अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन् : अर्थमन्त्री पुन

हिमाल प्रेस १९ वैशाख २०८१ १७:४१
8
SHARES
अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन् : अर्थमन्त्री पुन फाइल तस्बिर।

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको बताएका हुन्।

विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्यांक विभागले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उनले बताए।

‘हाम्रो अर्थतन्त्रमा थोरै शिथिलता छ। स्वाभाविक रूपमा यसका आन्तरिक र बाह्य कारण छन्। तथ्यांकहरूले विस्तारै त्यसमा सुधार देखाएको छ’, मन्त्री पुनले भने, ‘विश्व बैंकले ३.३ एडीबीले ३.६ र हिजो मात्रै राष्ट्रिय तथ्यांक विभागले ३.८७ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भनेको छ। यो नौ महिनाका प्रक्षेपण हुन्। आर्थिक वर्ष अझै तीन महिना बाँकी छ। केही पुँजीगत खर्च हुन्छ। अर्थ मन्त्रालयका तर्फबाट ४.५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुन्छ भन्ने हाम्रो अनुमान हो।’

यद्यपि अझै पनि ढुक्कैले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्थामा नरहेको उनले बताए। अर्थमन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक स्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्नेमा जोड दिए। नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान हस्तीहरू भरत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनुपर्नेमा सरकार रहेको बताए।

अर्थमन्त्री पुनले आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको बताए।

प्रकाशित: १९ वैशाख २०८१ १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 8 =