हिमालप्रेसकर्मी नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार, शेरचनलाई सम्मान

हिमाल प्रेस ६ जेठ २०८१ १६:४७ | Sunday, May 19, 2024
हिमालप्रेसकर्मी नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार, शेरचनलाई सम्मान

पोखरा- जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुने भएका छन्। फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गरिने भएको छ।

चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत् चलचित्र पत्रकारमध्येबाट बर्सेनि १ जनालाई पुरस्कार र फिल्मकर्मीलाई सम्मान गर्दै आएकोमा वर्ष २०८० बाट नेपाललाई पुरस्कार र शेरचनलाई सम्मान गर्न लागिएको संघ अध्यक्ष प्रभु अधिकारीले बताए।

संघका पूर्व सहसचिव पत्रकार विजय नेपाल हिमालप्रेसमा गण्डकी प्रदेशका लागि वरिष्ठ संवाददाता हुन्। पाल्पा रिब्दीगाउँपालिका ७, मैनादीका उनी झण्डै २ दशकदेखि पोखरालाई कर्मथलो बनाएर निरन्तर पत्रकारितामा क्रियाशील छन्।

यस्तै, २०४५ सालदेखि नै सिनेमा निर्माणमा लागेका विनोद शेरचन पोखरा १० निवासी हुन्। उनले निर्माण गरेको सिनेमा कन्यादान, तृष्णा, बादल पारी र दुनियाँ चलेको सिनेमा हो। नेपालका नाम चलेका कलाकारहरु भूवन केसी, गौरी मल्ल, निर शाह, दिलिप रायमाझी, कृष्टि मैनाली, जल शाह, रुपा राणा, मुरलीधर, निखिल उप्रेती, निरुता सिंह जस्ता कलाकारसँग काम गरेका शेरचनले लगानी गरेका सबै सिनेमालाई दर्शकले रुचाएका छन्।

यही १९ जेठमा संघको साधारणसभाका अवसरमा नेपाललाई २५ हजार पुरस्कार राशीसहित पुरस्कृत र फिल्मकर्मी शेरचनलाई दोसल्ला, माला र सम्मानपत्रसहित सम्मान गरिने छ। प्रतिभा छनोटका लागि संघका सल्लाहकार सुरेश रानाभाटको संयोजकत्वमा संस्थापक अध्यक्ष श्रीराम सिग्देल र कलाकार माओत्से गुरुङ सदस्य रहेको समिति गठन भएको थियो।

पोखराका पुराना चलचित्रकर्मी जितप्रसाद द्वा र उनको परिवारद्वारा नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदान चिरकालसम्म सम्झिरहन र पत्रकारलाई थप हौसला प्रदान गर्न पुरस्कार स्थापना भएको संघका सचिव सन्तोष बस्यालले बताए।

संघका निवर्तमान अध्यक्ष अरुण गिरी नेतृत्व कार्यसमितिले २०७७ सालदेखि सुरु गरेको उक्त पुरस्कारबाट संस्थापक अध्यक्ष श्रीराम सिग्देल, पूर्व अध्यक्ष रेम विक र पूर्व सल्लाहकार राजाराम पौडेल पुरस्कृत भइसकेका छन्।

प्रकाशित: ६ जेठ २०८१ १६:४७ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast