 
                             
                                            पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबबाट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ। शुक्रबार पोखरामा हुने आठौं पोखरा स्पोर्टस् अवार्ड समारोहमा नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने मञ्चले जनाएको हाे।
प्रतिभा छनोट समितिको सिफारिसलाई मञ्चले अनुमोदन गरेको अध्यक्ष दीननाथ बरालले बताए। फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लब २०५५ सालमा स्थापना भएको हो।
‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवामा सेवा गरौं’ मन्त्रका साथ स्थापित क्लबले हरेक वर्ष पोखरामा आहा ! रारा पोखरा गोल्डकप फुटबल खेलाउँछ। यसको सञ्जाल विदेशमा पनि पुगेको छ।
सहारा यूके, सहारा हङकङ र सहारा अस्ट्रेलिया बिस्तार गरिसकेको क्लबले पोखरामा फुटबल एकेडेमी सञ्चालन गरेर बालबालिकालाई फुटबल सिकाउँछ। २०६५ सालमा फिफाले सहारा एकेडेमीको डकुमेन्ट्री समेत बनाएको थियो।
जुन डकुमेन्ट्री फिफा फुटबलअन्तर्गत विश्वको अग्रस्थानमा परेपछि बीबीसी, इएसपीएन, स्टार स्पोट्र्स, टेन स्पोट्र्सले समेत प्रसारण गरेका थिए। यसबाट समेत क्लबको चर्चा विश्वभर फैलिएको थियो।
क्लबले २०५७ सालदेखि सहारा बाल प्राथमिक विद्यालयलाई प्रावि तहको एक शिक्षकको तलब दिँदै आएको छ। चेल्सीमा पिच अनर शेयर प्राप्त गर्ने सहारा पहिलो क्लब हो।
२०७२ को भूकम्पमा क्लबले सहारा युके, सहारा हङकङ, अरुण फाउण्डेशनको समन्वयमा गोरखाको घैरुङस्थित गणेश प्राविमा आठकोठे भवन, सिन्धुपाल्चोक हैबुङस्थित हैबुङ महादेवस्थान माविमा पाँचकोठे भवन र कास्कीको सिदिङस्थित सरस्वती आधारभूत विद्यालयमा पुनःनिर्माणका लागि सहयोग समेत गरेको थियो।
यसका साथै थुप्रै सामाजिक कार्य र खेल गतिविधिका कारण क्लबले आफ्नो ओज बढाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 