वर्षौँदेखि यही समाजमा रहे पनि, समाजका मानिसहरूलाई खुसी पार्नका निम्ति आफू दु:खै सहेर भए पनि, आफ्ना आधारभूत आवश्यकता पूरा गर्न नसक्दा राज्य व्यवस्थाले कसरी थिचोमिचोमा पार्छ भन्ने उदाहरण र प्रमाणसहितको पुस्तक हो – ‘आतोओडा’।
०७९ मंसिरमै प्रकाशन भएको उक्त पुस्तक पद्मश्री साहित्य पुरस्कार २०७९ को उत्कृष्ट १५ सूचीमा र पहिचान पुरस्कारका लागि समेत सूचीमा परेको थियो। खासगरी झापाको सन्थाल बस्तीको कथालाई उपन्यासीकरण गरिएको हो। जानुका खतिवडाद्वारा लिखित उक्त उपन्यासले पूर्वी नेपालको झापाका कथाहरू भनेको छ। झापामा रहेका सीमान्तकृत सन्थाल जातिको सामाजिक परिवेशमा रहेर लेखिएको उक्त पुस्तकले उनीहरूले बाँचिरहेको जीवन, भोगिरहेको दु:ख, गरिरहेको संघर्ष र समाजले उनै मानिसलाई कसरी थिचोमिचोमा पारेको छ भन्ने कुरालाई प्रस्तुत गरेको छ।
विभिन्न ठाउँमा सन्थाल जातिकै भाषामा लेखिएको उक्त पुस्तकले रैथाने बिम्बलाई समेत समेटेको पाइन्छ। पुस्तकमा फूलमुनि भन्ने मुख्य पात्र छिन्। उनले आफूले बाँचेको जीवनमा भोगेका अनेकन् दु:खलाई चित्रण गरिएको छ। १४ वटा शीर्षकमा लेखिएको उक्त उपन्यासले वर्तमान समाजको वास्तविक अवस्थालाई देखाइएको छ।
पुस्तकमा उल्लेख भएअनुसार आतोओडाको अर्थ गाउँबस्ती हो। तीनै गाउँबस्तीमा सन्थाल जातिले वर्षौँदेखि खेपिरहेका दु:ख र संघर्षका कथालाई उपन्यासीकरण गरिएको हो।
‘झापाका आदिवासी सन्थालका बारेमा खोज अनुसन्धान गर्दा म पनि उहाँसँगै (दाजु ठाकुरा खतिवडा) अनारमनि, गरामनि हुँदै चन्द्रगढीसम्म पुगेँ । त्यसबेला मैले गरामनिमा फूलमुनि टुडुलाई भेटेकी थिएँ,’ लेखक जानुकाले सारमा लेखेकी छन्, ‘फूलमुनि र उनका पिताले सुनाएको सन्थाल जातिको इतिहासले दाजुको थेसिस त तयार भयो। तर मेरो आतोओडा तयार हुन निकै समय लाग्यो।’
दाजुले ‘थेसिस’का लागि गरिएको अभ्यासले उनको उपन्यास तयार भएको उनले भनेकी छन्। आतोओडामा दबाइएकाहरूको, पहिचानविहीनहरूको, अधिकारविहीनहरूको, भूमिहीनहरूको, आफ्ना आधारभूत आवश्यकता पूरा गर्न जीवनभर जोतिनुपर्नेहरूको कथालाई सरल ढंगमा लेखिएको छ।
सन्थाल समुदायहरू भूमिपुत्र भए पनि भूमिहीनको अवस्थामा पुग्नुपरेको र समाजका ठूलाठालु मानिसबाट दबाइएका कारण बर्सेनि बसोबासको ठाउँ फेरिरहनुपर्ने कुराको उठान मिहीन ढंगबाट गरिएको छ। जुन कुरा पुस्तकमा मार्मिक र भावनात्मक रहेको छ।
एक दृष्टिकोणबाट उपन्यासको व्याख्या गर्दा ‘आर्थिक रूपमा पछि परेका कारण हेपिएर बाँच्नुपरेका मानिसहरू कथा हो’ पनि भन्न सकिन्छ।
कतिपय अवस्थामा उपन्यास रहरले पनि लेखिन्छन्। लेखकहरू सञ्जालमा चर्चामा आएकै भरमा पनि हौसिएर उनीहरूले पुस्तक लेखेको पाइन्छ। वरिष्ठ भाषाविद् तथा साहित्यकार प्रा.डा टंकप्रसाद न्यौपानेका अनुसार अहिलेका कतिपय पुस्तकमा गुदी हुँदैन। चर्चाका लागि मात्रै लेखिएका पुस्तकमा गुदी नहुँदा पुस्तकमा भन्न खोजिएका कुरा स्पष्ट हुँदैनन्। न्यौपाने विभिन्न कार्यक्रममा पुग्दा गुदीसहितको पुस्तकको आवश्यकता रहेको बताउँछन्। उनै न्यौपानेले भनेजस्तो गुदीसहितको पुस्तक हो – ‘आतोओडा।’
सीमित परिवेश र भूगोलमा रहेको सन्थाल समुदायको रैथाने भाषा, संस्कृति, दु:ख, संघर्ष, रोदन र उनीहरूभित्र रहेको त्याग र समर्पणको कथा पनि पुस्तकले बोलेको छ।
‘टेक्ने जमिन र ओत लाग्ने छानो जुटाउनमै सिंगो आयु खर्च गरेका भूमिहीनको संघर्षको प्रतिनिधि गाथा हो। उनीहरूको संघर्षमा आधारभूत आवश्यकता पूरा गराउने जिम्मेवारी बोकेको विद्यमान राज्य र समाज व्यवस्थाले कसरी खलपात्रको भूमिका निर्वाह गर्दछ भन्ने दृष्टान्त उपन्यासले प्रस्तुत गरेको छ,’ पुस्तकको आवरण पृष्ठमा पाठकलाई सहजताका लागि लेखिएको छ, ‘स्थानीय भाषा र लवजको समुचित प्रयोगले उपन्यासलाई सशक्त बनाएको छ।’
पुस्तककी मुख्य पात्र फूलमुनि टुडुले गरेको संघर्ष मात्रै होइन, उनको साहसको पनि कथा वर्णन गरिएको छ। मालिकबाट हेपिएर बस्न नहुने, समाजमा बाँच्नका लागि अरूकै घरमा बस्न नपर्ने र आफू सक्षम रहन सकिने कुराले फूलमुनिजस्ता समाजका अनेक पात्रहरूलाई ऊर्जा प्रदान गर्छ।
सन्थाल समुदाय भूमिपुत्र रहे पनि नागरिकता पाउनका लागि गर्नुपरेको झन्झट, राज्य तहबाट गरिने सेवा प्रवाहका कारण खेप्नुपरेको हैरानी र अन्त्यमा जति गरे पनि नागरिकता नपाएको दृश्यलाई निकै सुक्ष्म किसिमबाट पुस्तकमा उठान गरिएको छ।
‘न्यापेल’ शीर्षकबाट सुरु भएको उपन्यास ‘कागत’ शीर्षकमा पुगेर टुंगिन्छ। ‘जति अघिदेखि हिँडेको भा पनि कागज नभइकन यो माटोमा पाइलाको डोब देखिँदैन रहेछ।’ आफूले नागरिकता नपाउँदा राज्यबाटै दबिनुपरेको कथा स्मरण गर्दै फूलमुनिका पति बुधिनले छोरा र छोरीको जन्मदर्ता बनाएपछि दु:ख कहन्छन्।
१६३ पृष्ठ रहेको उक्त पुस्तकमा प्रयोग भएका शब्दको पनि अर्थ उल्लेख गरिँदाँ पाठकलाई नबुझेका शब्दको अर्थ बुझ्न सहज हुनेछ।
समग्रमा पुस्तक आतोओडाले समाजमा वर्षौँदेखि रहेर पनि समाजबाटै दबाइएकाहरूको, अधिकारविहीनहरूको कथा बोलेको छ। उक्त पुस्तकले नेपाली उपन्यासमा नयाँ किसिमको आयामसमेत कोरेको ठहर गर्न सकिन्छ।
पुस्तकमा केही सामान्य त्रुटिहरू पनि छन्। केही ह्रस्व, दीर्घसहित केही भाषा पनि गलत रहेका हुन सक्ने अनुमान गर्न सकिन्छ। जस्तै : एक अध्यायमा गाउँ हुन्छ। बिँडी खाएको कुरा उल्लेख छ। रोपाइँको प्रसंग छ। कुकरमा सिट्ठी लाग्छ। कुकरको ठाउँमा भड्डु भाँडामा भात पाकिरहेको दृश्य भएको भए कथामा रैथाने कुरा आउँथ्यो कि?
त्यसैगरी फूलमुनि र बुधिन मालिकको घर छाडेर हिँड्नका लागि सिटी सफारी बोलाएका हुन्छन्। सफारीको ठाउँमा रिक्सा भएको भए कथा थप गाउँको जस्तै हुन्थ्यो कि? हुन त झापा सहर भएकै कारण र केही वर्षअघि मात्रै उपन्यास लेखिएको हुँदा सफारीका प्रसंग आएको पनि हुन सक्छ।
जेजसो भए पनि समग्रमा पुस्तकले एक पाठकको मात्रै मन जित्दैन। लेखक भनिएकाहरूले उक्त पुस्तक पढे भने उनीहरूको पनि मन तरंगित बनाउने कुरामा दुईमत छैन।
पुस्तक : आतोओडा
विधा : उपन्यास
लेखक : जानुका खतिवडा
मूल्य : ३५०।
प्रकाशक : कलम प्रकाशन