
त्यस दिनको खाना पिसाङको ढुकुरपोखरीमा खाने योजना थियो। देब्रेपट्टि केही गहिरोमा बगेको मर्स्याङ्दीको सुसाई र बेतोडले लागिरहेको हावाले अर्कै संसारमा पुगेको अनुभव भइरहेको थियो। ठूलो चट्टाने भिरको पेटमा चिरेर बनाएको सडक देख्दा लाग्यो, यहाँ हिँड्दा पानी पर्यो भने छाता ओढ्न नपर्ने रहेछ। एक दिनअघि लमजुङ अन्त्य भई मनाङको सीमा सुरु हुने स्थानमा पनि यस्तै सडक थियो। असल नियतले कार्य गरेमा भिरपाखामा समेत बाटोघाटो बनी जनताको जीवनस्तर सहज हुने यथार्थलाई हामीले अनुभूत गर्न पायौँ।
मोटर बाटो स्तरोन्नति हुने प्रक्रियामा थियो। बाटोमा थुपारिएका बालुवा, सिमेन्ट, डन्डी र ढुवानीका लागि रोकिएका टिपर देख्दा हामीलाई काठमाडौँको बाटोको भझल्को दिलायो। ढुकुरपोखरी पुग्दा करिब एक बजिसकेकाले भोक लागेको थियो। एउटा होटलमा बसेर पानीजस्तै दाल र नाम मात्रको तरकारीसँग भात खाने सौभाग्य मिल्यो। पैसा पनि राम्रै तिरियो। सायद व्यापार कम हुने भएकाले होला आएका ग्राहकबाट असुल गरिहाल्ने परिपाटी हुन सक्छ त्यस स्थानमा।
अगाडि बढ्दै जाँदा भेटिएको फराकिलो मैदानको छेउमा रहेको सुख्खा पोखरी नै सायद ढिकुरपोखरी हो कि भनी लख काट्यौँ हामीले।
चार बजे अपर पिसाङको मनाङमर्स्याङ्दी होटलमा पुगेर त्यस दिनको यात्रालाई बिट मार्यौँ हामीले। टोलीका सदस्यमध्ये केही लोअर पिसाङ हेर्न जानुभयो। अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको चहलपहल बढिसकेकाले हामीले धेरै विदेशी पर्यटक भेट्यौँ। भोलिपल्ट हामीलाई दक्षिणपट्टि आकर्षक हिमाल लहरै उभिएर स्वागत गरिरहेका थिए। घामको झुल्का परेर कलात्मक भएको हिउँका चुचुराले शोभायमान देखिने दृश्यले हामीलाई लठ्ठ बनाइदियो। होटलको कौसीबाट ती हिमाललाई पृष्ठभूमिमा राखेर फोटा खिच्यौँ। अनि होटलका साहुजीले लगाइदिएको खादा भिरेर हामी हेलिप्याडको बाटो हुँदै ग्रिन लेकतिर लम्कियौँ।
हरियाली, सफा स्वच्छ पानीमा हावाले सिर्जित लहरले साँच्चै मनोरम देखिएको ग्रिन लेकमा पुग्दा साढे आठ बजेको थियो। सेतो हिमालको प्रतिछाया र निरन्तर चलिरहेको हावाले सिर्जित तरंगले पानी चलायमान हुँदा कलात्मक देखियो। तालको सौन्दर्यले हामीलाई निकै तान्यो। अनि ताल परिक्रमा गर्दै एकछिन मोबाइलबाट कसले राम्रो तस्बिर खिच्न सक्छ भनेर व्यस्तसमेत भयौँ हामी।
झोलुंगे पुल तरेर फरि मुख्य बाटोमा आई पछाडिपट्टि फर्केर हेर्दा पूर्वबाट पश्चिमतर्फ फर्केको पहाडको टुप्पोमा ढपक्क बाक्लो सेतो हिउँ देखियो। बीचबाट कालो लाइनले तलमाथि छुट्ट्याई बाटोजस्तो बनाएको प्राकृतिक दृश्य लोभलाग्दो थियो। त्यसलाई स्वर्गद्वारको नाम दिइएको रहेछ।
