काठमाडौँमा मजदुर र्‍याली [तस्बिरहरू]

दिपेश श्रेष्ठ १९ वैशाख २०८१ १६:४७
18
SHARES
काठमाडौँमा मजदुर र्‍याली [तस्बिरहरू]

काठमाडौँ- एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले काठमाडौँमा र्‍याली निकालेको छ। भृकुटीमण्डपबाट निकालिएको र्‍याली सभामा परिणत भएको थियो।

सभामा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको बताए। उनले भने, ‘स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्त्वपूर्ण माध्यमका रूपमा रहेको वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्छ।’

सरकारले श्रमिकहरूको हित रक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी प्रभावकारी कार्यान्वयनसमेत गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो।

अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ। विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन्।

मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ।

नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ। सन् १८८१ मे १ मा अमेरिकामा भएको आमहडतालको स्मरणमा दिवसको थालनी भएको हो।

 

प्रकाशित: १९ वैशाख २०८१ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =