 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            कैलाली- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोख्रेलले श्रमिक दिवस मजदुरको मात्र नभई कम्युनिष्ट पार्टीको पनि उत्सव भएको बताएका छन्।
आज (बुधबार) १३५ औँ श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यसलाई एकता र संघर्षको रूपमा अगाडि बढाउनुपर्ने धारणा राखेका हुन्।
‘अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न तरिकाले आ-आफ्नो देशको विशिष्टता एवं राष्ट्रिय परिवेशमा मनाउने गरिन्छ। संविधानले निर्दिष्ट गरेका मौलिक हकलाई कार्यान्वयन गर्न यसलाई सदुपयोग गर्नुपर्ने छ,’ उनले भने।
उपमहासचिव पोख्रेलले सरोकारवाला पक्षले मजदुरको पक्षमा बनाइएका कानुनलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै अनौपचारिक क्षेत्रका श्रमिकलाई संगठित गर्ने कामलाई व्यावहारिकरूपले अघि बढाउनुपर्नेमा जोड दिए।
त्यस्तै उनले मजदुर विकसित हुन समयअनुसारको प्रविधिको जानकार हुनुपर्ने बताए। ‘श्रमिकले औजार चलाउन जान्नुपर्ने हुन्छ, जानेन भने रोजगारी पाउन समस्या हुन्छ,’ उनले भने। -रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 