साढे पाँच लाख वैदेशिक रोजगारीमा जाँदा करिब २ लाख फर्किए

हिमाल प्रेस ३१ वैशाख २०८१ १५:५४ | Monday, May 13, 2024
साढे पाँच लाख वैदेशिक रोजगारीमा जाँदा करिब २ लाख फर्किए फाइल तस्बिर।

काठमाडौँ- चालु आर्थिक वर्षको नौ महिनामा साढे पाँच लाख युवा वैदेशिक रोजगारीमा १०२ देश पुगेका छन्।  वैदेशिक रोजगारीबाट करिब २ लाख मात्र नेपाली स्वदेश फर्किएका छन्। चालु आर्थिक बर्षको नौ महिनामा ५ लाख ४२ हजार १ सय ४३ जना वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका छन्। तीमध्ये नयाँ ३ लाख २९ हजार ४ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ जना रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।

गत बर्षको चैतमा नयाँ ३ लाख ८७ हजार ८ सय ३९ र २ लाख १७ हजार ९ सय ५९ जना पुनः श्रम स्वीकृतिमा विदेशीएको विभागको तथ्यांकममा छ। विभागका अनुसार चालु आर्थिक बर्षको नौ महिनामा १ लाख ९७ हजार युवा स्वदेश फर्किएका छन्। उनीहरूमध्ये करिब ८० प्रतिशत युवा घर विदामा आउने गरेको विभागका अनुमान छ। विदेशबाट फर्किने भन्दा जाने दोब्बर संख्या बढी हुने गरेको विभागको तथ्यांकमा छ।

विभागकै तथ्यांकलाई आधार मान्ने हो, भने वैदेशिक रोजगारीबाट फर्किएकामध्ये करिब ४० हजार युवा पुनः नजाने गरेको पाइन्छ। चालु आर्थिक बर्षको नौ महिनामा साढे पाँच लाख नेपाली युवा कामको खोजीमा विदेशीएको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए। उनका अनुसार वैदेशिक रोजगारीमा गएका थोरै मात्र युवा स्वदेश फर्किने गरेका छन्। वैदेशिक रोजगारबाट फर्किएका करिब ८० प्रतिशत युवा पुनः श्रम स्वीकृतिमा फर्किने गरेका छन्।

वैदेशिक रोजगारीबाट फर्किएका युवा फेरि नयाँ श्रम स्वीकृति लिएर अन्य देश जाने गरेको उनले बताए। ‘वैदेशिक रोजगारीबाट फर्किएका युवा नेपालमा ३–४ महिना मात्र बस्छन्। त्यसपछि उनीहरू फेरि वैदेशिक रोजगारीमै जान्छन्। कतिपय खाडीबाट युरोप जान्छन्। कोही कोरिया र जापानी भाषा अध्ययनका लागि स्वदेश फर्किन्छ’ उनले भने। वैदेशिक रोजगारीमा जानै पर्ने नेपाली युवामा एउटा लत नै बस्यो। यसबाट बाहिर निस्कन सरकारले वैदेशिक रोजगारीको विकल्प खोज्नुपर्ने उनको भनाइ छ।

पछिल्लो समय युरोपका विभिन्न देश गएका युवा त स्वदेश फर्किनभन्दा पनि उत्तै बसोबास गर्ने प्रक्रिया नेपालबाट मिलाएर जाने गरेको विभागले जनाएको छ। युरोपका देश, युएई, जापान, कोरिया र इजरायलका गएका नेपाली फर्किन नरुचाउने गरेको विभागकै कर्मचारीहरू बताउँछन्। यी देशमा सात लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा कार्यरत रहेको विभागको अनुमान छ।

रेमिट्यान्स बृद्धि

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा वैदेशिक रोजगारीमा रहेका नेपालीले १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स पठाएका छन्। जुन गत आर्थिक वर्षको तुलनामा करिब २० प्रतिशतले धेरै हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले बढेको थियो। चालु आर्थिक वर्षको चैत महिनामा मात्रै १ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। फागुनमा पनि १ खर्ब २२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

प्रकाशित: ३१ वैशाख २०८१ १५:५४ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast