सुदुरपश्चिम : एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

हिमाल प्रेस २ जेठ २०८१ १९:४९ | Wednesday, May 15, 2024
सुदुरपश्चिम : एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

सुदूरपश्चिम- नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ।

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको आज (बुधबार) बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए। विश्वासको मत दिए पनि एमाले तत्काल प्रदेश सरकार सहभागी नहुने उनले बताए।

‘केन्द्रबाट अर्को निर्देशन नआउञ्जेलसम्म एमाले प्रदेश सरकारमा सहभागी हुने छैन,’ उनले भने।

यही जेठ ३ गते बिहीबार बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची छ। नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

सत्ता साझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा। तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक/एक सदस्य छन्।

प्रकाशित: २ जेठ २०८१ १९:४९ | Wednesday, May 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast