पोखरा- गत ५ चैतमा काहुँडाँडामा भीषण आगलागी २४ घण्टासम्म नियन्त्रणमा आउन कठिन भयो। रातिदेखि सुरु भएको आगलागीले नजिकैको मानववस्ती पनि जोखिममा परेपछि सिंगो पोखरा रातभरि सुतेन।
भिरालो क्षेत्रमा लागेको उक्त आगो निभाउन न दमकल जान सक्यो, न त सुरक्षाकर्मी र स्थानीयवासीलाई सहज भयो। आगो निभिसक्दा वनजंगलको ठूलो क्षेत्र नोक्सान भइसकेको थियो। कैयौं चुराचुरुंगीसहित वन्यजन्तु जलेर नष्ट भए।
चैत पहिलो साता नै हेमजा नजिकैको वनमा करिब एक सातासम्म लागेको डढेलोले ठूलो क्षेत्रफल वनजंगल नोक्सान भयो।
पोखरा लामेआहालमा दुई दिनसम्म लागेको आगोले ल्याण्डफिल साइटको प्लाष्टिकसँगै फोहोर जल्दा दुर्गन्ध फैलियो। जसका कारण स्थानीयवासीलाई श्वासप्रश्वासमै समस्या उत्पन्न भयो। उक्त ल्याण्डफिल साइटमा पोखरा बजार क्षेत्रको फोहोर विसर्जन हुँदै आएको छ।
आगलागीले कास्कीमा चैत र वैशाखमा मात्रै ७५० हेक्टर वनजंगल क्षेत्र जलेको छ। चैतमा २६ र वैशाख २० सम्म १९ वन क्षेत्रमा आगलागीको घटना भएको सशस्त्र प्रहरी बल, २४ नम्बर गण मालेपाटनले संकलन गरेको तथ्यांकमा उल्लेख छ।
बुधबारसम्म पनि कास्कीका पाँच सामुदायिक वन क्षेत्र आगोको चपेटामा छन्। पोखरा-२३ स्थित लोत्से सामुदायिक वन र घलेडाँडा सामुदायिक वन, पोखरा-२१ को कृस्ति सामुदायिक वन, पोखरा-२७ को अर्चले सामुदायिक वन र पोखरा-२४ को कास्कीकोट सामुदायिक वनमा अहिले आगो लागिरहेको सशस्त्र प्रहरी बल, २४ नम्बर गण मालेपाटनका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुण पौडेल शर्माले बताए।
यो त भयो, सामुदायिक वन क्षेत्रको क्षति। व्यक्तिगततर्फ एकमात्र घटना भएको छ। गत ९ वैशाखमा पोखरा–१६, जैमुरेका ५६ वर्षीय लीलाधर तिमिल्सिनाको घर आगलागीमा जलेको छ। ब्लकले बनेको दुईकोठे उनको घरको भान्साकोठा पूरै जल्दा करिब दुई लाख बराबरको क्षति भएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीले संकलन गरेको विवरणमा भने चालु आवको यो अवधिसम्म कास्कीमा १ सय २७ आगलागीका घटना भएको उल्लेख छ।
डिभिजन वन कार्यालय कास्कीका अनुसार जिल्लामा २ लाख १ हजार ७ सय हेक्टरमध्ये करिब ४६ प्रतिशत वन छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा ६५ हजार ५ सय ६ हेक्टर र डिभिजन वन कार्यालय कास्की मातहतमा २८ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल वन छ। तर गर्मीयाममा आगलागीले ठूलो हेक्टरको वन क्षेत्र खसाप हुने गरेको छ। आगो कसले लगायो भन्ने पहिचान हुन कठिन छ।
आगलागीका घटना न्यूनीकरणका प्रहरी कार्यालयबाट सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको भए तापनि आगजनीका घटनाहरूमा कमी आएका छैनन्। आगलागीले चराचुरुंगी, वन्यजन्तु, वनस्पति, जैविक विविधता, वातावरणीय पर्यावरणमा क्षति हुन्छ। जसको असर मानववस्तीमा पनि पर्दछ।
तुवाँलो लाग्ने र वायु प्रदूषण बढ्नुमा कास्की र यस आसपासका ठाउँका वनजंगलमा लागेको डढेलो प्रमुख कारण हो। जसका कारण नजिकैका डाँडाकाँडा ढाकिएका छन्। हिमाल छेकिएको छ। वायु प्रदूषण बढेकाले चिकित्सकले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन सुझाएका छन्।
आगलागीमा संलग्नलाई कानुनी कारबाहीको व्यवस्था छ। डढेलो लगाउनेलाई वन ऐन, २०७६ को दफा ४९ अन्तर्गतको कसूरमा दफा ५० बमोजिम क्षति भएको बिगो असुल गरी ३ वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।
यस्तै मुलुकी अपराध संहिता, २०७४ दफा २८५ ले वनजंगलमा आगजनी गराइ क्षति पुर्याउनेलाई ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था गरेको छ।
आगलागीका घटना हुन नदिन प्रहरीले विभिन्न ठाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ। कालिका गणमा कार्यरत रहेका क्षेत्रीय विपद् व्यवस्थापन टिमका कमाण्ड सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीले हालैमात्र मादी ५ मा सचेतना कार्यक्रम गरेर फर्केको बताए।
सकेसम्म आगलागीका घटना हुन नदिन सचेत गराउने र अर्कोतर्फ यदि यस्ता घटनाको सूचना पाए तत्काल उद्धार टोली खटिने गरेको उनले बताए। उनका अनुसार पोखराको सुगम क्षेत्रसम्म १५ मिनेटभित्रै र अलि अप्ठेरो ठाउँमा ३० देखि ४५ मिनेटसम्म उद्धार टोली आवश्यक सामग्रीसहित खटिने गरेको छ।
विपत् व्यवस्थापनका लागि हाल ५० सदस्यीय उद्धार टोली तैनाथ छ। तीमध्ये ५ जना फायर फाइटिङका लागि छन्। सुरक्षा टोलीसँग आगो नियन्त्रण लिन मिनी दमकल, फायर सुटर, फायर रेस्क्यु बल लगायत सामग्री छन्। राष्ट्रिय विपत् प्राधिकरणले हालैमात्र यहाँ फायर पोर्टेबल पम्प दिएको छ। जसको मद्दतमा दमकल जान नसक्ने स्थानमा सजिलै आगो नियन्त्रण लिन सक्छ।