टुँडिखेलमा जागिर खोज्नेको भीड

हिमाल प्रेस १९ वैशाख २०८१ १६:१६
114
SHARES
टुँडिखेलमा जागिर खोज्नेको भीड काठमाडौँको टुँडिखेलमा तालिम र रोजगारी अभिमुखीकरणका लागि नाम टिपाउन व्यस्त युवा। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- काठमाडौँको टुँडिखेलमा जागिर खोज्ने युवाको घुइँचो लागेको छ। अनलाइनमार्फत आवेदन दिएका युवा तालिम र रोजगारी अभिमुखीकरणका लागि नाम टिपाउन लाम लागेका हुन्। काठमाडौँ महानगरपालिकाले बुधबारदेखि ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम सञ्चालनमा ल्याएको छ।

कार्यक्रममार्फत महानगरले ३४ क्षेत्रमा तालिमसहित रोजगारी दिनेछ। यसैगरी १० वटा महानगरका राष्ट्र गौरव आयोजनामा तालिमसहित २०८१ जनालाई रोजगारी दिने घोषणा महानगरपालिकाले गरेको छ। कार्यक्रममा १० हजारभन्दा बढी युवाले अनलाइनमार्फत आवेदन दिएका थिए।

त्रिचन्द्र क्याम्पसमा बीएस्सी तेस्रो वर्षमा अध्ययनरत धादिङका सुबोध सुवेदीले सफ्टवेयर डिभलपमेन्ट तालिमका लागि अनलाइनमार्फत आवेदन दिएको बताए। अध्ययनसँग रोजगारीको आस गरेर तालिमका लागि आवेदन दिएको उनले बताए। ‘तालिम लिन पाएमा बीएस्सी सकेपछि रोजगारीका लागि भौँतारिनुपर्ने छैन’, सुवेदीले भने।

नुवाकोटकी सविता घिमिरेले महानगरको कार्यक्रममा अनलाइनमार्फत सिलाइकटाइ तथा फेसन डिजाइनिङ तालिमका लागि आवेदन दिएकी छन्। उनी तीन वर्षको बच्चा बोकेर आएकी घिमिरेले भनिन्, ‘सिलाइ कटाइ तथा फेसन डिजाइनिङ तालिमका लागि आवेदन दिएकीछु। अरूको काम गर्नुभन्दा आफैँले केही गर्ने सोच बनाएकी छु। त्यही भएर बच्चा च्यापेर अभिमुखीकरण तालिमका लागि आएकी हुँ।’

रत्नराज्यलक्ष्मी क्याम्पसमा बीए चौथौ वर्षमा अध्ययनरत इलामकी ओसिका गौतमले फास्टफुड/चाइनिज र इन्डियन कुक तालिमका लागि अनलाइनमार्फत आवेदन दिएको बताइन्। टुँडिखेलमा भेटिएकी गौतमले भनिन्, ‘अहिले फास्टफुड/चाइनिज र इन्डियन कुक तालिम लियो भने अध्ययन सकेपछि कामको चिन्ता हुँदैन। फेरि महानगरले पनि तालिममा उत्कृष्टलाई रोजगारी दिने घोषणा गरेको छ। तालिमपछि त्यसैमा परिन्छ भन्ने आस पनि छ।’

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ उद्घाटन कार्यक्रममा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले रोजगारीको खोजीमा रहेका १८ देखि ६० वर्ष उमेर समूहका नागरिकका लागि तालिमसहित रोजगारीको कार्यक्रम ल्याइएको बताइन्।

तालिममा बेरोजगार युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरू, विदेशबाट सीप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका) व्यक्ति सहभागी हुन सक्ने उनले बताइन्। ‘चालु आर्थिक वर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने महानगरको लक्ष्य छ। तीमध्ये ५ हजार जनाले प्रत्यक्ष रोजगारी पाउँछन्’, डंगोलले भनिन्। महानगरले यस क्षेत्रमा लिएका मध्ये २०८१ जनालाई रोजगारी दिने घोषणा गरेको छ। तालिम अवधि ९० दिनदेखि १ सय २० दिनसम्म सञ्चालन हुने छ।

काठमाडौँ महानगरपालिकाले ३४ वटा क्षेत्रमा तालिमसहित रोजगारी दिने लक्ष्यका साथ ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम ल्याएको हो।

यी क्षेत्रमा तालिम दिँदैछ महानगरपालिकाले

प्रोफेसनल इलेक्ट्रिसियन एन्ड प्लम्बिङ

सफ्टवेयर डिभलपमेन्ट

प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ तथा सीसीटीभी क्यामरा जडान तथा मर्मत

ब्युटिपार्लर तथा सैलुन

सिलाइ कटाइ तथा फेसन डिजाइनिङ

कन्स्ट्रक्सन लेबर तथा मिस्त्री

लाइट भेहिकल मेन्टिनेन्स

मोटरसाइकल रिपेयर मेन्टिनेन्स

हस्तकला तथा मूर्तिकला

सरसफाइ तथा माली

कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ

कौसी खेती

आकाशेपानी संकलन तथा रिजर्भ बोरिङ

फास्टफुड/चाइनिज र इन्डियन कुक

बारिस्ता/बेकरी

हेभी इक्विपमेन्ट अपरेटर

अनलाइन रोजगार

बार ट्रेन्डिङ/वेटर/वेट्रेस

रिसेप्सनिस्ट तथा क्यासियर

सम्पदा निर्माण तथा मर्मत

होम एप्लाइन्सेस मर्मत

ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ

प्रोसेसनल अकान्टिङ

मार्केटिङ तथा डिजिटल मार्केटिङ

टुटिस्ट गाइड तालिम

एल्मुनियम, यूपीभीसी, फेब्रिकेसन

स्पा तथा थेरापी

सेक्युरिटी गार्ड

जुत्ता बनाउने

विभिन्न खेलकुद

लघु उद्यम विकास सहजकर्ता

गरगहना निर्माण

सहकारी व्यवस्थापक तालिम

प्रकाशित: १९ वैशाख २०८१ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =