वनै खायो डढेलोले

कर्णालीमा छैन डढेलो निभाउने साधन

रमा केसी १९ वैशाख २०८१ २१:१०
102
SHARES
कर्णालीमा छैन डढेलो निभाउने साधन सुर्खेतको त्रिपुरे सामुदायिक वनमा केही दिन लागेको डढेलो निभाउन खटिएका वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष दिनेश खत्री। तस्बिर सौजन्य : दिनेश खत्री

सुर्खेत- कर्णालीका अधिकांश जंगलमा डढेलो लागेको छ। ठूलाठूला रूख खरानी भएका छन्। बुट्यान नष्ट भएको छ। चराचुरुंगी र वन्यजन्तु जलेका छन्। बाँचेका जीवजन्तुको बासस्थान गुमेको छ।  जंगलमा डढेलो लागेपछि बस्तीमै फैलिन सक्ने भयले स्थानीय बासिन्दा उपलब्ध स्रोत र साधन प्रयोग गरी डढेलो निभाउन सक्रिय हुन्छन्। यद्यपि डढेलो निभाउने उपुयक्त उपकरण नहुँदा बर्सेनि जंगल सखाप हुने क्रम रोकिएको छैन।

यस क्रममा कैयौँ व्यक्ति जलेर घाइते हुने गरेका छन्। साथै डढेलोमा परेर मृत्यु हुनेको संख्या पनि बढ्दो छ। यस वर्ष डढेलोमा परी कालीकोटमा दुई र डोल्पामा ६ गरी आठजनाको मृत्यु भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत निरज श्रेष्ठले जानकारी दिए। उनका अनुसार डढेलो परी कर्णालीमा १०३ चौपाया मरेका छन्।

कर्णालीमा ३२ हजार ८१८ हेक्टर जंगलमा डढेलो लागेको छ। सबैभन्दा धेरै सुर्खेतमा १६ हजार ६ सय हेक्टरमा डढेलो लागेको छ भने सबैभन्दा कम हुम्लामा २ सय ४० हेक्टरमा डढेलो लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत निरज श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कालीकोटमा २४१ हेक्टर, दैलेखमा ४४५ हेक्टर, रुकुमपश्चिममा १२३४ हेक्टर, सल्यानमा ५३२८ हेक्टर, डोल्पामा ८७३० हेक्टर जंगलमा डढेलो लागेको छ। जाजरकोट, जुम्ला र मुगुको तथ्यांक संकलन भइरहेको श्रेष्ठले बताए।

दमकल बाटो भएको ठाउँमा मात्र जान्छ। अन्यत्र डढेलो निभाउन सुरक्षाकर्मी र स्थानीय बासिन्दाको भर पर्नुपरेको छ। प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा डढेलोले सताएको वीरेन्द्रनगर- १ का वडाध्यक्ष दिनेश खत्रीले बताए। उनले भने, ‘वन उपभोक्ता समिति र स्थानीय मिलेर वनमा लागेको डढेलो निभाउने गरेका छौँ।’

खत्रीका अनुसार वनमा डढेलो सल्किएको देखेपछि वन कार्यालयका कर्मचारी तथा प्रहरीलाई खबर गरिन्छ। उनले भने, ‘उनीहरूले जहाँ बाटो पुगेको छ त्यहाँ मात्रै डढेलो निभाउन आउँछन्। अन्यत्र लागेको डढेलो निभाउन कोही पनि आउन नमान्दा वनजंगलमा धेरै क्षति हुने गरेको छ।’

अध्यक्ष खत्रीका अनुसार जिल्ला वनका कर्मचारी तथा सुरक्षाकर्मी दिउँसोको समय र बस्ती नजिक डढेलो लागेछ भने मात्र निभाउन आउँछन्। अरूको भर पर्नुपर्दा डढेलो निभाउने कार्य चुनौती बन्दै गएको उनले बताए।

त्रिपुरे सामुदायिक र कृष्ण सामुदायिक वन वडा नम्बर १ मा पर्ने वन हुन्। यी दुवै जंगलमा बर्सेनि डढेलो लाग्छ। जसका कारण हावा र खानेपानीको मुहानमा प्रदूषण बढेको छ। साथै जंगली जनावरको चोरी सिकारका घटना बढेको खत्रीले जानकारी दिए।

डढेलो लगाउने मानिसलाई कानुनी कारबाही गर्न सकियो भने मात्र वनजंगलको संरक्षण हुन सक्ने भनाइ खत्रीको छ।

डिभिजन वन कार्यालय सुर्खेतका वन अधिकृत वसन्तबावु श्रेष्ठले डढेलो नियन्त्रण गर्नुभन्दा डढेलो लाग्न नदिनका लागि सञ्चारमाध्यमबाट जनचेतनामूलक सन्देश प्रसारण गर्ने काम भइरहेको जानकारी दिए। उनका अनुसार ८४ प्रतिशत डढेलोका घटना मानव सिर्जित गतिविधिका कारण हुने गरेका छन्। यसैगरी मानिसकै लापरबाही र चोर सिकारीको कारण वनमा डढेलो लाग्ने गरेको उनले बताए।

प्रहरीले भने स्रोतसाधन नभएकाले सबै ठाउँमा लागेको डढेलो निभाउन नसकिएको स्पष्ट पारेको छ। प्रहरी चौकी बांगेसिमलका सहायक प्रहरी निरीक्षक कुम्मेरबहादुर शाही उपलब्ध स्रोतसाधनले भ्याएजति ठाउँमा डढेलो निभाउने गरिएको बताउँछन्। कतिपय अवस्थामा अन्य निकायको स्रोतसाधनको भर पर्नुपर्दा आगलागीका घटनामा नियन्त्रणमा ढिलाइ हुने गरेको उनको भनाइ छ।

वनका कर्मचारी, नगरपालिका र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रण गर्दै आएको उनले जानकारी दिए।

कास्की : दुई महिनामा ७५० हेक्टर वन सखाप

वनै खाने डढेलो

‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’

प्रकाशित: १९ वैशाख २०८१ २१:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =