 
                             
                                            काठमाडाैँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मीनभवनस्थित सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालयअगाडि एक ट्रक धुलो खन्याउँदै गरेको भिडियाे सामाजिक सञ्जालमा सार्वजनिक गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठप्रति आक्रोश व्यक्त गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले कलंकीदेखि महाराजगञ्जसम्मको रिङरोड विस्तारका कामअघि नबढाएको भन्दै बालेनले आक्रोश व्यक्त गरेका हुन्।
डिभिजन कार्यालयअगाडि महानगरपालिकाको गाडीले एक ट्रक धुलो खन्याएकाे छ। काठमाडौँ महानगरले अकारण गाली खाइरहनुपरेको उल्लेख गर्दै मेयर शाहले जबसम्म काम अघि बढ्दैन त्यतिबेलासम्म मन्त्री महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने घोषणासमेत गरेका छन्।
‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला। विगत १५ वर्षदेखि काठमाडौँको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ,’ शाहले लेखेका छन्, ‘काठमाडौँमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ। र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ।’
उक्त सडकको धुलो जनताले मात्रै खाँदा राम्रो नहुने भन्दै उनले मन्त्रीलाई पायक पर्ने ठाउँमा पठाएको बताएका छन्। ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईं कामअगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नु होला,’ मेयर शाहले लेखेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 