बाटो नाप्दै जाँदा बायाँपट्टि केही हरिया रूखका जंगल, उचाइतर्फ हिउँको थुप्रो अनि माथिल्लो लहरमा आकर्षक हिमाल र दायाँपट्टि मर्स्याङ्दी नदीको दृश्य देखियो। उचाइमा क्रमशः हरिया रूखले छापेको जंगल र केही माथि हिउँले छोपिएका पहाडको बीचमा लामो र सीधा बाटो थियो। बिहानको करिब १० बजे अवलोकन गर्दा नीलो आकाश अनि घामले वरिपरि टल्किएका हिउँ देखेपछि त्यहाँ कोही चित्रकार थिए भने क्यानभास र कुची पक्कै चलाउँथे! किनभने त्यो ठाउँ अनि परिवेश साँच्चै अलौकिक देखिएको थियो। यस्तै मनोरम भूभागले गर्दा मनाङ विश्वमा घुम्नुपर्ने सूचीमा परेको रहेछ।
हामीले हुम्डे विमानस्थल रहेको उक्त स्थानमा खाना खायौँ। स्वादिलो खानाले ढिकुरपोखरीको खाना बिर्साइदियो। केही पाइला अगाडि बढाएपछि सशस्त्र प्रहरीका एकजना परिचित डीएसपीसँग भेट भयो। उहाँले हामीलाई एकछिन आराम गरौँ भनेर बाटोमै जोडिएको अफिसमा लैजानुभयो। हामीलाई तातो पानीले स्वागत गर्नुभयो। यात्रालाई फलदायी बनाउन उपयुक्त जानकारी र सुझाव दिनुभयो। यात्राका क्रममा केही अप्ठेरो परेमा सम्पर्क गर्न सल्लाह दिनुभयो। उहाँको आत्मीय आतिथ्यलाई मनमनै धन्यवाद दिएर हामी निस्कियौँ। त्यहाँ धेरै हावा चलिरहेको थियो। संयोगवस हावाको दिशा हामी हिँड्ने तर्फ नै भएकाले सहज भयो।
सिंग्दीलगायतका आकर्षक ताल अवलोकन गर्न पायौँ। स्याउखेती रहेको साब्जे फर्मलाई बाटैबाट हेर्यौँ। केहीबेर पक्की बाटोमा समेत हिँड्यौँ। हिमाली सुन्दरतालाई फोटोमा कैद गर्दै अगाडि बढ्दै जाँदा हामी फेरि मर्स्याङ्दी नदीमाथिको पुल तरी भ्राखागाउँ पुग्यौँ।
भ्राखामा बाटोको छेवैमा रहेका एउटा पसलमा स्याउ किन्यौँ। एकछिन स्याउका साहुजीसँग कुराकानी गर्यौँ। आइसलेक जाने बाटो त्यहीँबाट छुट्ने रहेछ। भ्राखा गाउँमा मिलेरपा गुफा तथा पुराना माटाका छाना भएका घर र एक घरको छाना अर्काे घरको आँगनका रूपमा मिलेर बनेका रहेछन्। ३४८८ मिटर उचाइमा रहेको उक्त गाउँ पनि यात्राको महत्त्वपूर्ण स्थान थियो। यात्राको यस अवधिमा हामीले बास बस्ने होटलमा पाएको आतिथ्य, उपलब्ध खाना र सहयोगी भाइहरूको कर्तव्यनिष्ठताले हामीलाई सन्तुष्टि दिलायो।
हिमाली भेगको पदयात्राको मुख्य पाटोका रुपमा हाम्रो यात्रालाई यादगार बनाउन हामीसँग जोडिएका दुई नयाँ सदस्य र सहयोगी तीनजना भाइलगायत समूहका सबै सदस्यको स्वास्थ्यमा कुनै गडबडी भएन। हिँडाइप्रतिको उत्साह यात्राको सुखद पक्ष थियो। यात्राको तेस्रो दिन चार बजे हामी अर्काे प्रमुख गन्तव्य मनाङ जिल्लाको प्रख्यात मनाङ गाउँमा पुगेर विश्राम लियौँ। क्रमशः